त्यो आत्मिक धन माटोको भाँड़ामा छ
4
यसैकारण हामीमाथि दया भएअनुसार हामीले यो सेवा पाएका हुनाले हामी हिम्मत हार्दैनौं। 2 तर हामीले शर्म लाग्ने गुप्त कुराहरू त्यागिदिएका छौं, न ता धूर्ततासँग चल्छौं, न ता परमेश्वरको वचन छलपूर्वक प्रयोग गर्दछौं; तर सत्यता प्रकट गरीकन परमेश्वरको सामु हामी हरेक मानिसको विवेकमा आफूलाई सिफारिस गर्दछौं। 3 तर हाम्रो सुसमाचारमा घुम्टो लागेको छ भने नष्ट हुनेहरूकै निम्ति घुम्टो लागेको छ, 4 जसमा यस संसारको ईश्वरले विश्वास नगर्नेहरूका मनहरू अन्धा पारेको छ, ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूमाथि नचम्कोस् भनेर, जुन ख्रीष्टचाहिँ परमेश्वरको प्रतिरूप हुनुहुन्छ। 5 किनकि हामी आफूलाई होइन, तर ख्रीष्ट येशूलाई प्रचार गर्दछौं – उहाँ प्रभु हुनुहुन्छ, र हामीचाहिँ येशूको खातिर तिमीहरूका दासहरू हौं। 6 किनभने अन्धकारबाट ज्योति चम्कोस् भनी आज्ञा गर्नुहुने परमेश्वर नै येशू ख्रीष्टको अनुहारमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिनलाई हाम्रा हृदयहरूमा चम्कनुभएको छ।7 तर सामर्थ्यको उत्तमताचाहिँ हामीबाटको होइन, तर परमेश्वरबाटकै होस् भनेर हामीसित यो धन माटाका भाँड़ाहरूमा छ। 8 हामी चारैतिरबाट मिचिएका छौं, तर पनि सङ्कटमा परेका छैनौं; हामी अत्त्याइएका छौं, तर हताश भएका छैनौं; 9 हामी सतावटमा परेका छौं, तर त्यागिएका छैनौं; हामी तल फ्याँकिएका छौं, तर नष्ट भएका छैनौं; 10 येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होस् भनेर हामी प्रभु येशूको मरण सधैंभरि शरीरमा लिएर यताउता हिँड़्छौं; 11 किनकि येशूको जीवन पनि हाम्रो मरणशील शरीरमा प्रकट होस् भनेर नै हामी जिउँदाहरू येशूको खातिर सधैंभरि मृत्युको हातमा सुम्पिइन्छौं। 12 यसैकारण मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा। 13 ‘मैले विश्वास गरें, यसैले म बोलेको हुँ’क भनी लेखिएअनुसार हामीसित उही विश्वासको आत्मा भएको हुनाले हामी पनि विश्वास गर्दछौं, यसैले हामी पनि बोल्दछौं, 14 यो जानेर कि उहाँ जसले प्रभु येशूलाई बौराएर उठाउनुभयो, उहाँले येशूद्वारा हामीलाई पनि बौराएर उठाउनुहुनेछ र तिमीहरूको साथमा उपस्थित गराउनुहुनेछ। 15 किनकि सबै कुराहरू तिमीहरूकै निम्ति हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरै मानिसहरूद्वारा परमेश्वरको महिमाका लागि धन्यवादको वृद्धि गरोस्।
16 यही कारणले हामी हिम्मत हार्दैनौं; हाम्रो बाहिरी मान्छे नष्ट हुँदै गइरहेको भए तापनि भित्री मान्छेचाहिँ दिन-दिनै नयाँ हुँदै गइरहेको छ। 17 किनकि हाम्रो छिनभरको हल्का सङ्कष्टले हाम्रा निम्ति नाप्नै नसकिने र सदा रहिरहने भारी महिमा उत्पन्न गर्छ; 18 किनकि हामी देखिने कुराहरू होइन, तर नदेखिने कुराहरू हेर्दछौं; किनकि देखिने कुराहरूचाहिँ थोरै दिनकाख हुन्, तर नदेखिने कुराहरू सदा रहिरहन्छन्ग।