4
यसकारण परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सामु म तिमीलाई कड़ा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ: 2 वचन प्रचार गर; समयमा असमयमा तयार भइबस; सारा सहनशीलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ! 3 किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले खाँटी शिक्षा सहनेछैनन्, तर चिलाउने कानहरू भएका हुनाले तिनीहरूले आफ्नै अभिलाषाहरूअनुसार आफ्ना निम्ति शिक्षकहरूको थुप्रो लाउनेछन्; 4 अनि तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्यकथाहरूतिर लगाउनेछन्। 5 तर तिमीचाहिँ सबै कुरामा सचेत होऊ, दुःख उठाऊ, सुसमाचार प्रचारकको काम गर, आफ्नो सेवा पूरा गर!
6 किनकि म अर्घबलिजस्तो चढ़ाइन लागेको छु, र मेरो बिदाइको बेला आइपुगेको छ। 7 मैले असल लड़ाइँ लड़ेको छु, मैले आफ्नो दौड़ पूरा गरेको छु, मैले विश्‍वासको रखवाली गरेको छु; 8 अब उप्रान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ, जुनचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिनमा मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ।
9 मकहाँ चाँड़ै आउने प्रयत्‍न गर; 10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ र थेस्सलोनिका गएको छ; क्रेसेन्स गलातिया, तीतस डालमातिया गएका छन्। 11 लूका मात्र मसँग छन्। मर्कूसलाई लिएर तिम्रो साथमा ल्याऊ; किनकि सेवाका निम्ति उनी मेरा लागि उपयोगी छन्। 12 अनि तुखिकसलाई मैले एफेससमा पठाएको छु। 13 जब तिमी आउँछौ, तब त्यो ओभरकोट ल्याइदेऊ, जुनचाहिँ मैले त्रोआसमा कारपसकहाँ छोड़ेको छु, र किताबहरू पनि, विशेष गरी चर्मपत्रहरू
14 त्यस तमौटे अलेकजान्डरले मलाई धेरै खराबी गर्‍यो; प्रभुले त्यसलाई त्यसका कामहरूअनुसार बदला दिऊन्। 15 त्यससँग तिमी पनि होशियार बस; किनकि त्यसले हाम्रा वचनहरूको साह्रै सामना गरेको छ।
16 मेरो पहिलो प्रतिवादमा कोही मसँग उभिएन, तर सबैले मलाई त्यागिदिए; तिनीहरूलाई यसको दोष नलागोस्! 17 तर प्रभु मसँग उभिनुभयो, र उहाँले मलाई शक्ति दिनुभयो, मद्वारा पूरा-पूरा प्रचार होस् र सबै अन्यजातिहरूले सुनून् भनेर; अनि म सिंहको मुखबाट छुटाइएँ। 18 अनि प्रभुले मलाई हरेक खराब कामबाट छुटाउनुहुनेछ र आफ्नो स्वर्गीय राज्यका निम्ति बचाइराख्‍नुहुनेछ; उहाँलाई नै युगानुयुग महिमा होस्! आमेन।
19 प्रिस्का र अक्विलालाई, साथै ओनेसिफोरसको परिवारलाई सलाम भनिदेऊ! 20 एरास्टस कोरिन्थमा रहे; तर ट्रोफिमसलाई मैले मिलेटसमा बिरामी अवस्थामा छोड़ेको छु। 21 जाड़ोको समयभन्दा पहिल्यै आउने प्रयत्‍न गर!
युबुलसले तिमीलाई सलाम पठाउँदैछन्, साथै पुडेन्स, लीनस, क्लाउडिया र सबै दाजुभाइहरूले पनि। 22 प्रभु येशू ख्रीष्‍ट तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्! आमेन।