प्रभु येशूको दोस्रो आगमनअघि धर्मपतन र पाप-पुरुष
2
अब हे भाइहरूहो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र उहाँकहाँ हाम्रो भेला हुने विषयमा हामी तिमीहरूलाई विन्‍ती गर्दछौं: 2 मानूँ ख्रीष्‍टको दिन नजिकै आइपुगेको छ जस्तै गरी आत्माद्वारा, वा वचनद्वारा, वा हामीबाट आएको जस्तो पत्रद्वारा तिमीहरू यति चाँड़ै मनमा थरथर नकाम, न ता विचलित होओ! 3 कसैले तिमीहरूलाई कुनै रीतिले धोका नदेओस्; किनभने पहिले धर्मपतन नआएसम्म, र त्यो पापको पुरुष, त्यो विनाशको पुत्र प्रकट नभएसम्म त्यो दिन आउनेछैन; 4 त्यसले विरोध गर्छ र आफूलाई सबै ईश्‍वर भनिने अथवा पूजा गरिनेभन्दा माथि उचाल्छ, यहाँसम्म कि ‘ परमेश्‍वर म नै हुँ’ भन्‍ने कुरा देखाउँदै त्यो परमेश्‍वरजस्तो परमेश्‍वरको मन्दिरमा बस्छ।
5 तिमीहरूसँग रहँदाखेरि मैले तिमीहरूलाई यी कुराहरू बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन? 6 अनि अब त्यो आफ्नै समयमा प्रकट होस् भनेर त्यसलाई कसले रोकिराखेको छ, सो तिमीहरू जान्दछौ। 7 किनभने अधर्मको रहस्यले पहिलेदेखि नै काम गरिरहेको छ; उसले मात्र अहिले रोकिराखेको छ; आफू अलग नहोउन्जेल उसले रोकिराख्‍नेछ। 8 अनि तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभुले आफ्नो मुखको आत्माले नाश पार्नुहुनेछ र आफ्नो आगमनको तेजले भस्म पार्नुहुनेछ। 9 त्यसको आगमनचाहिँ शैतानको कार्यअनुसार सबै सामर्थ्य, चिन्हहरू र झूटा चमत्कारहरूको साथमा हुन्छ; 10 र नष्‍ट हुनेहरूको बीचमा अधर्मको हर प्रकारको धोकाबाजीको साथमा हुन्छ; किनभने तिनीहरूले मुक्ति पाउने हेतुले सत्यताको प्रेम ग्रहण गरेनन्। 11 अनि यही कारणले गर्दा तिनीहरूले झूटलाई विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूकहाँ ठूलो भर्माउने शक्ति पठाउनुहुनेछ; 12 सत्यतालाई विश्‍वास नगर्नेहरू, तर अधर्ममा खुशी मान्‍नेहरू सबैले दण्ड पाऊन् भनेर।
सत्यतालाई बलियो गरी पक्रिराख्‍ने आदेश
13 तर भाइहरूहो, प्रभुका प्रियहरूहो, तिमीहरूका निम्ति सधैंभरि परमेश्‍वरलाई धन्यवाद चढ़ाउन हामीलाई कर लागेको छ; किनभने आत्माको पवित्रीकरण र सत्यताको विश्‍वासद्वारा परमेश्‍वरले शुरुदेखि नै तिमीहरूलाई मुक्तिका निम्ति चुन्‍नुभएको छ। 14 यसैका निम्ति उहाँले तिमीहरूलाई तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा पाओ भनेर हाम्रो सुसमाचारद्वारा बोलाउनुभयो। 15 यसकारण भाइहरूहो, स्थिर भई उभ, र चाहे वचनद्वारा, चाहे हाम्रो पत्रद्वारा, जुन शिक्षाहरू तिमीहरूलाई सिकाइएका छन्, ती शिक्षाहरू पक्रिराख!
16 अब हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले, र परमेश्‍वर हाम्रा पिता जसले हामीलाई प्रेम गर्नुभएको छ र अनुग्रहद्वारा हामीलाई अनन्त सान्‍त्‍वना र उत्तम आशा दिनुभएको छ, 17 उहाँले नै तिमीहरूका हृदयहरूलाई सान्‍त्‍वना दिऊन् र तिमीहरूलाई हरेक असल वचन र काममा स्थिर पारून्।