भविष्यवाणी र अन्य भाषाको वरदानको बीचको तुलना
14
प्रेमको पछि लाग, र आत्मिक वरदानहरूका निम्ति उत्सुकतापूर्वक लालसा गर, तर विशेष गरेर भविष्यवाणी गर्नका निम्ति। 2 किनकि जसले अन्य भाषा बोल्छ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ; किनभने कसैले पनि बुझ्दैन; तर आत्मामा उसले रहस्यहरू बोल्छ। 3 तर जसले भविष्यवाणी बोल्छ, उसले मानिसहरूसित उन्नति, उत्साह र सान्त्वनाका कुराहरू बोल्छ। 4 जसले अन्य भाषा बोल्छ, उसले आफ्नै उन्नति गर्छ; तर जसले भविष्यवाणी बोल्छ, उसले मण्डलीको उन्नति गर्छ। 5 तिमीहरू सबैजनाले भाषाहरू बोलेका, तर विशेष गरी भविष्यवाणी गरेका म चाहन्छु; किनकि भाषाहरू बोल्नेले, मण्डलीले उन्नति पाओस् भनेर अनुवाद गरेन भने भविष्यवाणी गर्ने नै ऊभन्दा ठूलो हो।6 तर अब भाइहरूहो, म तिमीहरूकहाँ भाषाहरू बोल्दै आएँ भने, तर प्रकाशद्वारा, वा ज्ञानद्वारा, वा भविष्यवाणीद्वारा, वा शिक्षाद्वारा तिमीहरूलाई मैले केही भन्दिनँ भने मबाट तिमीहरूलाई के फाइदा हुनेछ र? 7 अनि आवाज निकाल्ने निर्जीव वस्तुहरूले पनि – चाहे बाँसुरी होस् चाहे वीणा – बज्दाखेरि तिनीहरूले सोरहरूमा भेद निकालेनन् भने बाँसुरीमा वा वीणामा के बजिरहेको छ, कसरी जानिनेछ र? 8 किनकि तुरहीले स्पष्ट आवाज निकालेन भने लड़ाइँका निम्ति कसले आफैलाई तयार पार्दछ र? 9 यस प्रकारले तिमीहरूले पनि सजिलै बुझ्न सकिने शब्दहरू जिब्रोले उच्चारण गरेनौ भने बोलिएको कुरा कसरी बुझिनेछ त? किनकि तिमीहरूले हावामा कुरा गर्नेछौ। 10 संसारमा यति धेरै आवाजहरू छन्, कति हुन् कति! तर तिनमा कुनै पनि मतलबविनाको हुँदैन। 11 यसकारण मैले त्यस आवाजको अर्थ बुझिनँ भने त्यस बोल्ने मानिसका निम्ति म परदेशीक ठहरिनेछु, र मेरा निम्ति पनि त्यो बोल्ने मानिस परदेशीक ठहरिनेछ। 12 यस प्रकारले तिमीहरूले पनि – किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति जोशिला छौ – मण्डलीको उन्नतिका निम्ति भरपूर हुने यत्न गर! 13 यसकारण अन्य भाषामा बोल्नेले अनुवाद पनि गर्न सक्नलाई प्रार्थना गरोस्। 14 किनकि मैले अन्य भाषामा प्रार्थना गरें भने मेरो आत्माले त प्रार्थना गर्छ, तर मेरो समझ निष्फल रहन्छ। 15 तब के गर्ने त? म आत्माले प्रार्थना गर्नेछु र समझले पनि प्रार्थना गर्नेछु; म आत्माले गीत गाउनेछु र समझले पनि गाउनेछु। 16 नत्रभने तिमीले आत्माले धन्यवाद चढ़ाउँदाखेरि कुनै अनजान मानिसलेख तिमीले धन्यवाद दिएकोमा कसरी आमेनग भन्ला र? किनकि तिमीले भनेको कुरा उसले बुझ्दैन। 17 किनकि तिमीले साँच्ची नै राम्ररी धन्यवाद दिन्छौ, तर अर्कोको उन्नति भएको हुँदैन। 18 म मेरा परमेश्वरलाई धन्यवाद चढ़ाउँछु, तिमीहरू सबैजनाभन्दा बढ़ी म भाषाहरू बोल्दछु; 19 तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्दहरू बोल्नुभन्दा त बरु अरूलाई पनि सिकाउन सकूँ भनेर म आफ्नो समझले पाँचवटा शब्द बोल्न चाहन्छु।
20 भाइहरूहो, समझमा केटाकेटीहरू नबन; तरै पनि खराबीको विषयमा चाहिँ तिमीहरू बालबालिकाहरू बन, तर समझमा चाहिँ पूरा बढ़ेको मानिसग बन! 21 व्यवस्थामा लेखिएको छ:
‘परमप्रभु भन्नुहुन्छ, म अरू भाषाहरूघ र अरू ओठहरूद्वारा यस जातिसित बोल्नेछु; तर यति गरेर पनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्।’ङ
22 यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन् – विश्वास गर्नेहरूका लागि होइन, तर विश्वास नगर्नेहरूका लागि हुन्; तर भविष्यवाणीचाहिँ विश्वास नगर्नेहरूका लागि होइन, तर विश्वास गर्नेहरूका लागि हो। 23 यसैकारण यदि सारा मण्डली एक ठाउँमा भेला भएको छ, र सबैजनाले भाषाहरू बोले भने, साथै अनजानहरू वा विश्वास नगर्नेहरू भित्र आएका छन् भने, के तिनीहरूले ‘तिमीहरू बौलाहा रहेछौ’ भन्नेछैनन् र? 24 तर सबैजनाले भविष्यवाणी गरे भने, र कुनै विश्वास नगर्ने वा अनजान मानिस भित्र आयो भने सबैजनाद्वारा उसको दोष देखाइन्छ, सबैजनाद्वारा ऊ जाँचिन्छ। 25 अनि यसरी उसको हृदयका गुप्त कुराहरू प्रकट गरिन्छन्, र उसले भुइँमा घोप्टो परेर परमेश्वरलाई दण्डवत् गर्नेछ र ‘परमेश्वर साँच्चै तिमीहरूको बीचमा हुनुहुँदो रहेछ’ भनी घोषणा गर्नेछ।
मण्डली-सभामा अनुशासन र नियमितता हुनुपर्छ
26 तब भाइहरूहो, के गर्ने त? जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूमध्ये हरेकसँग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ; सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्। 27 यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा धेरैभन्दा धेरै तीनजना होऊन्, र तिनीहरू पालैसँग बोलून्, अनि एकजनाले अनुवाद गरोस्। 28 तर अनुवाद गर्ने कोही छैन भने मण्डलीमा ऊ चुप लागोस्, र मन-मनमा आफैसँग र परमेश्वरसँग बोलोस्। 29 अनि भविष्यवक्ताहरूचाहिँ दुईजना वा तीनजना बोलून्, र अरूले जाँचून्। 30 यदि छेवैमा बस्ने अर्कोलाई कुनै प्रकाश दिइयो भने पहिलोचाहिँ चुप लागोस्। 31 किनकि सबैजनाले सिकून् र सबैजनाले सान्त्वना पाऊन् भनेर तिमीहरू सबैजनाले एक-एक गर्दै भविष्यवाणी गर्न सक्छौ। 32 अनि भविष्यवक्ताहरूका आत्माहरू भविष्यवक्ताहरूकै अधीनतामा हुन्छन्। 33 किनकि परमेश्वर गड़बड़को परमेश्वर हुनुहुन्न, तर शान्तिको परमेश्वर हुनुहुन्छ; पवित्र जनहरूका सबै मण्डलीहरूमा यस्तै हुन्छ।
34 तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भइरहनेच आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छछ। 35 अनि उनीहरू केही सिक्न चाहन्छन् भने उनीहरूले घरमा आफ्ना पतिहरूलाई सोधून्; किनकि स्त्रीहरूका निम्ति मण्डलीमा बोल्नुचाहिँ शर्मको कुरा हो। 36 अथवा के परमेश्वरको वचन तिमीहरूबाट निस्क्यो, कि तिमीहरूकहाँ मात्र आयो? 37 यदि कुनै मानिसले आफूलाई ‘भविष्यवक्ता हुँ’ वा ‘आत्मिक हुँ’ भन्ने सम्झन्छ भने जुन कुराहरू म तिमीहरूलाई लेख्दछु, ती कुराहरू प्रभुका आज्ञाहरू हुन् भनी उसले मानिलिओस्ज। 38 तर कुनै मानिस अनजान हो भने ऊ अनजानै रहोस्। 39 यसकारण भाइहरूहो, उत्सुकतापूर्वक भविष्यवाणी गर्ने लालसा गर र भाषाहरू बोल्नलाई मनाही नगर! 40 सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन्।