धर्मपतनको सम्बन्धमा प्रेरित पावलको भविष्यवाणी
4
अब आत्माले स्पष्‍ट गरी भन्‍नुहुन्‍छ: पछि आउने समयहरूमा कोही-कोही बहकाउने आत्माहरूमा र दुष्‍टात्माहरूका शिक्षाहरूमा ध्यान दिएर विश्‍वासबाट भड़्किएर जानेछन्; 2 यिनीहरू ती हुन्, जसले कपट्याइँमा झूट बोल्छन्, जसको विवेकचाहिँ तातो फलामले डामिएको हुन्छ, 3 जसले विवाह गर्न मनाही गर्छन् र खानेकुराहरूबाट अलग रहनू भन्‍ने आज्ञा गर्छन्, जुन खानेकुराहरू परमेश्‍वरले विश्‍वास गर्नेहरू र सत्यतालाई जान्‍नेहरूले धन्यवादसाथ ग्रहण गरून् भन्‍ने उद्देश्यले सृष्‍टि गर्नुभयो। 4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक वस्तु असल हो, र धन्यवादसाथ लिइयो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको हुँदैन; 5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र पारिन्छ।
ख्रीष्‍टका असल सेवकका निम्‍ति केही निर्देशनहरू
6 यदि तिमीले दाजुभाइहरूलाई यी कुराहरूको सम्झना गरायौ भने, तिमी विश्‍वास र असल शिक्षाका वचनहरूद्वारा पालनपोषण गरिएका येशू ख्रीष्‍टको असल सेवक बन्‍नेछौ, जुन शिक्षा तिमीले राम्ररी जानेका छौ 7 तर अशुद्ध र बूढ़ी स्त्रीहरूका दन्त्यकथाहरूलाई इन्कार गर, अनि भक्तिका निम्ति आफैलाई साधना गर! 8 शरीरको साधनाले थोरै लाभ हुन्छ, तर भक्तिचाहिँ सबै कुराका निम्ति लाभदायक हुन्छ; किनकि यसैमा अहिलेको जीवन र पछि आउने जीवनको प्रतिज्ञा छ। 9 यो विश्‍वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो। 10 किनकि यसैका लागि हामी परिश्रम गर्दछौं र निन्दा सहन्छौं; किनभने हामी जीवित परमेश्‍वरमाथि भरोसा गर्दछौं, जो सबै मानिसहरूको, विशेष गरी विश्‍वास गर्नेहरूको मुक्तिदाता हुनुहुन्छ,। 11 यिनै कुराहरूको आज्ञा देऊ र सिकाऊ! 12 कुनै मानिसले पनि तिम्रो जवानीलाई तुच्छ ठान्‍न नपाओस्; तर वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्‍वासमा, शुद्धतामा तिमी विश्‍वासीहरूका लागि नमुना बन! 13 म नआउन्जेल पढ़्नमा, अर्ती दिनमा, शिक्षा दिनमा ध्यान देऊ! 14 तिमीमा भएको दानलाई हेलचेक्र्याइँ नगर, जुन दानचाहिँ प्राचीनहरूका हातहरू राखिँदाखेरि भविष्यवाणीद्वारा तिमीलाई दिइएको थियो। 15 यी कुराहरू मनन गर, यिनीहरूमा पूर्ण रूपले लागिरह, ताकि तिम्रो प्रगति सबैकहाँ देखा परोस्। 16 आफ्नो विषयमा र शिक्षाको विषयमा होशियार रह, तिनीहरूमा लागिरह; किनकि यसो गर्नाले तिमीले आफैलाई र तिम्रो कुरा सुन्‍नेहरूलाई पनि बचाउनेछौ।