ख्रीष्‍ट-विश्‍वासीहरू ख्रीष्‍टको जिउँदो पत्र हुन्
3
के हामीले फेरि आफ्नै प्रशंसा गर्न थाल्यौं? अथवा के अरू-अरूलाई झैं हामीलाई पनि तिमीहरूकहाँ सिफारिसपत्र ल्याउनु वा तिमीहरूबाट सिफारिसपत्र लैजानु खाँचो छ? 2 तिमीहरूचाहिँ सबै मानिसहरूद्वारा चिनिने र पढ़िने हाम्रा हृदयहरूमा लेखिएको हाम्रो पत्र हौ। 3 यो प्रकट भएको छ: तिमीहरू ख्रीष्‍टको पत्र हौ, जसको रचना हाम्रो सेवाद्वारा भएकै हो; जुन पत्रचाहिँ मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माले लेखिएको हो – ढुङ्गाका पाटीहरूमा होइन, तर हृदयका मासुरूपी पाटीहरूमा लेखिएको हो। 4 अनि ख्रीष्‍टद्वारा परमेश्‍वरप्रति हाम्रो यस्तै भरोसा छ। 5 कुनै कुरा हामी आफैबाटको जस्‍तो ठान्‍नलाई हामी आफै-आफ योग्य छैनौं, तर हाम्रो योग्यता त परमेश्‍वरबाटको हो। 6 जसले नै हामीलाई नयाँ वाचाका योग्य सेवकहरू बनाउनुभएको छ - लेखका होइन, तर आत्माका सेवकहरू; किनकि लेखले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।
नयाँ वाचाको अपार महिमा
7 तर ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा महिमापूर्ण थियो भने – यहाँसम्म कि इस्राएलीहरूले मोशाको अनुहारमा त्यस तेजले उनको अनुहारमा डिठ लाएर हेर्नै सकेनन्, जुन तेज मेटिने थियो; 8 आत्माको सेवा झन् महिमापूर्ण कसरी हुनेछैन र? 9 किनकि दोषी ठहराउने सेवामा महिमा छ भने धर्मी ठहराउने सेवामा झन् बढ़ी महिमा हुन्छ। 10 किनकि जुन कुरा महिमापूर्ण बनाइएको थियो, त्यो कुराचाहिँ यस सम्‍बन्‍धमा यस अपार महिमाको कारणले अलिकति पनि महिमापूर्ण भएन। 11 किनकि यदि मेटिएर जाने कुरा पनि महिमापूर्ण हो भने रहिरहनेचाहिँ झन् बढ़्‍ता महिमापूर्ण हुन्छ। 12 यसकारण यस्तो आशा भएको हुनाले हामी बोल्नमा बढ़ी साहस देखाउँछौं, 13 र मोशाले जस्तो गर्दैनौं, जसले मेटिएर जाने कुराको अन्त इस्राएलीहरूले डिठ लगाएर हेर्न नसकून् भनी आफ्नो अनुहारमाथि घुम्टो हालेका थिए; 14 तर तिनीहरूका मनहरू अन्धा पारिएका थिए; किनकि आजको दिनसम्म पनि पुरानो नियम पढ़्दाखेरि त्यही घुम्टोले ढाकिराखेकै हुन्छ; त्यो घुम्टो ख्रीष्‍टमा हटाइन्छ। 15 तर आजको दिनसम्म पनि मोशाको पुस्तक पढ़्दाखेरि तिनीहरूको हृदयमाथि घुम्टो हालिएको हुन्छ। 16 तैपनि जब यो प्रभुकहाँ फर्किनेछ, तब त्यो घुम्टो उठाइनेछ। 17 अनि प्रभु आत्मा हुनुहुन्छ; अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ। 18 तर नढाकिएको अनुहारले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं।