पवित्र आत्माका वरदानहरू
12
अब भाइहरूहो, आत्मिक वरदानहरूको विषयमा पनि तिमीहरू अनजान रहोक भन्ने मेरो इच्छा छैन। 2 तिमीहरूलाई थाहै छ, तिमीहरू डोर्याइएअनुसार ती गुँगा मूर्तिहरूकहाँ बहकिएर गएका अन्यजातिहरू थियौ। 3 यसकारण म तिमीहरूलाई थाहा दिन्छु: परमेश्वरको आत्माद्वारा बोल्ने कसैले पनि ‘येशू श्रापित होस्’ख भनी भन्दैन, र पवित्र आत्माद्वारा बाहेक कसैले पनि ‘येशू नै प्रभु हुनुहुन्छ’ भनी भन्न सक्दैन। 4 अनि वरदानहरू किसिम-किसिमका छन्, तर आत्मा उहीं हुनुहुन्छ। 5 अनि सेवाहरू पनि किसिम-किसिमका छन्, तर प्रभु उहीं हुनुहुन्छ। 6 अनि कार्यहरू पनि किसिम-किसिमका छन्, तर परमेश्वर उहीं हुनुहुन्छ, जसले सबैजनामा सबै कुराहरू गर्नुहुन्छ। 7 तर सबैजनालाई फाइदा होस् भनेर हरेकलाई आत्माको प्रकाश दिइन्छ। 8 किनकि एकजनालाई आत्माद्वारा बुद्धिको वचन दिइन्छ र अर्कोलाई उहीं आत्माद्वारा ज्ञानको वचन दिइन्छ; 9 अनि अर्कोलाई उहीं आत्माद्वारा विश्वास, र अर्कोलाई उहीं आत्माद्वारा निको पार्ने वरदानहरू, 10 अनि अर्कोलाई सामर्थ्यका कामहरू गर्ने क्षमता, अर्कोलाई भविष्यवाणी, अर्कोलाई आत्माहरू खुट्ट्याउने क्षमता, अर्कोलाई किसिम-किसिमका भाषाहरू र अर्कोलाई भाषाहरूको अनुवाद। 11 तर यी सबै कुराहरू एउटै र उहीं आत्माले नै गर्नुहुन्छ, जसले आफ्नै इच्छाअनुसार हरेकलाई अलग-अलग बाँड़िदिनुहुन्छ।ख्रीष्टमा हामी अनेक अङ्गहरू भए तापनि एउटै शरीर हौं
12 किनकि शरीर एउटै हुन्छ, तर त्यसका अङ्गहरू धेरै हुन्छन्; अनि त्यस एउटा शरीरका सबै अङ्गहरू, धेरै भए तापनि एउटै शरीर हुन्; ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ। 13 किनकि चाहे हामी यहूदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं; र सबैजनालाई एउटै आत्माभित्र पिउन दिइयो।
14 किनकि शरीरचाहिँ एउटै अङ्ग होइन, तर धेरै अङ्गहरू हुन्। 15 यदि खुट्टाले ‘म त हात होइनँ, यसैकारण म शरीरको होइनँ’ भन्यो भने, के त्यही कारणले त्यो शरीरको होइन? 16 अनि यदि कानले ‘म त आँखा होइनँ, यसैकारण म शरीरको होइनँ’ भन्यो भने, के त्यही कारणले त्यो शरीरको होइन? 17 यदि सारा शरीर आँखा हुँदो हो ता सुन्ने कहाँ? यदि सारा शरीर सुन्ने हुँदो हो ता सुँघ्ने कहाँ? 18 तर अब आफूलाई मन परेअनुसार परमेश्वरले अङ्गहरू – तीमध्ये एक-एकलाई शरीरमा राख्नुभयो। 19 अनि तिनीहरू सबै एउटै अङ्ग हुँदा हुन् ता शरीर कहाँ हुनेथियो? 20 तर अब अङ्गहरू साँच्चै धेरै छन्, तर शरीर एउटै। 21 अनि आँखाले हातलाई ‘मलाई तिम्रो खाँचो छैन’ भन्न सक्दैन; न ता फेरि शिरले खुट्टाहरूलाई ‘मलाई तिमीहरूको खाँचो छैन’ भन्न सक्दछ। 22 तर शरीरका जुन अङ्गहरू ज्यादा कमजोर देखा पर्छन्, तिनीहरूकै झन् बेसी खाँचो पर्छ। 23 अनि शरीरका जुन अङ्गहरू हामी कम आदरका सम्झन्छौं, तिनीहरूलाई हामी झन् प्रशस्त आदर दिन्छौं; अनि हाम्रा असुन्दर अङ्गहरूकै झन् प्रशस्त सुन्दरता हुन्छ; 24 किनकि हाम्रा सुन्दर अङ्गहरूलाई कुनै खाँचो छैन। तर परमेश्वरले पछि परेको अङ्गलाई झन् प्रशस्त आदर दिँदै शरीरलाई एकसाथ मिलाउनुभएको छ; 25 यसैले कि शरीरमा कुनै फाटो नहोस्, तर अङ्गहरूले एक-अर्काका निम्ति एकै प्रकारको वास्ता राखून्। 26 अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्योसँगै दुःख भोग्छन्; अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्योसँगै आनन्द मनाउँछन्। 27 अब तिमीहरू ख्रीष्टको शरीर हौ, र एक-एक गरी चाहिँ अङ्गहरू हौ। 28 अनि परमेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेस्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू। 29 के सबैजना प्रेरितहरू हुन्? के सबैजना भविष्यवक्ताहरू हुन्? के सबैजना शिक्षकहरू हुन्? के सबैजना सामर्थ्यका काम गर्नेहरू हुन्? 30 के सबैजनासँग निको पार्ने वरदानहरू हुन्छन्? के सबैजनाले विभिन्न भाषाहरू बोल्छन्? के सबैजनाले अनुवाद गर्छन्? 31 तर सबैभन्दा असल वरदानहरूका निम्ति उत्सुकतापूर्वक लालसा गर! अनि अझै पनि म तिमीहरूलाई सर्वोत्तम मार्ग देखाउँछु।