सर्वोत्तम मार्ग प्रेम हो
13
मैले मानिसहरूका र स्वर्गदूतहरूका भाषाहरू बोले तापनि मसँग प्रेम छैन भने म त ठ्याङठ्याङ गर्ने पित्तल वा झ्याइँझ्याइँ गर्ने झ्याम्टाजस्तो मात्र भएँ। 2 अनि मसँग भविष्यवाणी गर्ने वरदान भए तापनि र सबै रहस्यहरू र सबै ज्ञानहरू जाने तापनि, साथै पहाड़हरू हटाउन सक्ने पूरा विश्वास मसँग भए तापनि मसँग प्रेमचाहिँ छैन भने म केही पनि होइनँ। 3 अनि मैले आफ्नो सारा सम्पत्ति गरिबहरूलाई खुवाउन दिए तापनि र आफ्नो शरीरलाई जल्नका निम्ति सुम्पिदिए तापनि मसँग प्रेमचाहिँ छैन भने मलाई केही पनि लाभ हुँदैन। 4 प्रेमले खूबै सहन्छ, र दयालु हुन्छ; प्रेमले डाहा गर्दैन, प्रेमले आफ्नो प्रशंसा गर्दैन, घमण्डले फुलिँदैन, 5 रूखो व्यवहार गर्दैन, आफ्नै भलाइ खोज्दैन, झड़ङ्ग रिसाउँदैन, खराबीको हिसाब राख्दैन, 6 अधर्ममा आनन्दित हुँदैन, तर सत्यतामा आनन्दित हुन्छ; 7 त्यसले सबै कुराहरू सहन्छ, सबै कुराहरू विश्वास गर्छ, सबै कुराहरूको आशा गर्छ, सबै कुराहरूमा धीरज धर्छ। 8 प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ। 9 किनभने हाम्रो ज्ञान अधूरो हुन्छ, अनि हाम्रो भविष्यवाणी अधूरो हुन्छ। 10 तर जब सिद्धचाहिँ आउँछ, तब जे अधूरो छ, त्यो हटाइनेछ। 11 जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थें, बालकले जस्तो बुझ्थें, बालकले जस्तो सोच्थें; तर जब म एक पुरुषक बनें, तब मैले बालकका कुराहरू छोड़िदिएँ। 12 किनकि अहिले हामी ऐनाद्वारा धमिलो देख्छौं, तर त्यस बेला आमुन्ने-सामुन्ने देख्नेछौं; अहिले मेरो ज्ञान अधूरो हुन्छ, तर त्यस बेला जसरी म जानिएको छु, त्यसरी नै म जान्नेछु। 13 अनि अब विश्वास, आशा, प्रेम – यी तीनवटा कुराहरू रहन्छन्; तर यिनमा सबैभन्दा ठूलोचाहिँ प्रेम हो।