प्रेरित पावल राज्यपाल फेस्टसको सामु
25
अनि जब फेस्टस त्यस प्रान्तमा आए, तब तीन दिनपछि तिनी सिजरियाबाट उँभो यरूशलेम गए। 2 तब महापूजाहारी र यहूदीहरूका मुख्य-मुख्य मानिसहरूले तिनलाई पावलको विरोधमा कुरा सुनाए, 3 र ‘त्यसलाई यरूशलेममा बोलाइपठाउनुहोला’ भनी उनको विरोधमा कृपाको चाहना गर्दै तिनलाई विन्‍ती चढ़ाए; किनकि उनलाई मार्नका निम्ति तिनीहरू बाटोमा ढुकेर बसेका थिए। 4 तर फेस्टसले जवाफ दिए: “पावल सिजरियामै पहरामा रहनुपर्छ, र म आफै पनि चाँड़ै त्यहाँ जान लागेको छु। 5 यसकारण तिमीहरूमध्ये जो-जो मुख्य छन्, ती मसँग झरून्, र त्यस मानिसमा कुनै दुष्‍टता छ भने त्यसलाई दोष लगाऊन्”, तिनले भने। 6 अनि तिनीहरूको बीचमा दस दिनभन्दा बढ़ी बसेर तिनी सिजरियामा झरे; अनि भोलिपल्ट न्यायआसनमा बसेर तिनले पावललाई ल्याउनू भनी आज्ञा दिए। 7 अनि जब उनी आए, तब यरूशलेमबाट झरेका यहूदीहरू वरिपरि उभिए, र पावलको विरोधमा धेरै र भारी दोषहरू लगाए, जसको प्रमाण तिनीहरूले दिन सकेनन्। 8 आफ्नो पक्षमा जवाफ दिँदै उनले भने: “मैले न ता यहूदीहरूको व्यवस्थाको विरोधमा, न मन्दिरको विरोधमा, न ता सिजरको विरोधमा नै कुनै अपराध गरेको छु।” 9 तर यहूदीहरूलाई खुशी पार्ने इच्छा राखेर फेस्टसले पावललाई जवाफ दिँदै भने: “के तिमी माथि यरूशलेम जान र त्यहाँ मेरो सामु यी कुराहरूको विषयमा न्याय गरिन राजी छौ?” 10 तब पावलले भने: “म त सिजरको न्यायआसनको सामु उभिरहेको छु; यहीं मेरो न्याय हुनुपर्दछ। मैले यहूदीहरूलाई कुनै खराबी गरेको छैनँ, यो तपाईं आफै राम्ररी जान्‍नुहुन्‍छ। 11 किनकि म अपराधी छु भने वा मैले मारिन लायकको कुनै काम गरेको छु भने म मर्नलाई इन्कार गर्दिनँ; तर यिनीहरूले मलाई जे-जे दोष लगाएका छन्, ती कुराहरूमध्ये कुनै पनि सत्य होइन भने कसैले पनि मलाई यिनीहरूको हातमा सुम्पन सक्नेछैन। म सिजरलाई उजुर चढ़ाउँछु।” 12 तब फेस्टसले मन्‍त्रिमण्डलसँग सल्‍लाह गरेर जवाफ दिए: “तिमीले सिजरलाई उजुर चढ़ाएका छौ, तिमी सिजरकहाँ नै जानू!”
प्रेरित पावललाई राजा अग्रिप्पाको सामु ल्‍याइन्‍छ
13 अनि केही दिनपछि राजा अग्रिप्पा र बेर्निके सिजरियामा आएर फेस्टसलाई भेट गरे। 14 अनि उनीहरू त्यहाँ धेरै दिनसम्म रहेपछि फेस्टसले पावलका कुराहरू राजालाई यसो भन्दै बताइदिए: “फेलिक्सद्वारा बन्धनमा छोड़िएको कुनै एउटा मानिस यहाँ छ, 15 जसको विषयमा, म यरूशलेममा हुँदा मुख्य पूजाहारीहरू र यहूदीहरूका बूढ़ा प्रधानहरूले उसको विरोधमा न्याय होस् भनी विन्‍ती गर्दै मलाई उजुर चढ़ाए। 16 तिनीहरूलाई मैले ‘दोष लगाइएको व्यक्तिले दोष लाउनेहरूलाई आमुन्‍ने-सामुन्‍ने भेटेर आफ्नो विरोधमा लगाइएको आरोपको विषयमा आफ्ना निम्ति जवाफ दिने मौका पाउनुभन्दा अघि कुनै पनि मानिसलाई मर्नका निम्ति सुम्पिदिने रोमीहरूको दस्तुर छैन’ भनी जवाफ दिएँ। 17 यसकारण जब तिनीहरू यहाँ भेला भए, तब ढिलो नगरीकन, भोलिपल्टै म न्यायआसनमा बसें, र त्यो मान्छे ल्याइयोस् भनी आज्ञा दिएँ। 18 उसको विरोधमा जब दोष लाउनेहरू उभिए, तब मैले जस्तो सोचेको थिएँ, त्यस्तो त तिनीहरूले एउटै पनि दोष लगाएनन्; 19 तर उसको विरोधमा चाहिँ तिनीहरूकै धर्म र एकजना येशूको विषयमा केही सवालहरू उठाए; ऊचाहिँ मरेको रहेछ, तर पावलले चाहिँ, ऊ जिउँदो भएको छ भनी पक्‍का ठहराउँथ्यो। 20 यस किसिमका प्रश्‍नहरूको कारणले म अलमल्‍ल परेको हुनाले कहीं ऊ यरूशलेम जान्छ कि र त्यहाँ यी कुराहरूको विषयमा न्याय गरिन चाहन्छ कि भनी मैले उसलाई सोधें। 21 तर पावलले ‘अगस्टसकै न्यायका लागि मलाई राखिदिनुहोस्’ भनी उजुर चढ़ाएपछि मैले उसलाई सिजरकहाँ नपठाउन्जेल उसलाई पहरामा राख्‍नू भनी आज्ञा दिएँ।” 22 तब अग्रिप्पाले फेस्टसलाई भने: “म आफै पनि त्यस मान्छेको सुन्‍न चाहन्थें।” अनि तिनले भने: “भोलि तपाईंले उसको सुन्‍नुहोला।”
23 अनि भोलिपल्ट जब अग्रिप्पा र बेर्निके बड़ो ठाँटबाँटसँग आए, अनि उनीहरू मुख्य कप्‍तानहरू र शहरका मुख्य-मुख्य मानिसहरूको साथमा त्यस उजुर सुन्‍ने ठाउँभित्र पसे, तब फेस्टसको आज्ञामा पावल ल्याइए। 24 अनि फेस्टसले भने: “हे राजा अग्रिप्पा, र यहाँ हामीसँग हाजिर हुनुहुने सबै जनहरूहो, तपाईंहरू यस मानिसलाई देख्‍नुहुन्छ, जसको विषयमा यहूदीहरूको सारा भीड़ले यरूशलेममा र यहाँ पनि ‘यसले अब उसो जिउनैहुँदैन’ भन्दै कराई-कराईकन मलाई विन्‍ती गरेको छ। 25 तर उसले त मारिन लायकको कुनै काम गरेको रहेनछ भनी जब मैले थाहा पाएँ, र ऊ आफैले पनि जब अगस्टसलाई उजुर चढ़ायो, तब मैले उसलाई पठाइदिने निर्णय गरेको छु। 26 उसको विषयमा मेरा मालिकलाई लेख्‍ने कुनै निश्‍चित कुरा मसँग छैन। यसकारण जाँचबुझ भइसकेपछि मसँग लेख्‍ने कुरा केही होस् भनेर मैले उसलाई तपाईंहरूको सामु र विशेष गरी हे राजा अग्रिप्पा, तपाईंको सामु ल्याएको छु। 27 किनभने कैदीलाई चाहिँ पठाउनु, तर उसको विरोधमा लगाइएका दोषहरूचाहिँ नदेखाउनु मलाई बेठीक लाग्छ।”