2
तर म तिमीहरूकहाँ शोकित भएर फेरि आउनेछैनँ भनी मैले मन-मनमा अठोट गरें। 2 किनकि मैले तिमीहरूलाई शोकित पारें भने, मद्वारा शोकित पारिएको व्‍यक्तिबाहेक मलाई खुशी पार्ने अरू होला त? 3 अनि म त्यहाँ आउँदाखेरी जसबाट मैले आनन्द पाउनुपर्थ्यो, तिनीहरूबाटै शोक पाउँछु कि भनी मैले यी कुरा तिमीहरूलाई लेखें; किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हो भनी तिमीहरू सबैमाथि मेरो भरोसा छ। 4 किनकि ठूलो कष्‍ट र हृदयको व्यथासहित, धेरै आँसु झार्दै मैले तिमीहरूलाई लेखें; तिमीहरूलाई शोक होस् भनेर होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त रहेछ, सो तिमीहरूले बुझ्न सक भनेर।
यस अपराधीलाई क्षमा गर!
5 तर कसैले शोकित पारेको छ भने उसले मलाई होइन, तर केही मात्रामा – मबाट बढ़ी नहोस् भनेर – तिमीहरू सबैलाई शोकित पारेको हो। 6 धेरैजनाबाट जुन दण्ड दिइयो, त्यही दण्ड यस्तो मानिसका निम्ति यथेस्‍ट छ। 7 यसकारण बरु उल्टा तिमीहरूले उसलाई क्षमा दिनुपर्छ र सान्‍त्‍वना दिनुपर्छ, नत्र सायद यस्तो मानिस साह्रै ठूलो शोकमा डुब्‍नेछ। 8 यसकारण म तिमीहरूलाई विन्‍ती गर्दछु, उसलाई तिमीहरू आफ्नो प्रेमको प्रमाण देओ! 9 किनकि तिमीहरू सबै कुराहरूमा आज्ञाकारी छौ कि छैनौ भनेर तिमीहरूलाई जाँच गरी थाहा पाउने विचारले पनि मैले लेखें। 10 अनि जसलाई तिमीहरू केही कुरा क्षमा गर्दछौ, म पनि क्षमा गर्छु; किनकि मैले केही कुरा क्षमा गरें भने, जसलाई मैले त्यो क्षमा गरें, ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति त्यो क्षमा गरें, 11 शैतानले हामीमा दाउ नपाओस् भनेर; किनकि त्यसका युक्तिहरूको विषयमा हामी अनजान छैनौं।
प्रेरितहरू ख्रीष्‍टको मीठो बास्‍ना हुन्
12 त्यसपछि जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न ट्रोआसमा आएँ, र प्रभुद्वारा मेरा निम्ति एउटा ढोका खोलियो, 13 तब मेरो भाइ तीतसलाई नभेट्टाएको खण्डमा मैले मेरो आत्मामा चैन पाइनँ; तर उनीहरूबाट बिदा लिएर म म्यासिडोनिया गएँ।
14 अब परमेश्‍वरलाई धन्यवाद होस्, जसले ख्रीष्‍टमा हामीलाई सधैं विजयी बनाउनुहुन्छ र हामीद्वारा हरेक ठाउँमा आफ्नो ज्ञानको मीठो बास्‍ना प्रकट गर्नुहुन्छ। 15 किनकि हामी मुक्ति पाउनेहरूको बीचमा र नष्‍ट हुनेहरूको बीचमा परमेश्‍वरका निम्ति ख्रीष्‍टको मीठो बास्‍ना हौं। 16 कतिका निम्ति हामी मृत्युका लागि मृत्युको दुर्गन्ध हौं भने कतिका निम्ति जीवनका लागि जीवनको सुगन्ध हौं; अनि यी कुराहरूका लागि योग्य को छ र? 17 किनकि हामी ती धेरै मानिसहरूजस्ता होइनौं, जसले परमेश्‍वरको वचन बिगार्छन्, तर निस्कपट मानिसहरूजस्‍तै, तर परमेश्‍वरको तर्फबाट भएझैं हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा बोल्दछौं।