यहूदीहरूको महासभाको सामु प्रेरित पावलको जाँच
23
अनि पावलले डिठ लाएर महासभालाई हेर्दै भने: “मानिसहरू र भाइहरूहो, आजको दिनसम्म परमेश्‍वरको सामु मैले सबै असल विवेकसित जीवन बिताएको छु।” 2 अनि महापूजाहारी हनानियाले उनको छेउमा उभिनेहरूलाई ‘त्यसलाई मुखैमा हिर्काओ!’ भनी आज्ञा दिए। 3 तब पावलले तिनलाई भने: “हे चूना लगाइएको भित्ता, परमेश्‍वरले तपाईंलाई हिर्काउनुहुनेछ! किनकि तपाईं व्यवस्थामुताबिक मेरो न्याय गर्नलाई बस्‍नुभएको छ, अनि के तपाईं व्यवस्थाको विपरीत मलाई हिर्काउने आज्ञा दिनुहुन्छ?” 4 अनि नजिकमा उभिनेहरूले भने: “के तँ परमेश्‍वरका महापूजाहारीलाई खराब कुरा बक्‍छस्?” 5 तब पावलले भने: “हे भाइहरूहो, उहाँ महापूजाहारी हुनुहुन्छ भनी मलाई थाहा थिएन; किनकि यो लेखिएको छ, ‘तिमीले आफ्नो जातिका शासकलाई खराब शब्द नभन!’ ” 6 तर जब पावलले एक भागचाहिँ सदुकीहरू र अर्को भागचाहिँ फरिसीहरू रहेछन् भन्‍ने कुरा थाहा पाए, तब उनी महासभामा चिच्‍च्याए: “मानिसहरू र दाजुभाइहरूहो, म फरिसी हुँ, फरिसीकै छोरा हुँ; आशा र मरेकाहरूको बौरिउठाइको विषयमा मेरो न्याय भइरहेछ!” 7 अनि जब उनले त्यसो भने, तब फरिसीहरू र सदूकीहरूको बीचमा मतभेद भयो, र त्यस भीड़मा फाटो आयो। 8 किनकि सदुकीहरू भन्दछन्: ‘बौरिउठाइ हुँदैन, न ता स्वर्गदूत न आत्मा नै हुन्छन्’; तर फरिसीहरू दुवैलाई मान्दछन्। 9 अनि त्यहाँ ठूलो होहल्‍ला मच्‍चियो; अनि शास्त्रीहरूले, जो फरिसी दलका थिए, उठेर यसो भन्दै कड़ासित विवाद गरे: “हामी यस मानिसमा कुनै खराबी पाउँदैनौं; तर कुनै आत्मा वा स्वर्गदूतले यिनीसित बात गरेका छन् भने हामी परमेश्‍वरसँग लड़ाइँ नगरौं!” 10 अनि जब ठूलो मतभेद मच्‍चियो, तब कहीं पावल पो तिनीहरूद्वारा च्यातचुत पारिने हुन् कि भन्‍ने डरले मुख्य कप्‍तानले सिपाहीहरूलाई ‘तल गई तिनीहरूको बीचबाट उनलाई जबरजस्त निकाल, र उनलाई किल्‍लाभित्र ल्याओ’ भन्‍ने हुकुम दिए। 11 अनि अर्को रात प्रभुले उनको छेउमा उभिएर भन्‍नुभयो: “हे पावल, हिम्मत गर! जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ।”
प्रेरित पावलको हत्या गर्ने षड़्यन्‍त्र
12 अनि जब दिन भयो, तब यहूदीहरूमध्ये कतिले गठ बाँधे, र ‘जबसम्म हामी पावललाई मार्दैनौं, तबसम्म हामी खाँदैनौं र पिउँदैनौं’ भन्दै तिनीहरूले आफूलाई श्रापले बाँधे 13 अनि यो षड़्यन्‍त्र रच्‍नेहरू चालीसजनाभन्दा बेसी थिए। 14 अनि तिनीहरूले मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूकहाँ आएर भने: “जबसम्म हामी पावललाई मार्दैनौं, तबसम्म हामी केही खाँदैनौं भन्दै हामीले आफूलाई ठूलो श्रापले बाँधेका छौं। 15 यसकारण अब मानो तपाईंहरूले त्यसको विषयमा कुराहरू अझै ठीकसँग सोधपुछ गर्नुहुने झैं गरी तपाईंहरूले महासभाको साथमा मुख्य कप्‍तानलाई सूचना दिनुहोस्, र तिनले त्यसलाई भोलि तल तपाईंहरूकहाँ ल्याइदिऊन्; अनि त्यो नजिक आउनुभन्दा पहिले नै हामी त्यसलाई मार्न तयार छौं।” 16 अनि जब पावलको भानिजले त्यो ढुकेर बस्‍ने कुरा सुन्यो, तब ऊ गएर किल्‍लाभित्र पस्यो, र पावललाई त्यो बताइदियो। 17 तब पावलले सुबेदारहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर भने: “यस जवान मानिसलाई मुख्य कप्‍तानकहाँ पुर्‍याइदिनुहोस्, किनकि यसको उहाँलाई बताउनुपर्ने केही कुरा छ।” 18 यसकारण उनले उसलाई लगेर मुख्य कप्‍तानकहाँ पुर्‍याए, र भने: “कैदी पावलले मलाई आफूकहाँ बोलाएर यस जवान मानिसलाई तपाईंकहाँ ल्याउनका निम्ति विन्‍ती गर्‍यो; यसको तपाईंलाई भन्‍नुपर्ने केही कुरा छ।” 19 तब मुख्य कप्‍तानले उसको हात समाते, र अलग गएर सोधे: “तिमीसित मलाई भन्‍नुपर्ने कुरा के छ?” 20 अनि उसले भन्यो: “यहूदीहरूले पावलको विषयमा कति कुरा अझै पनि ठीकसँग सोध्‍ने बहाना गरी उहाँलाई भोलि तल महासभामा ल्याइदिनुहोस् भनी तपाईंलाई विन्‍ती गर्नलाई तिनीहरूले मतो मिलाएका छन्; 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोस्; किनकि तिनीहरूमध्ये चालीसभन्दा बेसी मानिसहरू उहाँलाई ढुकेर बस्छन्, जसले ‘जबसम्म हामी त्यसलाई मार्दैनौं, तबसम्म हामी खाँदैनौं र पिउँदैनौं’ भनी आफूलाई श्रापले बाँधेका छन्; अनि अहिले तपाईंबाट प्रतिज्ञाको आशा गर्दै तिनीहरू तयार बसेका छन्।” 22 यसकारण मुख्य कप्‍तानले त्यस जवानलाई कड़ा आज्ञा दिएर बिदा गरे: “तिमीले यी कुराहरू मलाई बताएका छौ भनी कसैलाई नभन्‍नू!”
प्रेरित पावल यरूशलेमबाट सिजरिया पठाइए
23 अनि तिनले आफूकहाँ दुईजना सुबेदारहरूलाई यसो भन्दै बोलाए: “दुई सय सिपाही, सत्तरी घोड़सवार र दुई सय भाला बोक्ने सिपाहीहरू रातको नौ बजे सिजरिया जानका लागि तयार पार! 24 अनि पशुहरूको प्रबन्ध गर, र पावललाई चढ़ाएर तिनीहरूले उनलाई सुरक्षासाथ राज्यपाल फेलिक्सकहाँ लैजाऊन्।” 25 अनि तिनले यस प्रकारले एउटा पत्र लेखे:
26 ‘माननीय राज्यपाल फेलिक्सलाई क्लाउडियस लुसियसको नमस्कार! 27 यो मानिस यहूदीहरूद्वारा पक्राउ पर्‍यो र तिनीहरूद्वारा मारिनै लागेको थियो; तब ऊ रोमी रहेछ भन्‍ने कुरा थाहा पाएर म फौज लिएर आएँ, र मैले उसलाई छुटाएँ। 28 अनि तिनीहरूले उसलाई किन दोष लाएका रहेछन् भन्‍ने कारण जान्‍ने इच्छा गरेर मैले उसलाई तल तिनीहरूको महासभामा ल्याएँ। 29 तिनीहरूकै व्यवस्थाका प्रश्‍नहरूको सम्बन्धमा उसलाई दोष लगाइएको रहेछ, तर मारिन वा बन्धनमा राखिन लायकको दोष त केही रहेनछ भनी मैले थाहा पाएँ। 30 अनि यहूदीहरूले यस मानिसको विरोधमा षड़्यन्‍त्र रचिरहेका छन् भन्‍ने कुरा जब मलाई सुनाइयो, तब मैले तुरुन्तै उसलाई तपाईंकहाँ पठाएँ, र उसलाई दोष लाउनेहरूलाई पनि तपाईंकै सामु उसको विरोधमा जे कुराहरू छन्, सो भनून् भनी आज्ञा दिएको छु। बिदा!’
31 तब तिनीहरूलाई आज्ञा दिएअनुसार ती सिपाहीहरूले पावललाई लिएर राती नै अन्टिपाट्रिसमा लगे। 32 भोलिपल्ट घोड़सवारहरूलाई चाहिँ उनीसँग जानका लागि छोड़िराखेर तिनीहरू किल्‍लातिर फर्के। 33 सिजरियामा आइपुगेर त्यो पत्र राज्यपाललाई चढ़ाएपछि तिनीहरूले पावललाई पनि तिनको सामु हाजिर गराए। 34 अनि जब राज्यपालले त्यो पत्र पढ़े, तब उनी कुन प्रान्तका हुन् भनी सोधे। अनि जब तिनले, उनी सिलिसियाका रहेछन् भनी थाहा पाए, 35 तब तिनले भने: “जब तिमीलाई दोष लाउनेहरूचाहिँ आउलान्, तब म तिम्रो सुन्‍नेछु।” अनि तिनले उनी हेरोदको राजभवनमा राखिऊन् भन्‍ने आज्ञा दिए।