मण्डलीमा पुरुष, स्त्री, विधवा र प्राचीनप्रतिको व्यवहार
5
वृद्ध पुरुषलाई नहप्काऊ, तर उनलाई बुबालाई झैं अनुरोध गर; साना उमेरकाहरूलाई भाइहरूलाई झैं, 2 वृद्धा स्त्रीहरूलाई आमाहरूलाई झैं, र साना उमेरकाहरूलाई चाहिँ सम्पूर्ण पवित्रतासित बहिनीहरूलाई झैं सम्झाऊ!
3 तिनीहरू जो साँच्‍चै विधवाहरू हुन्, ती विधवाहरूलाई आदर गर! 4 तर कुनै विधवाका छोराछोरीहरू वा नातिनातिनाहरू छन् भने यिनीहरूले पहिले घरमा भक्ति देखाउन र बुबाआमालाई उपकारको बदला तिर्न सिकून्; किनकि यो कुरा परमेश्‍वरको सामु असल र ग्रहणयोग्य छ। 5 अनि ऊचाहिँ साँच्‍चै विधवा हुनुपर्छ, र उसको कोही हुनुहुँदैन; उसले परमेश्‍वरमा भरोसा राख्छे, अनि रातदिन विन्‍ती र प्रार्थनाहरूमा लागिरहन्छे। 6 तर जो सुखविलासमा जिउँछे, ऊचाहिँ जिउँदै मरेकी हो। 7 अनि यी कुराहरूको आज्ञा देऊ,ताकि तिनीहरू निर्दोष रहून्। 8 तर यदि कसैले आफ्नाहरूका निम्ति र विशेष गरी आफ्‍नो परिवारका निम्‍ति प्रबन्ध गर्दैन भने उसले विश्‍वासलाई इन्कार गरेको छ, र ऊ अविश्‍वासीभन्दा पनि खराब भएको छ।
9 त्यही विधवाको नाम लेखिओस्, जसको उमेर साठी वर्षभन्दा कम छैन, जो एउटै पतिकी पत्‍नी भएर रहेकी छे, 10 जसको नाम असल कामहरूको विषयमा चलेको छ; यदि उसले छोराछोरीहरूलाई हुर्काएकी-बढ़ाएकी छे भने, पाहुनाहरूलाई सत्‍कार गरेकी छे भने, पवित्र जनहरूका पाउ धोएकी छे भने, दु:खीहरूको दुःख हरण गरेकी छे भने, यत्‍नपूर्वक हरेक असल कामको पछि लागेकी छे भने।
11 तर तरुणी विधवाहरूलाई अस्वीकार गर; किनभने ख्रीष्‍टको विरुद्धमा जब तिनीहरू भोगविलासतिर बढ़्न थाल्छन्, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्नेछन्; 12 तिनीहरूले आफ्नो पहिलो विश्‍वासलाई त्यागेका हुनाले दण्डमा पर्छन्। 13 अनि योबाहेक तिनीहरू घर-घर घुम्दै अल्छी हुन सिक्छन्, अनि अल्छी मात्र होइन, तर भन्‍न नहुने कुराहरू बोल्दै बकबक गर्नेहरू र अरूको काममा हात हाल्नेहरू हुन्छन्। 14 यसकारण म यो इच्छा गर्दछु: तरुणी विधवाहरूले विवाह गरून्, छोराछोरीहरू जन्माऊन्, घर सम्हालून्, विरोधीलाई बदनाम गर्ने कुनै पनि मौका नदिऊन्। 15 किनकि कतिजना तर्केर शैतानको पछि लागिसकेका छन्। 16 कुनै विश्‍वासी पुरुष वा विश्‍वासी स्त्रीसँग विधवाहरू छन् भने उनीहरूले तिनीहरूलाई सहायता दिऊन्, र मण्डलीमाथि भार नपरोस्, ताकि मण्डलीले चाहिँ साँच्‍चीकै विधवाहरूलाई सहायता दिन सकोस्।
17 जुन-जुन प्राचीनहरूले राम्ररी शासन गर्दछन्, उनीहरू दुईगुणा आदरका योग्य मानिऊन्, विशेष गरी उनीहरू, जसले वचन र शिक्षामा परिश्रम गर्दछन्। 18 किनकि पवित्र शास्त्रले भन्दछ:
‘तिमीले दाइँ गर्ने गोरुलाई मोहोला नलाइदिनू’ अनि ‘मजदुर आफ्नो ज्यालाको योग्य हुन्छ।’
19 दुईजना वा तीनजना साक्षी नभएसम्म प्राचीनको विरोधमा लगाइएको कुनै दोष स्वीकार नगर! 20 पाप गर्नेहरूलाई सबैजनाको सामु हप्काऊ, कि अरू पनि डराऊन्।
21 परमेश्‍वर, प्रभु येशू ख्रीष्‍ट र चुनिएका दूतहरूको सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु: तिमीले पूर्वनिर्णय नगरीकन र कसैको पक्ष नलिईकन यी कुराहरू पालन गर!
22 कुनै मानिसमाथि झट्टै हातहरू नराख, न ता अरू मानिसहरूका पापहरूमा भागीदार होऊ; आफैलाई शुद्ध राख!
23 अबदेखि उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य प्रयोग गर!
24 कति मानिसहरूका पापहरू पहिल्यै प्रकट हुन्छन् र पहिल्यै न्यायतिर जान्छन्; कतिका पापहरू पछिबाट आउँछन्। 25 यही प्रकारले कतिका असल कामहरू पनि पहिल्यै प्रकट हुन्छन्; अनि जुन कामहरू अर्कै प्रकारका छन्, ती कामहरू लुक्न सक्दैनन्।