पुरानो नियमबाट मिल्ने कतिपय चेताउनीहरू
10
अब भाइहरूहो, हाम्रा पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर पार गए भन्ने कुरामा तिमीहरू अनजान रहोक भन्ने मेरो इच्छा छैन। 2 अनि सबैले बादलमा र समुद्रमा मोशाको बप्तिस्मा लिए; 3 अनि सबैले एउटै आत्मिक खानेकुरा खाए; 4 अनि सबैले एउटै आत्मिक पिउने कुरा पिए; किनकि तिनीहरूको पछि-पछि लाग्ने आत्मिक चट्टानबाट तिनीहरूले पिए; अनि त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो। 5 तर तिनीहरूमध्ये धेरैसँग परमेश्वर खुशी हुनुभएन; किनकिख तिनीहरू उजाड़स्थानमा पसारो परे। 6 अनि जसरी तिनीहरूले लालसा गरे, त्यसरी हामीले चाहिँ खराब कुराहरूको लालसा गर्नुहुँदैन भन्ने विचारले यी कुराहरूचाहिँ हाम्रा निम्ति उदाहरण भएका छन्। 7 अँ तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कतिजना बने, जस्तो लेखिएको छ: ‘खान र पिउनलाई मानिसहरू बसे, र लीला गर्न उठे।’ग 8 अनि हामी व्यभिचार नगरौं, जसरी तिनीहरूमध्ये कतिले गरे, र एकै दिनमा तेईस हजार मरे। 9 अनि हामी ख्रीष्टलाई परीक्षा नगरौं, जसरी तिनीहरूमध्ये पनि कतिले परीक्षा गरे, र साँपहरूद्वारा नष्ट भए। 10 अनि तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये पनि कतिले गनगन गरे, र नष्ट गर्नेद्वारा नष्ट पारिए। 11 अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे, र हाम्रै चेताउनीका निम्ति लेखिएका हुन्, जसमाथि संसारका अन्तहरू आइपुगेका छन्। 12 यसकारण जसले ‘म खड़ा छु’ भनी सम्झन्छ, त्यो होशियार रहोस्, नत्र त्यो लड़्नेछ। 13 मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू कुनै परीक्षा तिमीहरूमाथि आइपरेको छैन; तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनि बनाउनुहुनेछ।मूर्तिपूजादेखि भाग!
14 यसकारण मेरा प्रियहरूहो, मूर्तिपूजादेखि भाग! 15 बुद्धिमान् मानिसहरूसँग बोलेझैं म बोल्दछु; म जे भन्दछु, त्यो कुरा जाँच! 16 के त्यो आशिष्को कचौरा, जसका निम्ति हामी आशिष् माग्छौं, ख्रीष्टको रगतको सहभागीता होइन र? के त्यो रोटी, जसलाई हामी भाँच्छौं, ख्रीष्टको शरीरको सहभागीता होइन र? 17 किनकि हामी, धेरै भए तापनि एउटै रोटी, एउटै शरीर हौं; किनकि हामी सबैजना एउटै रोटीबाट भाग लिन्छौं। 18 शरीरअनुसार जो इस्राएल हो, उसलाई हेर! के ती बलिहरूबाट खानेहरू वेदीका सहभागी होइनन् र? 19 तब म के भनिरहेको छु त? के मूर्ति केही चीज हो? अथवा के मूर्तिलाई बलिदान चढ़ाइएको वस्तु केही चीज हो? 20 तर म भन्दछु: जुन चीजहरू अन्यजातिहरूले बलि चढ़ाउँछन्, ती चीजहरू तिनीहरूले परमेश्वरलाई होइन, तर दुष्ट आत्माहरूलाई चढ़ाउँछन्; र तिमीहरू दुष्ट आत्माहरूसित सहभागी होओ भन्ने म चाहँदिनँ। 21 तिमीहरूले प्रभुको कचौराबाट, साथै दुष्ट आत्माहरूको कचौराबाट पिउन सक्दैनौ; तिमीहरूले प्रभुको टेबलबाट, साथै दुष्ट आत्माहरूको टेबलबाट भाग लिन सक्दैनौ। 22 अथवा के हामी प्रभुलाई रिसघ उठाउँछौं? के हामी उहाँभन्दा बलिया छौं?
सबै कुरा प्रभुको महिमाका लागि गर!
23 सबै कुराहरू मेरा निम्ति उचित त छन्, तर सबै कुराहरू फाइदा दिने हुँदैनन्; सबै कुराहरू मेरा निम्ति उचित त छन्, तर सबै कुराहरूले उन्नति गर्दैनन्। 24 कुनै मानिसले पनि आफ्नै भलाइ नखोजोस्, तर हरेकले अर्काको भलाइको खोजी गरोस्। 25 मासुको बजारमा जे बिक्री हुन्छ, त्योचाहिँ विवेकका निम्ति केही सोधपुछ नगरीकन खाओ; 26 किनकि ‘पृथ्वी र यसको भरपूरी परमप्रभुकै हुन्।’ङ 27 अनि विश्वास नगर्नेहरूमध्ये कसैले तिमीहरूलाई निम्तो गर्यो भने, र तिमीहरूले जाने इच्छा गर्यौ भने तिमीहरूको अघि जे राखिन्छ, त्योचाहिँ विवेकका निम्ति केही सोधपुछ नगरीकन खाओ! 28 तर कसैले तिमीहरूलाई ‘यो त मूर्तिहरूलाई बलिदान चढ़ाएको चीज हो’ भन्यो भने त्यस बताउने मान्छेको खातिर र विवेकका निम्ति नखाओ; किनकि ‘पृथ्वी र यसको भरपूरी परमप्रभुकै हुन्।’ 29 तर म भन्दछु, विवेकचाहिँ तिम्रो होइन, तर अर्को मानिसको। तब मेरो स्वतन्त्रता अर्को मानिसको विवेकद्वारा किन जाँचिन्छ त? 30 तर मैले धन्यवाद दिएर भाग लिएँ भने, जुन कुराका निम्ति म धन्यवाद दिन्छु, त्यस कुराका लागि मेरो बदनामी किन गरिन्छ त? 31 यसकारण चाहे तिमीहरू खाओ, चाहे पिओ, चाहे तिमीहरू जेसुकै गर, सबै कुराहरू परमेश्वरकै महिमाका निम्ति गर! 32 तिमीहरूले ठेस नखुवाओ, न यहूदीहरूलाई, न ग्रीकहरूलाई, न ता परमेश्वरको मण्डलीलाई; 33 जसरी म पनि तिनीहरूले मुक्ति पाऊन् भनेर आफ्नै फाइदा खोज्दिनँ, तर धेरैजनाको फाइदा खोज्दै सबै मानिसहरूलाई सबै कुरामा खुशी राख्दछु।