प्रेरित पावलको रोम-यात्रा
27
अनि जब समुद्र-यात्रा गरी हामी इटाली जानुपर्छ भन्ने निर्णय भयो, तब तिनीहरूले पावल र अरू कति कैदीहरूलाई अगस्टसको पल्टनका एकजना युलियस नामका सुबेदारको जिम्मामा सुम्पिदिए। 2 अनि एशियाको किनारै-किनारका ठाउँहरूबाट भएर जान लागेको अड्रामिट्टेयमको जहाजमा चढ़ेपछि हामीले यात्रा शुरु गर्यौं; अरिस्टार्खस नाम भएका थेस्सलोनिकाका एकजना म्यासिडोनी मानिस पनि हामीसँग थिए। 3 अनि भोलिपल्ट हामी सिडोनमा उत्रियौं। अनि युलियसले पावललाई दयालु व्यवहार गरे र आराम पाउनका निम्ति उनलाई आफ्ना साथीहरूकहाँ जाने अनुमति दिए। 4 अनि जब हामीले त्यहाँबाट जहाजको यात्रा शुरु गर्यौं, तब हावा हाम्रो विरोधमा चलिरहेको हुनाले साइप्रसको आड़ लागेर गयौं। 5 अनि सिलिसिया र पाम्फिलियाको समुद्रबाट यात्रा गरेर हामी लुसियाको एउटा शहर, मुरामा आइपुग्यौं। 6 अनि त्यहाँ ती सुबेदारले इटाली जाने अलेक्जान्ड्रियाको एउटा जहाज पाए, र उनले हामीलाई त्यसमा चढ़ाए। 7 अनि हामीले धेरै दिनसम्म बिस्तारै-बिस्तारै यात्रा गरेपछि कठिनसँग क्निदुसको सामु आइपुग्यौं; अनि हावाले हामीलाई अघि जान नदिएको हुनाले हामी साल्मोनेको सामुन्ने क्रेटको आड़ लागेर गयौं। 8 अनि यसको किनारै-किनार कठिनसँग यात्रा गर्दै हामी ‘सुन्दर बन्दरगाह’ भनिने ठाउँमा आइपुग्यौं; त्यसको नजिकैमा लास्या शहर थियो।9 अनि जब धेरै समय बित्यो, अनि उपवासको दिनक अघि नै बितिसकेको हुनाले समुद्र-यात्रा गर्न खतरनाक भइसकेको थियो, तब पावलले तिनीहरूलाई सम्झाए, 10 र तिनीहरूलाई भने: “हजुरहरूहो, म देख्दछु, यस समुद्र-यात्रामा विपत्ति र धेरै हानि हुनेछ, मालताल र जहाजको मात्र होइन, तर हाम्रा ज्यानहरूको पनि।” 11 तरै पनि ती सुबेदारले पावलद्वारा भनिएका कुराहरूभन्दा जहाजचालक र जहाजको मालिकलाई नै बेसी पत्यार गरे। 12 अनि त्यो बन्दरगाहचाहिँ जाड़ो काट्नका लागि सुविधापूर्ण नभएको हुनाले, जाड़ो काट्नका निम्ति कुनै न कुनै प्रकारले फोनिक्ससम्म पुग्न सक्छौं कि भनी धेरैजसोले जहाज खोलेर त्यहाँबाट पनि हिँड़्ने सल्लाह दिए। त्योचाहिँ क्रेटको एउटा बन्दरगाह हो, जुन बन्दरगाह दक्षिण-पश्चिम र उत्तर-पश्चिमपट्टि खुलेको छ।
13 अनि जब दक्षिणी हावा बिस्तारै बहन लाग्यो, तब तिनीहरूले आफ्नो उद्देश्य प्राप्त गर्यौं भन्ठानेर त्यहाँबाट जहाज खोली क्रेटको किनारै-किनार लागे। 14 तर थोरै समयपछि यसको विपरीत ‘ओइरोक्लूडोन’ख भनिने आँधीबेहरी चल्न थाल्यो। 15 अनि जब जहाज त्यसमा फस्यो, र त्यसले तुफानको सामना गर्न सकेन, तब हामीले त्यसलाई छोड़िदियौं, र हामी बहँदै गयौं। 16 अनि क्लाउडा नाम भएको कुनै एउटा टापुको आड़मा बहँदै जाँदा हामीले मुस्किलले डुङ्गालाईग आफ्नो वशमा ल्याउन सक्यौं। 17 त्यसलाई माथि उठाएपछि जहाजलाई मुनिबाट फन्को मारेर बाँध्दाहुँदि तिनीहरूले लठारोहरू काममा लाए; अनि बालुवाको धापमा भासिन्छौं कि भन्ने डरले तिनीहरूले पाल उतारे, र यसरी बहँदै गए। 18 अनि आँधीबेहरीद्वारा हामी साह्रै हुत्त्याइएका हुनाले भोलिपल्ट तिनीहरूले जहाजलाई हलुकोघ पारे; 19 अनि तेस्रो दिनमा हामीले आफ्नै हातले जहाजमा चलाइने सरसामानहरू फ्याँकिदियौं 20 अनि जब धेरै दिनसम्म न ता घाम न ता ताराहरू नै देखा परे, र ठूलो आँधीबेहरीले हामीलाई छोप्यो, तब त बाँचौंला भन्ने सबै आशा नै हरायो।
21 तर धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावलले तिनीहरूको बीचमा उभिएर भने: “हजुरहरूहो, तपाईंहरूले मेरो कुरा सुन्नुपर्नेथियो, अनि क्रेटबाट जहाज नखोल्नुपर्थ्यो, र यो विपत्ति र हानि भोग्नुपर्नेथिएन। 22 अनि अब म तपाईंहरूलाई उत्साह दिन्छु; आनन्दित हुनुहोस्, किनकि यस जहाजबाहेक तपाईंहरूको बीचमा कसैको प्राणको हानि हुनेछैन। 23 किनकि जुन परमेश्वरको म हुँ र जसको सेवा म गर्दछु, उहाँकै दूत आज राती यसो भन्दै मेरो छेउमा खड़ा भए, 24 ‘हे पावल, नडराऊ; तिमी सिजरको सामु खड़ा हुनैपर्छ; अनि हेर, तिमीसँग जहाजमा यात्रा गर्ने यी सबैलाई परमेश्वरले तिमीलाई दिनुभएको छ।’ 25 यसैकारण हजुरहरूहो, आनन्दित हुनुहोस्, किनकि म परमेश्वरलाई विश्वास गर्दछु; जस्तो मलाई भनिएको छ, त्यस्तै नै हुनेछ। 26 तरै पनि कुनै एउटा टापुमा हामी पर्नैपर्छ।”
27 तर जब चौधौं रात आयो, अनि हामी आड्रियाको समुद्रमा यता र उता हुत्तिँदै गइरहेको बेलामा, आधा राततिर मल्लाहहरूले हामी कुनै जमिनको नजिकै आइपुगिरहेछौं भन्ने अनुमान लगाए; 28 अनि पानीको गहिराइ नाप्दा एक सय बीस फीट पाए, अनि अलिक पर गएपछि तिनीहरूले फेरि नापे, र नब्बे फीट पाए। 29 तब कहीं हामी चट्टानहरूमाथि बजारिन्छौं कि भन्ने डरले तिनीहरूले जहाजको पछिल्लो भागबाट चारवटा लङ्गर खसाले, र दिन आओस् भन्ने चाहना गर्दै रहे। 30 अनि जब मल्लाहहरूले जहाजबाट भाग्ने इच्छा गरे र जहाजको अघिल्लो भागबाट लङ्गरहरू खसाल्ने बहाना गरी डुङ्गालाई समुद्रमा ओराले, 31 तब पावलले सुबेदार र सिपाहीहरूलाई भने: “यिनीहरू जहाजमा रहेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।” 32 तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए र त्यसलाई खसालिदिए।
33 अनि दिनको मिरमिरे उज्यालो खस्नै लाग्दा पावलले तिनीहरू सबैलाई यसो भन्दै खाना खानका लागि विन्ती गरे: “तपाईंहरूले केही नखाईकनै उपवास बसेर पर्खनुभएको पनि आज चौधौं दिन हो। 34 यसकारण म तपाईंहरूलाई केही खाना लिनुहोस् भनी विन्ती गर्दछु, किनकि यो तपाईंहरूकै बचाउका निम्ति हो; किनभने तपाईंहरूमध्ये कसैको शिरबाट एउटा केश झर्नेछैन।” 35 अनि यी कुराहरू भनेपछि उनले रोटी लिए, र ती सबैको सामु परमेश्वरलाई धन्यवाद चढ़ाए; अनि त्यसलाई भाँचेर उनले खान थाले। 36 तब तिनीहरू सबै आनन्दित भए, र तिनीहरूले पनि केही खानेकुरा खाए। 37 अनि त्यस जहाजमा हामी जम्माजम्मी दुई सय छयहत्तरजना थियौं। 38 अनि खाएर तृप्त भएपछि तिनीहरूले गहुँ समुद्रमा फ्याँकेर जहाजलाई हलुको पारे।
39 अनि जब दिन भयो, तब तिनीहरूले त्यो देश चिन्न सकेनन्; तर तिनीहरूले किनार भएको कुनै एउटा सानो खाड़ी भेट्टाए; त्यसै भित्र, सम्भव भएमा तिनीहरूले त्यस जहाजलाई हुल्ने संकल्प गरे। 40 अनि तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा छोड़िदिए, साथै पतवारका बन्धनहरू पनि फुकाइदिए, र हावाका निम्ति मुख्य पाल चढ़ाएर तिनीहरू किनारतिर लागे। 41 अनि दुईवटा समुद्र भेट हुने ठाउँमा परेर तिनीहरूले त्यस जहाजलाई जमिनमा भसाइपठाए; अनि जहाजको अघिल्लो भाग बलियो गरी गाड़ियो र चल्दै नचल्ने भएर बस्यो; तर पछिल्लो भागचाहिँ छालहरूको धक्काले भत्कियो। 42 अनि कैदीहरूमध्ये कोही पनि पौड़ेर नजाओस् र नउम्कोस् भनेर तिनीहरूलाई मार्ने सिपाहीहरूको मतो भयो। 43 तर पावललाई बचाउने इच्छा गरेर सुबेदारले तिनीहरूलाई तिनीहरूको मनसाय पूरा गर्न दिएनन्; र तिनले पौड़ी खेल्न सक्नेहरूचाहिँ पहिले समुद्रमा हाम फालून् र जमिनमा उत्रून्, 44 र बाँकी रहेकाहरूचाहिँ, कोही फल्याकहरूमा र कोही जहाजका भत्केका टुक्राहरूमा जाऊन् भन्ने आज्ञा दिए। अनि यस्तो भयो: तिनीहरू सबै सुरक्षासाथ जमिनमा उत्रे।