राजा अग्रिप्पाको सामु प्रेरित पावलको प्रतिवाद
26
तब अग्रिप्पाले पावललाई भने: “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो पक्षमा बोले: 2 “हे राजा अग्रिप्पा, यहूदीहरूले ममाथि लगाएका सबै दोषहरूको विषयमा आज मैले हजुरको सामु आफ्नो पक्षमा बोल्न पाएकोमा म आफूलाई धन्यको सम्झन्छु। 3 विशेष गरेर यसकारणले कि यहूदीहरूको बीचमा भएका सबै रीतिविधिहरू र सवालहरूको विषयमा हजुर सिपालु हुनुहुन्छ। यसकारण मेरो कुरा धीरजसँग सुनिदिनुहोला भनी म हजुरलाई विन्ती गर्दछु। 4 यरूशलेममा, मेरो आफ्नै जातिको बीचमा, शुरुदेखि व्यतीत भएको बालककालदेखिको मेरो जीवनको चालचलनको विषयमा सबै यहूदीहरूलाई थाहा छ। 5 यदि तिनीहरू गवाही दिन चाहन्छन् भने – मचाहिँ हाम्रो धर्मको सबैभन्दा कड़ा पन्थमुताबिक एउटा फरिसी भएर जिएको थिएँ भनेर तिनीहरूले शुरुदेखि नै मलाई चिनेका छन्। 6 अनि परमेश्वरद्वारा हाम्रा पुर्खाहरूलाई दिइएको प्रतिज्ञाको आशाका निम्ति अहिले म खड़ा छु र मेरो न्याय हुँदैछ। 7 हाम्रा बाह्र कुलहरूले यत्नपूर्वक रातदिन परमेश्वरको सेवा गर्दै यही प्रतिज्ञा प्राप्त गर्ने आशा गर्दछन्। यही आशाकै निम्ति, हे राजा अग्रिप्पा, म यहूदीहरूद्वारा दोष लगाइएको हुँ। 8 परमेश्वरले मरेकाहरूलाई बौराएर उठाउनुहुन्छ भन्ने कुरा तपाईंहरूका निम्ति किन विश्वास गर्न नसकिने मानिन्छ?9 नासरतका येशूको नामको विरोधमा मैले धेरै कुराहरू गर्नुपर्छ भनी साँच्ची नै म आफैले सोचेको थिएँ। 10 यो कुरा मैले यरूशलेममा पनि गरें; अनि मुख्य पूजाहारीहरूबाट अधिकार पाएर पवित्र जनहरूमध्ये धेरैलाई मैले झ्यालखानाहरूभित्र थुनें; अनि उनीहरू मारिँदा म उनीहरूको विरोधमा सहमति दिन्थें। 11 अनि हरेक सभाघरमा बारम्बार उनीहरूलाई दण्ड दिँदै म उनीहरूलाई येशूको नामको निन्दा गर्न कर लाउँथें; अनि उनीहरूको विरोधमा रिसले आगो भएर मैले बाहिरका शहरहरूसम्म पनि उनीहरूलाई सताएँ। 12 त्यही समयमा म मुख्य पूजाहारीहरूबाट अधिकार र अनुमति लिएर दमस्कसतिर जाँदा, 13 तब हे राजा, बाटोमा मैले मध्यदिनमा घामको तेजभन्दा पनि चम्किलो आकाशबाटको ज्योति मेरो र मसँग यात्रा गर्नेहरूको वरिपरि चम्केको देखें। 14 अनि जब हामी सबैजना भुइँमा पछारियौं, तब मैले एउटा आवाज मसँग बोलिरहेको र हिब्रू भाषामा यसो भनिरहेको सुनें, ‘शाउल, शाउल, तिमी मलाई किन सताउँछौ? सुइराहरूमा लात हान्नु तिम्रा निम्ति कठिन छ।’ 15 अनि मैले भनें, ‘तपाईं को हुनुहुन्छ, प्रभु?’ अनि उहाँले भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताउँछौ। 16 तर उठ र आफ्ना पाउहरूमा उभ; किनभने तिमीलाई तिमीले देखेका कुराहरूको सेवक र साक्षी बनाउने उद्देश्यले म तिमीकहाँ देखा परेको हुँ, साथै ती कुराहरूको पनि, जसका निम्ति म तिमीकहाँ देखा पर्नेछु। 17 र म तिमीलाई तिम्रो आफ्नै जातिबाट र अन्यजातिहरूबाट छुटकारा दिनेछु, जसकहाँ अब म तिमीलाई पठाउँछु – 18 तिनीहरूका आँखाहरू खोल्नका लागि, अनि तिनीहरूलाई अन्धकारबाट ज्योतिकहाँ र शैतानको अधिकारबाट परमेश्वरकहाँ फिराउनका लागि; र तिनीहरूले पापहरूको क्षमा र ममाथि राखिएको विश्वासद्वारा पवित्र पारिएकाहरूको बीचमा पैतृक सम्पत्ति पाऊन्।’ 19 यसकारण हे राजा अग्रिप्पा, त्यस स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। 20 तर पहिले दमस्कसमा भएकाहरूलाई, अनि यरूशलेम र यहूदियाको इलाकामा, र अन्यजातिहरूलाई ‘पश्चात्ताप गर र परमेश्वरकहाँ फर्क, अनि पश्चात्ताप लायकका कामहरू गर!’ भन्दै प्रचार गरें। 21 यिनै कारणहरूले गर्दा यहूदीहरूले मलाई मन्दिरमा पक्रे र मार्न कोशिश गरे। 22 यसकारण परमेश्वरबाट सहायता पाएर ठूला र साना दुवैलाई गवाही दिँदै म आजको दिनसम्म खड़ा छु; अनि भविष्यवक्ताहरू र मोशाले ‘हुनेछन्’ भनी भनेका कुराहरूबाहेक मैले अरू कुनै कुरा भनिनँ, 23 अर्थात् ख्रीष्टले दुःख भोग्नुपर्छ, र मरेकाहरूबाट बौरेर उठ्नुमा उहाँ पहिलो हुनुपर्छ, अनि उहाँले आफ्नो जाति र अन्यजातिहरूलाई ज्योतिको प्रचार गर्नुपर्छ।”
24 अनि जब आफ्नो पक्षमा उनले यी कुराहरू बोले, तब फेस्टसले ठूलो सोरले भने: “पावल, तिमी पागल हौ, धेरै विद्याले तिमीलाई पागल बनाएको छ!” 25 तर उनले भने: “म पागल होइनँ, हे माननीय फेस्टस, तर म त सत्य र होशका कुराहरू पो बोल्दैछु। 26 किनभने राजाले यी कुराहरूको विषयमा जान्नुहुन्छ, जसको सामु चाहिँ म निर्धक्कसँग बोल्दैछु; किनकि यी कुराहरूमध्ये एउटै पनि उहाँबाट लुकेर बसेको छ जस्तो मलाई लाग्दैन; किनकि यो कुरा कुनामा घटेको होइन। 27 हे राजा अग्रिप्पा, के हजुर भविष्यवक्ताहरूलाई विश्वास गर्नुहुन्छ? म जान्दछु, हजुरले विश्वास गर्नुहुन्छ।” 28 तब अग्रिप्पाले पावललाई भने: “यति थोरैमा तिमी मलाई ख्रीष्टियान बनाउने जोर गर्दछौ!” 29 अनि पावलले भने: “चाहे थोरैमा होस् चाहे धेरैमा, हजुर मात्र होइन, तर आज मेरो कुरा सुन्नेहरू सबै यी बन्धनहरूबाहेक मजस्तो छु, त्यस्तै होऊन् भनी म परमेश्वरसित प्रार्थना गर्दछु।” 30 अनि जब उनले यी कुराहरू भने, तब राजा, राज्यपाल, बेर्निके र उनीहरूसँग बस्नेहरू उठे; 31 अनि एकातिर गएर उनीहरूले आपसमा यसो भन्दै कुरा गरे: “यस मानिसले मारिन वा बन्धनमा राखिन लायकको केही पनि गरेको छैन।” 32 तब अग्रिप्पाले फेस्टसलाई भने: “यस मानिसले सिजरलाई उजुर नचढ़ाएको भए छुटकारा पाउन सक्नेथियो।”