दासहरूका निम्‍ति प्रभुको शिक्षा
6
जतिजना दासहरू दासत्वको जुवामुनि छन्, तिनीहरूले परमेश्‍वरको नाम र उहाँको शिक्षाको निन्दा नहोस् भनेर आ-आफ्ना मालिकहरूलाई सम्पूर्ण आदरका योग्य ठानून्। 2 अनि जतिजनाका विश्‍वास गर्ने मालिकहरू छन्, उनीहरूलाई तिनीहरूले दाजुभाइहरू सम्झी तुच्छ नठानून्, बरु झन् बढ़्ता उनीहरूको सेवा गरून्; किनभने ती लाभका भागीदारहरूचाहिँ विश्‍वासी र प्रिय हुन्। यी कुराहरू सिकाऊ र अर्ती देऊ!
रुपियाँ-पैसाप्रतिको प्रेम सबै खराबीको जरा हो
3 यदि कसैले अर्कै शिक्षा दिन्छ भने, र खाँटी वचनहरू अर्थात्‌ हाम्रा प्रभु येशू ख्रीष्‍टका वचनहरू र भक्तिअनुसारको शिक्षा स्वीकार गर्दैन भने, 4 त्यो केही पनि नजान्‍ने घमण्डी हो, तर त्यसलाई प्रश्‍नहरू गर्ने र शब्दहरूको विषयमा तर्कवितर्क गर्ने रोग लागेको छ, जसबाट डाहा, झगड़ा, दुर्वचनहरू, खराब शङ्काहरू 5 र व्यर्थका रगड़ाझगड़ाहरू ती मानिसहरूमा उत्‍पन्‍न हुन्छन्, जसका मनहरू भ्रष्‍ट भएका छन्, जो सत्यतादेखि रहित हुन गएका छन्, र भक्तिचाहिँ लाभ हुने बाटो हो भनी सम्झन्छन्; यस्ताहरूबाट तिमी अलग बस!
6 तर सन्तुष्‍टतासितको भक्ति नै ठूलो लाभ हो। 7 किनकि हामीले यस संसारमा केही पनि ल्याएनौं; अनि यो निश्‍चित छ, हामी केही पनि लैजान सक्दैनौं। 8 तर हामीसँग खानेकुरा र वस्त्र छन् भने हामी त्यसैमा सन्तुष्‍ट होऔं! 9 तर जतिले धनी हुन चाहन्छन्, तिनीहरूचाहिँ परीक्षा र पासो, अनि अनेकौं मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र विनाशभित्र डुबाउँछन्। 10 किनकि रुपियाँ - पैसाको प्रेमचाहिँ सबै खराबीको जरा हो; जुन कुराको लालच गर्दा कतिजना विश्‍वासबाट भड़्किएका छन्, र यस्‍ताहरूले आफैलाई अनेकौं पीड़ाहरूले छेंड़ैछेंड़ पारेका छन्।
तिमोथीका निम्‍ति प्रेरित पावलको चेताउनी
11 तर हे परमेश्‍वरका जन, तिमी यी कुराहरूबाट भाग, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग! 12 विश्‍वासको असल लड़ाइँ लड़, अनन्त जीवनलाई पक्रिराख, जसका निम्ति तिमी बोलाइएका पनि छौ, र धेरै साक्षीहरूको सामु तिमीले असल अङ्गीकार गरेका छौ।
13 सबै थोकहरू जिउँदो पार्नुहुने परमेश्‍वर र पोन्तियस पिलातसको सम्मुख असल अङ्गीकाररूपी गवाही दिनुहुने ख्रीष्‍ट येशूको सामु म तिमीलाई यो आज्ञा दिन्छु: 14 हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल तिमीले यो आज्ञा निष्कलङ्क र निन्दारहित राख; 15 उहाँ जो परमधन्य, अद्वितीय अधिराज, राजाहरूका राजा, प्रभुहरूका प्रभु हुनुहुन्छ, उहाँले त्‍यो आफ्नै समयहरूमा प्रकट गर्नुहुनेछ; 16 उहाँसँग मात्र अमरता छ, उहाँ ज्योतिमा वास गर्नुहुन्छ, जसको नजिकमा कोही मानिस पनि जान सक्दैन; उहाँलाई कुनै मानिसले देखेको छैन, न ता देख्‍न सक्छ; उहाँलाई नै आदर र अनन्त अधिकार होऊन्! आमेन।
17 जो यस संसारमा धनवान्‌ छन्, तिनीहरूलाई आज्ञा देऊ: तिनीहरू अभिमानी नहोऊन्, अनि चञ्‍चले धनमाथि होइन, तर जीवित परमेश्‍वरमाथि भरोसा राखून्, जसले हाम्रा आनन्दका निम्ति हामीलाई सबै थोकहरू प्रशस्त गरी दिनुहुन्छ; 18 कि तिनीहरूले भलाइ गरून्, असल कामहरूमा धनवान्‌ होऊन्, बाँड़चुँड़ गर्न तत्पर र दिनलाई इच्छुक होऊन्; 19 यसरी तिनीहरूले पछि आउने समयका लागि आफ्ना निम्ति असल जग जोहो गरिराख्छन्, ताकि तिनीहरूले अनन्त जीवनलाई पक्रिराखून्।
20 हे तिमोथी, जुन ज्ञानलाई ज्ञान भन्‍नु नै झूट हो, त्यसका अशुद्ध र व्यर्थका बकवाद र विरोधहरूबाट तर्किएर तिमीले तिम्रो जिम्मामा सुम्पिएको कुराको रखवाली गर! 21 यस ज्ञानलाई कतिले स्वीकार गरेका हुनाले विश्‍वासको सम्बन्धमा निशाना चुकेका छन्। तिमीसँग अनुग्रह रहोस्! आमेन।