यरूशलेममा जनताको सामु प्रेरित पावलको प्रतिवाद
22
“मानिसहरू, भाइहरू र बुबाहरूहो, अब तपाईंहरूको सामु राखिएको मेरो प्रतिवाद सुन्नुहोस्!” 2 अनि उनले तिनीहरूसित हिब्रू भाषामा बोलेका सुनेर तिनीहरू झन् चुप लागे; अनि उनले भने: 3 “म साँच्चै सिलिसियाको टार्सस शहरमा जन्मिएको यहूदी मानिस हुँ, तर पनि यही शहरमा गमलिएलको चरणमा हुर्केको हुँ, पितापुर्खाहरूको व्यवस्थाको सिद्ध रीतिमुताबिक मलाई शिक्षा दिइयो, र परमेश्वरप्रति म जोशले भरिएको थिएँ, जसरी आज तपाईंहरू सबै हुनुहुन्छ। 4 अनि दुवै पुरुष र स्त्रीहरूलाई बाँधी-बाँधीकन र झ्यालखानाहरूभित्र हाली-हालीकन मैले यस ‘मार्ग’लाई मृत्युसम्म नै सताएँ। 5 यस विषयमा महापूजाहारी र बूढ़ा प्रधानहरूको सारा सभाले नै मेरा निम्ति गवाही दिन्छन्; उहाँहरूबाट मैले भाइहरूका निम्ति पत्रहरू प्राप्त गरें, र त्यहाँ भएकाहरूलाई दण्ड दिलाउनका निम्ति बाँधेर यरूशलेममा ल्याउनलाई म दमस्कस गएँ। 6 अनि यस्तो भयो: जब मैले यात्रा गरें, र मध्यदिनतिर दमस्कसनिर आइपुगें, तब एक्कासि स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो। 7 अनि म भुइँमा पछारिएँ, र मलाई यसो भन्दै गरेको आवाज सुनें, ‘शाउल, शाउल, तिमी मलाई किन सताउँछौ?’ 8 अनि मैले जवाफ दिएँ, ‘तपाईं को हुनुहन्छ, प्रभु?’ अनि उहाँले मलाई भन्नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताउँछौ।’ 9 अनि मसँग हुनेहरूले साँच्ची नै ज्योति त देखे र डराए; तर मसँग बोल्नुहुनेको वाणीचाहिँ तिनीहरूले सुनेनन्। 10 अनि मैले भनें, ‘प्रभु, म के गरूँ त?’ अनि प्रभुले मलाई भन्नुभयो, ‘उठ, र दमस्कसमा जाऊ, अनि तिम्रा निम्ति गर्नलाई ठहराइएका सबै कुराहरूको विषयमा तिमीलाई त्यहीं बताइनेछ।’ 11 अनि ज्योतिको चमकको कारणले जब मैले देख्न सकिनँ, तब मसँग हुनेहरूका हातद्वारा डोर्याइँदै म दमस्कसमा आएँ। 12 अनि हनानिया नामका, व्यवस्थाअनुसार एकजना भक्त मानिस, जसको नाम त्यहाँ बस्ने सबै यहूदीहरूको बीचमा चलेको थियो, 13 मकहाँ आए, र छेउमा उभिएर मलाई भने, ‘भाइ शाउल, दृष्टि पाउनुहोस्!’ अनि उत्तिखेरै मैले तिनलाई देखें। 14 अनि तिनले भने, ‘हाम्रा पुर्खाहरूकाक परमेश्वरले, उहाँको इच्छा जान्न, ती धर्मीलाई देख्न र उहाँको मुखको वाणी सुन्नका निम्ति तपाईंलाई चुन्नुभएको छ। 15 किनकि तपाईंले जे देख्नुभएको र सुन्नुभएको छ, ती कुराहरूको विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ। 16 अनि अब तपाईं किन ढिलो गर्नुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि प्रभुको नाम पुकारेर आफ्ना पापहरू धुनुहोस्!’ 17 अनि यस्तो भयो: म यरूशलेम फर्केपछि मन्दिरमा मैले प्रार्थना गरिरहेको बेलामा म अचेत भएँ; 18 अनि मैले उहाँलाई, मलाई यसो भन्दै गर्नुभएको देखें, ‘हतार गर, र यरूशलेमबाट चाँड़ो निस्क; किनकि मेरो विषयमा दिइएको तिम्रो गवाही तिनीहरूले ग्रहण गर्नेछैनन्।’ 19 अनि मैले भनें, ‘हे प्रभु, तिनीहरूलाई थाहा छ, तपाईंमाथि विश्वास गर्नेहरूलाई म झ्यालखानामा हाल्थें, र हरेक सभाघरमा पिट्थें; 20 अनि तपाईंको साक्षी स्टिफनसको रगत बहाइँदा म पनि त्यहीं उभिरहेको थिएँ, र उनको हत्यामा सहमति दिइरहेको थिएँ, अनि उनलाई मार्नेहरूका लुगाको देखरेख गरिरहेको थिएँ।’ 21 अनि उहाँले मलाई भन्नुभयो, ‘जाऊ, किनकि म तिमीलाई टाढ़ा-टाढ़ा अन्यजातिहरूकहाँ पठाउनेछु।’ ”22 अनि तिनीहरूले यस शब्दसम्म चाहिँ उनको कुरा सुने, त्यसपछि तिनीहरू यसो भन्दै चर्को सोरले चिच्च्याए: “पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!” 23 अनि जब तिनीहरू चिच्च्याइरहेका र आफ्ना लुगा फ्याँकिरहेका र हावामा धूलो उड़ाइरहेका थिए, 24 तब मुख्य कप्तानले उनी किल्लाभित्र लगिऊन् भनी आज्ञा दिए, र भने: “यसलाई कोर्रा लगाएर जाँच गर, र तिनीहरू यसको विरोधमा कुन कारणले यसरी चिच्च्याएका रहेछन्, म जान्न सकूँ।” 25 अनि जब तिनीहरूले उनलाई छालाको पट्टीले बाँधे, तब पावलले नजिकैमा उभिरहेका सुबेदारलाई भने: “एउटा रोमी मानिसलाई, अझै दोषी नठहराईकन कोर्रा लाउनु के तपाईंहरूका निम्ति उचित छ?” 26 अनि जब ती सुबेदारले यो सुने, तब तिनले गएर यसो भन्दै मुख्य कप्तानलाई भने: “तपाईं के गर्दै हुनुहुन्छ, होशियार हुनुहोस्; किनकि त्यो मानिस त रोमी रहेछ।” 27 तब मुख्य कप्तानले आएर उनलाई भने: “मलाई भन, के तिमी रोमी हौ?” उनले भने: “ज्यू।” 28 अनि मुख्य कप्तानले जवाफ दिए: “धेरै पैसा तिरेर मैले यो नागरिकता प्राप्त गरें।” अनि पावलले भने: “तर म त जन्मकै रोमी हुँ।” 29 तब तुरुन्तै उनलाई जाँच गर्न लागेकाहरू उनीबाट हटिगए; अनि उनी रोमी रहेछन् भन्ने कुरा थाहा पाएपछि र तिनले उनलाई बाँधेका हुनाले मुख्य कप्तान पनि डराए।
30 अनि भोलिपल्ट, उनी किन यहूदीहरूद्वारा दोष लगाइए भन्ने खास कारण जान्ने इच्छा गरी तिनले उनलाई बन्धनबाट मुक्त गरिदिए, अनि मुख्य पूजाहारीहरूलाई र तिनीहरूका सारा महासभालाई हाजिर हुनू भनी आज्ञा दिए, र पावललाई तल ल्याएर तिनीहरूको सामु खड़ा गरे।