अन्तिम दिनहरू सङ्कटपूर्ण समय हुनेछन्
3
यो पनि जानिराख! अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। 2 किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बुबाआमाको आज्ञापालन नगर्ने, कृतघ्‍न, अपवित्र, 3 स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झूटा दोष लाउने, आत्मसंयमी नभएका, कठोर, असललाई घृणा गर्ने, 4 विश्‍वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्‍वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने, 5 भक्तिको भेष त धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाट पर बस 6 किनकि ती यस्ताहरूमध्येका हुन्, जो घरहरूभित्र चाल मारेर पस्छन् र जसले पापहरूले दबिएका र नाना प्रकारका अभिलाषाहरूद्वारा चलाइएका मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्, 7 जुन स्त्रीहरूले सिक्न त सधैं सिक्छन्, तर सत्यताको ज्ञानमा कहिल्यै आइपुग्‍न सक्दैनन्। 8 अब जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरे, त्यसरी नै तिनीहरूले पनि सत्यताको विरोध गर्छन्। ती बुद्धि भ्रष्‍ट भएका र विश्‍वासको सम्बन्धमा रद्द भएका मानिसहरू हुन्। 9 तर तिनीहरू अरू बढ़ी अघि बढ़्नेछैनन्; किनकि तिनीहरूको मूर्खता सबै मानिसहरूकहाँ प्रकट हुनेछ, जसरी उनीहरूको पनि प्रकट भएको थियो।
तिमोथीका निम्‍ति व्‍यक्तिगत शिक्षा
10 तर तिमीले मेरो शिक्षा, चालचलन, उद्देश्य, विश्‍वास, सहनशीलता, प्रेम, धीरज; 11 सतावटहरू र कष्‍टहरू राम्ररी जानेका छौ, जुनचाहिँ एन्टिओकमा, इकोनियममा र लुस्त्रामा ममाथि आइपरे; मैले कस्ता-कस्ता सतावट सहें; तर ती सबैबाट प्रभुले मलाई छुटकारा दिनुभयो। 12 हो, ख्रीष्‍ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछन्। 13 तर दुष्‍ट मानिसहरू र बहकाउनेहरू धोका दिँदै र धोका खाँदै झन्-झन् खराब हुँदै जानेछन्।
14 तर तिमीचाहिँ यी कुराहरू कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिबस; 15 अनि तिमीले बालककालदेखि नै पवित्र शास्त्रहरू जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छन्। 16 सबै पवित्रशास्त्र परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ; 17 जसद्वारा परमेश्‍वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।