प्रेरित पावल राज्यपाल फेलिक्सको सामु
24
अनि पाँच दिनपछि महापूजाहारी हनानियाचाहिँ बूढ़ा प्रधानहरू र टेर्टुल्‍लोस नामको कुनै एकजना वक्ताको साथमा तल आए; तिनीहरूले राज्यपाललाई पावलको विरोधमा उजुर चढ़ाए। 2 अनि जब उनलाई बोलाइयो, तब टेर्टुल्‍लोसले यसो भन्दै उनलाई दोष लाउन शुरु गर्‍यो: “हजुरद्वारा हामीले ठूलो शान्ति उपभोग गरिरहेका छौं र हजुरकै प्रबन्धले गर्दा यस देशका निम्ति साह्रै असल-असल कामहरू भइरहेका छन्। 3 यो कुरा त हामी, हे माननीय फेलिक्स, सधैं र हरेक ठाउँमा सबै धन्यवादसाथ मानिलिन्छौं। 4 तरै पनि हजुरका निम्ति अब उसो झिजो नबनूँ भनेर हजुरले आफ्नो भद्रताअनुसार हाम्रा थोरै कुराहरू सुनिदिनुहोला भनी म हजुरलाई विन्‍ती गर्दछु। 5 हामीले यस मान्छेलाई एउटा महामारी फैलाउने र संसारभरि सबै यहूदीहरूको बीचमा विद्रोह मच्‍चाउने, साथै नासरीहरूको कुपन्थको मूल अगुवाको रूपमा भेट्टाएका छौं। 6 यसले मन्दिर पनि अशुद्ध पार्ने कोशिश गर्‍यो; यसलाई हामीले पक्र्यौं र हाम्रै व्यवस्थामुताबिक न्याय गर्न खोज्यौं। 7 तर मुख्य कप्‍तान लुसियस हामीकहाँ आउनुभयो, र बड़ो बलजफतीसाथ यसलाई हाम्रा हातबाट लैजानुभयो, 8 र यसलाई दोष लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा दिनुभयो। यसलाई जाँचेर हामीले यसलाई जे-जे दोष लगाएका छौं, ती सबै कुराहरूको विषयमा हजुर आफैले जान्‍नुहुनेछ।” 9 अनि यहूदीहरूले पनि ‘यी कुराहरू यस्तै हुन्’ भन्दै सहमति दिए।
राज्‍यपाल फेलिक्‍सको सामु प्रेरित पावलको प्रतिवाद
10 तब ती राज्यपालले बोल्नू भनी पावललाई इशारा गरेपछि उनले जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस जातिका न्यायाधीश हुनुभएको छ भनी थाहा पाएर म झन् आनन्दसित आफ्नो पक्षमा जवाफ दिन्छु; 11 किनभने हजुरले नै पत्ता लाउन सक्नुहुनेछ, म माथि यरूशलेममा उपासना गर्न गएको बाह्र दिनभन्दा बढ़ी भएको छैन। 12 अनि यिनीहरूले मलाई न ता मन्दिरमा कुनै मानिससँग बहस गरिरहेको, न मानिसहरूलाई उस्काइरहेको नै भेट्टाए; न ता सभाघरहरूमा, न शहरमा; 13 यिनीहरूले अहिले मलाई जे-जे कुराहरूको दोष लगाएका छन्, ती कुराहरू यिनीहरूले प्रमाणित गर्न सक्दैनन्। 14 तर यो कुराचाहिँ म हजुरको सामु मानिलिन्छु, यही ‘मार्ग’अनुसार, जसलाई यिनीहरूले कुपन्थ भन्दछन्, व्यवस्था र भविष्यवक्ताहरूमा लेखिएका सबै कुराहरू विश्‍वास गर्दै म मेरा पुर्खाहरूका परमेश्‍वरको उपासना गर्छु। 15 अनि मरेकाहरूको, दुवै धर्मीहरू र अधर्मीहरूको बौरिउठाइ हुनेछ भनी म परमेश्‍वरमा आशा राख्छु, जुन कुरा यिनीहरू आफैले पनि स्वीकार गर्दछन्। 16 अनि यसैले परमेश्‍वर र मानिसहरूप्रति विवेक सधैंभरि निर्दोष राख्‍नलाई म आफूले प्रयत्‍न गर्दछु। 17 अब धेरै वर्षपछि म आफ्नो जातिका लागि दानहरू र भेटीहरू पुर्‍याउन आएँ। 18 यही समयमा एशियाका कति यहूदीहरूले मलाई मन्दिरमा शुद्ध भएको अवस्थामा भेट्टाए, न ता भीड़को साथमा न हूलदङ्गामा भेट्टाए। 19 मेरो विरोधमा तिनीहरूको कुनै कुरा हुँदो हो त तिनीहरू यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो, र दोष लगाउनुपर्थ्यो। 20 नत्रभने म महासभाको सामु उभिँदाखेरि यिनीहरूले कुनै खराब काम ममा पाएका छन् भने सो यिनीहरूले भनून् – 21 यो एउटा आवाजबाहेक, जुनचाहिँ मैले यिनीहरूको बीचमा उभीकन कराएर भनें, ‘मरेकाहरूको बौरिउठाइको विषयमा आजको दिन तपाईंहरूद्वारा मेरो न्याय भइरहेछ!’ ”
22 अनि यस ‘मार्ग’को विषयमा फेलिक्सलाई ठीक-ठीक ज्ञान भएको हुनाले, यी कुराहरू सुनेपछि तिनले यसो भनेर तिनीहरूलाई टारिदिए: “जब मुख्य कप्‍तान लुसियस तल आउलान्, तब म तिमीहरूको कुरा पूर्ण रूपले बुझ्नेछु।” 23 अनि तिनले एउटा सुबेदारलाई ‘पावललाई पहरामा राख्‍नू, उसलाई स्वतन्‍त्रता दिनू र उसका चिनारुहरूमध्ये कसैलाई पनि उसको सेवा गर्न वा उसकहाँ आउनदेखि नरोक्नू’ भनी आज्ञा दिए।
24 अनि केही दिनपछि फेलिक्स आफ्नी पत्‍नी द्रूसिल्‍लासँग, जो यहूदी थिइन्, आएर पावललाई बोलाइपठाए, र ख्रीष्‍टमाथिको विश्‍वासको विषयमा उनको कुरा सुने। 25 अनि जब उनले धार्मिकता, आत्मसंयम र आउनेवाला न्यायको विषयमा बहस गरे, तब फेलिक्सले डराएर भने: “अहिलेलाई जाऊ, जब म मौका पाउँला, तब म तिमीलाई बोलाउनेछु।” 26 पावलबाट पैसा पाइन्छ र उनलाई छोड़िदिनुपर्ला भनी तिनले आशा पनि गरेका थिए; यसैकारण तिनले उनलाई घरीघरी बोलाइपठाउँथे र उनीसँग कुराकानी गर्थे। 27 तर दुई वर्षपछि फेलिक्सको ठाउँमा पोर्कियस फेस्टस आए; अनि फेलिक्सले यहूदीहरूलाई खुशी पार्ने इच्छा राखेर पावललाई बन्धनमै छोड़िराखे।