पवित्र जनहरूका निम्ति हुने चन्दाको विषयमा प्रेरित पावलको आदेश
16
अब पवित्र जनहरूका निम्ति चन्दाको सम्बन्धमा, जस्तो मैले गलातियाका मण्डलीहरूलाई आज्ञा दिएको छु, त्यस्तै तिमीहरूले पनि गर: 2 हप्‍ताको पहिलो दिनमा तिमीहरूमध्ये हरेकले, जुन-जुन कुरामा उसलाई फलिफाप हुन्छ, त्यहीअनुसार जम्मा पारेर आफूसँग राखोस्, र म आउँदाखेरि चन्दा उठाउने कामहरू नहोऊन्। 3 अनि जब म आउँला, तब जस-जसलाई तिमीहरूले पत्रहरूद्वारा योग्य ठहराऔला, तिनीहरूलाई म यरूशलेममा तिमीहरूको दान पुर्‍याउनका निम्ति पठाइदिनेछु। 4 अनि म पनि जानु उचित छ भने तिनीहरू मसँग जानेछन्। 5 अब म्यासिडोनिया भएर जाँदाखेरि म तिमीहरूकहाँ आउनेछु; किनकि म म्यासिडोनिया भएर जान्छु नै। 6 अनि सायद म तिमीहरूसित रहनेछु, अथवा म जता जाउँला, त्यस यात्रामा तिमीहरूले मलाई केही परसम्म पुर्‍याइदिन्छौ कि भनी म जाड़ो महिना पनि काट्नेछु। 7 किनकि अहिले म तिमीहरूलाई बाटोमा भेट्न चाहन्‍नँ; तर प्रभुले अनुमति दिनुभयो भने तिमीहरूसँग केही समयसम्म रहने आशा म गर्दछु। 8 तर पेन्टेकोस्टको दिनसम्म म एफेससमा रहनेछु। 9 किनकि मेरा निम्ति ठूलो र प्रभावकारी ढोका खोलिएको छ, तर विरोधीहरू धेरै छन्।
10 अब तिमोथी आइपुगे भने याद गरिराख: तिनी तिमीहरूसँग विनाडर रहून्; किनकि तिनले पनि मैले गरेजस्तै प्रभुको काम गर्दछन्। 11 यसकारण कसैले तिनलाई तुच्छ नठानोस्; तर तिनलाई शान्तिसित पठाइदेओ, र तिनी मकहाँ आऊन्; किनभने भाइहरूसित म तिनलाई पर्खिरहेको छु। 12 अब भाइ अपोल्‍लोसको विषयमा, तिनी भाइहरूसँग तिमीहरूकहाँ आइदिऊन् भनी मैले तिनलाई खूबै अनुरोध गरें, तर यसपालि आउनका निम्ति तिनलाई पटक्‍कै इच्छा भएन; तर जब तिनले मौका पाउलान्, तब तिनी आउनेछन्।
आखिरी प्रोत्साहन
13 जागा रहो, विश्‍वासमा बलियो गरी उभ, पुरुषार्थ देखाओ, बलिया होओ! 14 तिमीहरूका सबै कुराहरू प्रेमसाथ गरिऊन्। 15 हे भाइहरूहो, म तिमीहरूलाई विन्‍ती गर्दछु, (तिमीहरू स्टिफनसको घरानालाई चिन्छौ, जुन घराना अखैयाको पहिलो फल हो, र तिनीहरूले पवित्र जनहरूको सेवाका निम्ति आफैलाई अर्पेका छन्), 16 तिमीहरू यस्ताहरूको अधीनतामा बस, साथै हामीसँग काम गर्ने र मेहनत गर्ने हरेकको अधीनतामा बस! 17 स्टिफनस, फोर्टूनाटुस र अखैकस यहाँ आएकामा म आनन्दित छु; किनकि तिमीहरूबाटको कमी तिनीहरूले पूरा गरिदिएका छन्। 18 किनभने तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई शीतल पारिदिएका छन्; यसकारण यस्ताहरूलाई आदर गर! 19 एशियाका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। आफ्नो घरमा भएको मण्डलीको साथमा अक्विला र प्रिस्किल्‍लाले प्रभुमा तिमीहरूलाई धेरै सलाम पठाएका छन्। 20 सबै भाइहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर! 21 म पावलद्वारा आफ्नै हातले लेखेको सलाम!
22 यदि कसैले प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हाम्रा प्रभु आउनुहुन्छ! 23 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्! 24 ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।