येशू ख्रीष्‍टको बौरिउठाइ
15
अब हे भाइहरूहो, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरें, त्यही सुसमाचार म तिमीहरूलाई बताउँछु; त्यसलाई नै तिमीहरूले ग्रहण गरेका छौ, र त्यसैमा तिमीहरू उभिन्छौ; 2 त्यसैद्वारा तिमीहरूले मुक्ति पनि पाउँछौ, यदि तिमीहरूले मैले प्रचार गरेको वचन बलियो गरी पक्र्यौ भने; नत्र तिमीहरूले व्यर्थैमा विश्‍वास गर्‍यौ।
3 किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिएँ, जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात्‌ पवित्र-शास्त्रहरूअनुसार ख्रीष्‍ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, 4 र गाड़िनुभयो, अनि पवित्र- शास्त्रहरूअनुसार उहाँ तेस्रो दिनमा बौरिउठ्नुभयो; 5 अनि उहाँ केफासकहाँ, त्यसपछि बाह्रजनाकहाँ देखा पर्नुभयो; 6 त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्, तर कतिचाहिँ सुतिसके। 7 त्यसपछि उहाँ याकूबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ। 8 अनि सबैभन्दा पछि उहाँ मकहाँ, मानूँ समय पूरा नभई जन्मेको मान्छेकहाँ पनि देखा पर्नुभयो। 9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा सानो हुँ, म प्रेरित भनिने लायकको छैनँ; किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ। 10 तर म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्‍वरको अनुग्रहले नै हो। 11 यसकारण चाहे म हुँ, चाहे उनीहरू होऊन्, हामी यसरी नै प्रचार गर्छौं, र यसरी नै तिमीहरूले विश्‍वास गर्‍यौ।
मरेकाहरूको बौरिउठाइ
12 अब ‘उहाँ मरेकाहरूबाट बौरिउठ्नुभयो’ भनी ख्रीष्‍टको प्रचार गरिन्छ भने, मरेकाहरूको बौरिउठाइ हुँदैन भनी तिमीहरूमध्ये कतिले कसरी भन्छन् त? 13 तर यदि मरेकाहरूको बौरिउठाइ हुँदैन भने ख्रीष्‍ट पनि बौरिउठ्नुभएन। 14 अनि ख्रीष्‍ट बौरिउठ्नुभएन भने हाम्रो प्रचार व्यर्थै हो, र तिमीहरूको विश्‍वास पनि व्यर्थै हो। 15 अनि हामी पनि परमेश्‍वरका झूटा साक्षी ठहरिन्छौं; किनकि ‘उहाँले ख्रीष्‍टलाई बौराएर उठाउनुभयो’ भनी हामीले परमेश्‍वरको विषयमा गवाही दियौं। साँच्‍चै मरेकाहरू बौराइँदैनन् भने त उहाँलाई पनि परमेश्‍वरले बौराएर उठाउनुभएन। 16 किनभने मरेकाहरू बौराइँदैनन् भने त ख्रीष्‍ट पनि बौरिउठ्नुभएन। 17 अनि यदि ख्रीष्‍ट बौरिउठ्नुभएन भने तिमीहरूको विश्‍वास व्यर्थै हो; तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ। 18 तब ख्रीष्‍टमा सुतेकाहरू पनि नष्‍ट भए। 19 यही जीवनमा मात्र हामीले ख्रीष्‍टमा आशा राखेका छौं भने सबै मानिसहरूमध्ये हामीचाहिँ सबैभन्दा दुःखी हौं।
20 तर अबचाहिँ ख्रीष्‍ट मरेकाहरूबाट बौरिउठ्नुभएकै हो, र सुतिजानेहरूमध्ये पहिलो फल हुनुभएको छ। 21 किनकि मानिसद्वारा मृत्यु आएको हुनाले मानिसद्वारा नै मरेकाहरूको बौरिउठाइ पनि आयो। 22 किनकि जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्‍टमा सबै जिउँदो पारिनेछन्। 23 तर हरेक आ-आफ्नो पालोमा: पहिलो फल ख्रीष्‍ट, त्यसपछि उहाँको आगमनमा ख्रीष्‍टका जनहरू; 24 त्यसपछि जब उहाँले राज्य परमेश्‍वर अर्थात्‌ पिताको हातमा सुम्पिदिनुहुन्छ, जब उहाँले सबै शासन, सबै अधिकार र सामर्थ्य नष्‍ट पार्नुहुन्छ, तब अन्त हुनेछ। 25 किनकि जबसम्म उहाँले सबै शत्रुहरूलाई आफ्ना पाउमुनि पार्नुहुन्‍न, तबसम्म उहाँले राज्य गर्नैपर्छ। 26 आखिरी शत्रुचाहिँ, जो नष्‍ट पारिनेछ, मृत्यु हो। 27 किनकि ‘उहाँले सबै कुराहरू उहाँका पाउमुनि पारिदिनुभएको छ।’ तर ‘सबै कुराहरू उहाँको अधीनमा पारिएका छन्’ भनी जब उहाँ भन्‍नुहुन्‍छ, तब सबै कुराहरू उहाँको अधीनमा पार्नुहुने आफैचाहिँ अलग हुनुहुन्छ भन्‍ने स्पष्‍ट हुन्छ। 28 तर जब सबै कुराहरू उहाँको अधीनतामा पारिन्छन्, तब परमेश्‍वर नै सबै कुराहरूमा सबै थोक होऊन् भनेर पुत्र आफै पनि सबै कुराहरू उहाँको अधीनमा पार्नुहुनेको अधीनमा रहनुहुनेछ।
29 यसो होइन भने – मरेकाहरू बौराइँदै-बौराइँदैनन् भने मरेकाहरूका निम्ति बप्‍तिस्‍मा लिनेहरूले के गर्नेछन् त? तब तिनीहरू मरेकाहरूका निम्ति किन बप्‍तिस्‍मा लिन्छन् त? 30 अनि हामी पनि किन हर घड़ी जोखिममा पर्छौं त? 31 हाम्रा प्रभु ख्रीष्‍ट येशूमा तिमीहरूका निम्ति मलाई जुन गर्व छ, त्यसैको आधारमा म दृढ़तापूर्वक भन्दछु: ‘म दिनहुँ मर्छु।’ 32 एफेससमा मैले मानिसको रीतिअनुसार जङ्गली पशुहरूसँग लड़ाइँ गरेको छु भने मलाई के फाइदा भयो र, यदि मरेकाहरू बौराइँदैनन् भने? बरु ‘खाऔं र पिऔं, किनकि भोलि त हामी मर्छौं।’
33 धोका नखाओ; खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्। 34 धार्मिकताका निम्ति जागी उठ, र पाप नगर; किनकि कतिजनासँग परमेश्‍वरको ज्ञान छैन; तिमीहरूलाई शर्ममा पार्नलाई म यो भन्दछु।
35 तर कसैले भन्‍नेछ: ‘मरेकाहरू कसरी बौराइन्छन् त? अनि कस्तो शरीरमा उनीहरू आउँछन्?’ 36 हे मूर्ख, तिमी जे छर्दछौ, त्यो नमरेसम्म जिउँदो पारिँदैन। 37 अनि तिमी जे छर्दछौ, पछिबाट हुने शरीर त छर्दैनौ, तर नाङ्गो दाना छर्दछौ, चाहे त्यो गहुँको होस्, चाहे अरू कुनै अन्‍नको होस्। 38 तर आफूलाई मन परेअनुसार परमेश्‍वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक बीउलाई आ-आफ्नै शरीर दिनुहुन्छ। 39 सबै मासु एकै किसिमको मासु हुँदैन, तर मानिसहरूको एक किसिमको मासु हुन्छ, पशुहरूको अर्कै मासु, माछाहरूको अर्कै मासु र चराहरूको अर्कै किसिमको मासु हुन्छ। 40 स्वर्गका शरीरहरू र पृथ्वीका शरीरहरू पनि हुन्छन्; तर स्वर्गका शरीरहरूको तेज एक किसिमको हुन्छ र पृथ्वीका शरीरहरूको तेज अर्कै किसिमको हुन्छ। 41 घामको तेज एक किसिमको हुन्छ, जूनको तेज अर्कै र ताराहरूको तेज अर्कै किसिमको हुन्छ; किनकि तेजमा एक तारा अर्को ताराभन्दा भिन्‍नै हुन्छ। 42 मरेकाहरूको बौरिउठाइ पनि यस्तै प्रकारको हुन्छ। विनाशी दशामा छरिन्छ, अविनाशी दशामा बौराइन्छ। 43 अनादरमा छरिन्छ, महिमामा बौरिइन्छ; दुर्बलतामा छरिन्छ, सामर्थ्यमा बौराइन्छ। 44 एक प्राकृतिक शरीर छरिन्छ, एक आत्मिक शरीर बौराइन्छ। प्राकृतिक शरीर हुन्छ र आत्मिक शरीर पनि हुन्छ। 45 अनि यस्तो लेखिएको छ: ‘पहिलो मानिस आदम जीवित प्राणी बन्यो;’ अन्तिम आदमचाहिँ जीवित पार्नुहुने आत्मा बन्‍नुभयो। 46 तर आत्मिक होइन, तर प्राकृतिकचाहिँ पहिलो थियो, त्यसपछि आत्मिक। 47 पहिलो मानिस पृथ्वीबाटको, माटोले बनिएको हो भने दोस्रो मानिस स्वर्गबाटका प्रभु हुनुहुन्छ। 48 माटोले बनिएको मानिस जस्तो छ, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्; स्वर्गीय मानिस जस्तो हुनुहुन्छ, स्वर्गीयहरू पनि त्यस्तै हुन्छन्। 49 जसरी हामीले माटोले बनिएको मानिसको रूप धारण गरेका छौं, त्यसरी नै हामी स्वर्गीय मानिसको रूप पनि धारण गर्नेछौं।
50 अब भाइहरूहो, म यो भन्दछु: रगत र मासु परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन, न ता विनाश अविनाशको हकदार हुन सक्दछ। 51 हेर, म तिमीहरूलाई एउटा रहस्य बताउँछु: हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबै बदली हुनेछौं; 52 एकै क्षणमा, आँखाको झिमिकमा, आखिरी तुरही बज्दाखेरि; किनकि तुरही बज्‍नेछ, र मरेकाहरू अविनाशी दशामा बौराइनेछन्, र हामीचाहिँ बदली हुनेछौं। 53 किनकि यस विनाशीले अविनाशलाई पहिरनैपर्छ, र यस मरणशीलले अमरतालाई ओढ़्नैपर्छ। 54 यसकारण जब यस विनाशीले अविनाशलाई पहिरन्छ र यस मरणशीलले अमरतालाई ओढ़्छ, तब यो लेखिएको वचन पूरा हुनेछ:
‘मृत्यु विजयमा निलियो।’ 55 ‘हे मृत्यु, तेरो खील कहाँ छ? हे चिहान, तेरो विजय कहाँ छ?’
56 अनि मृत्युको खील पाप हो; अनि पापको शक्ति व्यवस्था हो। 57 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामीलाई विजय दिनुहुन्छ। 58 यसकारण मेरा प्रिय भाइहरूहो, तिमीहरू स्थिर होओ, अचल होओ र सधैंभरि प्रभुको काममा प्रशस्त हुँदै जाओ; किनभने तिमीहरूलाई थाहा छ, प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।