मण्‍डलीको अध्यक्षमा हुनुपर्ने गुणहरू
तीतस १:५-९
3
यो वचन विश्‍वासयोग्य छ: यदि कुनै मानिसले अध्यक्षको पदको चाहना गर्छन् भने उनले एउटा असल कामको चाहना गर्छन्। 2 यसकारण अध्यक्ष निर्दोष, एउटै पत्‍नीका पति, सतर्क, आत्मसंयमी, असल व्यवहार भएका, अतिथिलाई सत्कार गर्ने, सिकाउनमा सिपालु हुनुपर्छ; 3 पियक्‍कड़, कुटपीट गर्ने, नीच कमाइको लोभी हुनुहुँदैन, तर कोमल हुनुपर्छ; झगड़ालु, पैसाको लोभी हुनुहुँदैन। 4 आफ्ना छोराछोरीहरूलाई सारा गम्भीरतासाथ अधीनतामा राखेर आफ्नो घरलाई राम्ररी सञ्‍चालन गर्ने हुनुपर्छ; 5 किनकि जसले आफ्नो घरको सञ्‍चालन गर्न जान्दैन, त उसले परमेश्‍वरको मण्डलीको देखरेख कसरी गर्न सक्ला? 6 उनी नयाँ चेला नहोऊन्; नत्र ता घमण्डले फुलिएर उनी शैतानको दण्डमा पर्लान्। 7 योबाहेक बाहिरकाहरूबाट पनि उनले असल नाम पाएको हुनुपर्छ; नत्र ता उनी निन्दा र शैतानको पासोमा पर्लान्।
डिकनमा हुनुपर्ने गुणहरू
8 यही प्रकारले सेवकहरू पनि गम्भीर हुनुपर्छ; दुईजिब्रे, पियक्‍कड़, नीच कमाइको लोभी हुनुहुँदैन; 9 चोखो विवेकमा विश्‍वासको रहस्य पक्रिराख्‍ने हुनुपर्छ। 10 तर उनीहरू पनि पहिले जाँचिऊन्; त्यसपछि उनीहरू निर्दोष पाइए भने उनीहरूले सेवकको काम गरून्। 11 यही प्रकारले उनीहरूका पत्‍नीहरू पनि गम्भीर हुनुपर्छ; बदनाम नगर्ने, सतर्क, सबै कुरामा विश्‍वासयोग्य हुनुपर्छ। 12 सेवकहरू एउटै पत्‍नीका पति होऊन्, आफ्ना छोराछोरीहरूलाई र आफ्नो घरलाई राम्ररी सञ्‍चालन गर्न सक्ने होऊन्। 13 किनकि जस-जसले सेवकको काम राम्ररी गर्दछन्, उनीहरूले आफ्ना निम्ति एउटा असल दर्जा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासमा ठूलो साहस प्राप्‍त गर्दछन्।
14 तिमीकहाँ चाँड़ै आउने आशा राख्दै म यी कुराहरू तिमीलाई लेख्दछु, 15 तर म ढिलो भएँ भने परमेश्‍वरको घरमा, जुनचाहिँ जीवित परमेश्‍वरको मण्डली हो, सत्यताको खाँबो र जग हो, कसरी चल्नुपर्छ, सो तिमीले जान्‍न सक।
16 अनि यसमा विवाद छैन, भक्तिको रहस्य महान् छ: परमेश्‍वर शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, अन्यजातिहरूकहाँ प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि लगिनुभयो।