शिर ढाक्ने विषयमा प्रेरित पावलको शिक्षा
11
जसरी म ख्रीष्टको देखासिकी गर्दछु, त्यसरी नै तिमीहरू पनि मेरो देखासिकी गर्ने होओ! 2 अब हे भाइहरूहो, म तिमीहरूको प्रशंसा गर्दछु; किनकि सबै कुराहरूमा तिमीहरूले मलाई सम्झना गर्दछौ, र मैले तिमीहरूलाई सुम्पेअनुसार तिमीहरूले ती रीतिहरू पालन गर्दछौ। 3 तर तिमीहरूले यो कुरा जानेको म चाहन्छु: प्रत्येक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ, र स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ। 4 आफ्नो शिर ढाकेर प्रार्थना वा भविष्यवाणी गर्ने हरेक पुरुषले आफ्नो शिरलाई अनादर गर्दछ। 5 तर आफ्नो शिर नढाकिईकन प्रार्थना वा भविष्यवाणी गर्ने हरेक स्त्रीले आफ्नो शिरलाई अनादर गर्दछे; किनकि यो त उसको केश खौरिएकै बराबरक हो। 6 किनकि स्त्रीले आफूलाई ढाकिन भने उसको केश पनि कत्रियोस्; तर केश कत्राइनु वा खौराइनु स्त्रीका निम्ति शर्मको कुरा हो भने ऊ ढाकिओस्। 7 किनकि पुरुषले साँच्चै आफ्नो शिर ढाक्नुहुँदैन, किनकि ऊचाहिँ परमेश्वरको प्रतिरूप र महिमा हो; तर स्त्रीचाहिँ पुरुषको महिमा हो। 8 किनकि पुरुष स्त्रीबाटको होइन, तर स्त्री पुरुषबाटकी हो। 9 अनि पुरुष स्त्रीका निम्ति सृष्टि गरिएको होइन, तर स्त्री पुरुषका निम्ति सृष्टि गरिएकी हो। 10 यही कारणले स्त्रीको शिरमाथि स्वर्गदूतहरूले गर्दा यो अधिकारको चिन्हख हुनुपर्छ। 11 तरै पनि प्रभुमा न ता पुरुष स्त्रीविना हुन्छ, न स्त्री पुरुषविना हुन्छे। 12 किनकि जसरी स्त्री पुरुषबाटकी हो, त्यसरी नै पुरुष पनि स्त्रीद्वारा हो; तर सबै कुराहरू परमेश्वरबाटका हुन्। 13 तिमीहरूले आफ्नो बीचमा निर्णय गर! के शिर नढाकिईकन परमेश्वरलाई प्रार्थना गर्नु स्त्रीलाई सुहाउँछ र? 14 पुरुषले लामो केश राख्यो भने यो उसका निम्ति शर्मको कुरा हो भन्ने कुरा के प्रकृति आफैले पनि तिमीहरूलाई सिकाउँदैन र? 15 तर स्त्रीले चाहिँ लामो केश राखी भने यो उसका निम्ति महिमा हो; किनकि उसको केश उसलाई घुम्टोको लागिग दिइएको हो। 16 तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाहा होस्, कि हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ।प्रभुभोज
17 तर यस विषयमा तिमीहरूलाई आज्ञा दिँदाखेरि म तिमीहरूलाई प्रशंसा गर्दिनँ; किनकि भलाइका निम्ति होइन, तर खराबीकै निम्ति तिमीहरू भेला हुन्छौ। 18 किनकि सबैभन्दा पहिला म सुन्दछु, तिमीहरू मण्डलीमा भेला हुँदा तिमीहरूको बीचमा फाटो हुन्छ अरे; अनि म केही मात्रामा यो कुरा विश्वास गर्दछु। 19 किनकि योग्य ठहरिएकाहरू तिमीहरूको बीचमा प्रकट होऊन् भनेर तिमीहरूको बीचमा दलहरूघ पनि भएकै हुनुपर्दछ। 20 यसकारण जब तिमीहरू एक ठाउँमा भेला हुन्छौ, तब यो प्रभुभोज खानका निम्ति होइन; 21 किनकि खाँदाखेरि अरूले भन्दा पहिले नै हरेकले आफ्नो खाना खाइहाल्छ; र एकजनाचाहिँ भोकै रहन्छ र अर्कोचाहिँ मत्त भएको हुन्छ। 22 खान र पिउनलाई के तिमीहरूका घरहरू छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्दछौ? र ती नहुनेहरूलाई शर्ममा पार्दछौ? म तिमीहरूलाई के भनूँ? के यस कुरामा म तिमीहरूलाई प्रशंसा गरूँ? म तिमीहरूको प्रशंसा गर्दिनँ।
23 किनकि प्रभुबाट पाएकै कुरा मैले तिमीहरूलाई सुम्पि पनि दिएँ, अर्थात् जुन रात प्रभु येशू पक्राउ पर्नुभयो, त्यही रात उहाँले रोटी लिनुभयो, 24 र धन्यवाद दिएर त्यसलाई भाँच्नुभयो, र भन्नुभयो: ‘लेओ, खाओ! यो मेरो शरीर हो, जुन शरीर तिमीहरूका निम्ति तोड़िएको छ; मेरो सम्झनामा यो गर!’ 25 यही प्रकारले खाइसक्नुभएपछि उहाँले यसो भन्दै कचौरा पनि लिनुभयो: ‘यो कचौरा मेरो रगतमा भएको नयाँ वाचा हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर!’ 26 किनकि जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यो कचौरा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ। 27 यसकारण जसकसैले अयोग्य रीतिले यो रोटी खान्छ वा प्रभुको यो कचौरा पिउँछ, त्यो प्रभुको शरीर र रगतको दोषी हुनेछ। 28 तर मानिसले आफैलाई जाँचोस्, र त्यसरी नै यस रोटीबाट खाओस् र यस कचौराबाट पिओस्। 29 किनकि जसले प्रभुको शरीरलाई नचिनीकन अयोग्य रीतिले खान्छ र पिउँछ, त्यसले आफैमाथि दण्ड ल्याउनका निम्ति खान्छ र पिउँछ। 30 यही कारणले गर्दा तिमीहरूको बीचमा धेरैजना कमजोर र रोगी छन्, अनि धेरैजना सुतिगए। 31 किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिनेछैन। 32 तर संसारसँगै हामी पनि दोषी ठहरिनु नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामी ताड़ना पाउँछौं। 33 यसकारण मेरा भाइहरूहो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ, तब एक-अर्कालाई पर्ख! 34 अनि कोही भोकाउँछ भने उसले घरैमा खाओस्, नत्र दण्डका निम्ति तिमीहरू भेला हुनेछौ। अनि बाँकी कुराचाहिँ जब म आउँला, तब मिलाउँला।