उत्तम योद्धा लड़!
2
यसकारण हे मेरा छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ! 2 अनि धेरै साक्षीहरूको बीचमा जुन कुराहरू तिमीले मबाट सुनेका छौ, ती कुराहरू तिमीले विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूलाई पनि सिकाउनमा योग्यका हुनेछन्। 3 यसकारण येशू ख्रीष्‍टको असल सिपाहीले जस्तो दुःख उठाऊ! 4 आफूलाई सिपाहीमा भर्ना गर्नेलाई खुशी पार्नका निम्ति लड़ाइँ गर्ने कोही पनि मानिसले आफूलाई यस जीवनका धन्दाहरूमा फसाउँदैन। 5 अनि होड़बाजी गर्ने मानिसले पनि नियमबमोजिम होड़ गरेन भने उसले मुकुट पाउनेछैन। 6 परिश्रम गर्ने किसान फसलहरूबाट भाग लिनमा पहिलो हुनुपर्छ। 7 म जे भन्दछु, त्यसमा ध्यान देऊ! सबै कुराहरूमा प्रभुले तिमीलाई समझ दिऊन्! 8 मेरो सुसमाचारअनुसार दाऊदका वंशका येशू ख्रीष्‍टलाई मरेकाहरूबाट बौराइनुभएको सम्झना गर! 9 त्‍यसका निम्‍ति कुकर्मीले झैं कैदसम्म पनि म दुःख भोग्छु, तर परमेश्‍वरको वचन बाँधिएको छैन। 10 यसकारण चुनिएकाहरूले पनि ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म उनीहरूहरूका निम्ति सबै कुराहरू सहन्छु।
11 यो विश्‍वासयोग्य वचन हो: किनभने हामी उहाँसँग मरेका छौं भने हामी उहाँसँगै जिउने पनि छौं। 12 हामीले दुःख भोग्यौं भने हामीले उहाँसँगै राज्य पनि गर्नेछौं। हामीले उहाँलाई इन्कार गर्‍यौं भने उहाँले हामीलाई पनि इन्कार गर्नुहुनेछ। 13 हामी विश्‍वासयोग्य भएनौं भने पनि उहाँ विश्‍वासयोग्य रहनुहुन्छ; उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्‍न।
आदरको भाँड़ा होऊ!
14 प्रभुको सामुन्‍ने कड़ा आज्ञा दिँदै उनीहरूलाई यी कुराहरूको सम्झना गराइदेऊ! उनीहरूले शब्दहरूको बारेमा तर्क-वितर्क नगरून्, जसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूको बरबादी हुन्छ। 15 आफूलाई परमेश्‍वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्‍न गर, एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यताको वचन सठीकसँग छुट्‍ट्याउँछ। 16 तर अशुद्ध र व्यर्थका बकबक त्याग; किनकि तिनीहरू झन् ठूलो अभक्तितिर बढ़्दै जानेछन्। 17 अनि तिनीहरूको वचनले सड़्ने घाउले झैं खाँदै लैजानेछ; हुमेनियस र फिलेटसचाहिँ तिनीहरूमध्येका हुन्; 18 जसले बौरिउठाइ भइसक्यो भनेर सत्यताको सम्बन्धमा बाटो बिराएका छन्; र तिनीहरूले कतिको विश्‍वास उल्टाइदिन्छन्। 19 तरै पनि परमेश्‍वरको जग दृढ़तापूर्वक खड़ा रहन्छ, जसमा यो छाप लागेको छ: ‘प्रभुले उहाँका आफ्नाहरूलाई चिन्‍नुहुन्छ’, अनि ‘ख्रीष्‍टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्।’
20 तर ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्; अनि कति आदरका निम्ति र कति अनादरका निम्ति हुन्छन्। 21 यसकारण मानिसले आफूलाई यिनीहरूबाट शुद्ध पार्छ भने ऊ एउटा आदरको भाँड़ा बन्‍नेछ, जुनचाहिँ पवित्र पारिएको, मालिकको काममा आउने र हरेक असल कामका निम्ति तयार पारिएको हुन्छ। 22 अनि जवानीका अभिलाषाहरूदेखि भाग, तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूको साथमा धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको पछि लाग! 23 तर झगड़ाहरू मात्र उत्‍पन्‍न गर्छन् भन्‍ने जानेर मूर्ख र बेसमझका तर्क-वितर्कदेखि अलग बस! 24 अनि प्रभुको दासले झगड़ा गर्नुहुँदैन, तर उनी सबै मानिसहरूप्रति कोमल, सिकाउनमा सिपालु, सहनशील, 25 विरोध गर्नेहरूलाई नम्रतासाथ सिकाउने-सुधार्ने हुनुपर्छ; सायद परमेश्‍वरले तिनीहरूलाई सत्यता मान्‍नका निम्ति पश्‍चात्ताप देलान्; 26 अनि शैतानको पासोबाट छुट्नका निम्ति तिनीहरू होशमा आउलान्, जो शैतानद्वारा त्यसको इच्छा पूरा गर्नका निम्ति कैदमा हालिएका छन्।