यरूशलेम जाने विषयमा पावललाई चेताउनी
21
अनि यस्तो भयो: तिनीहरूबाट छुट्टिएपछि हामीले जहाजको यात्रा शुरु गर्‍यौं, र हामी सीधै कोसमा आयौं, अनि अर्को दिन रोडसमा र त्यहाँबाट पटारामा; 2 अनि फोनिसिया जाने एउटा जहाज भेट्टाएर हामी त्यसमा चढ्यौं, र हिँड्यौं। 3 अनि जब साइप्रस देखा पर्‍यो, तब त्यसलाई देब्रे हातपट्टि पारेर हामीले सिरियातिर यात्रा गर्‍यौं, र टायरमा हामी उत्रियौं; किनकि त्यहाँ त्यस जहाजले माल उतार्नुपरेको थियो। 4 अनि चेलाहरूलाई भेट्टाएर हामी त्यहाँ सात दिनसम्म बस्यौं। आत्माद्वारा उनीहरूले पावललाई ‘माथि यरूशलेममा नजानुहोस्’ भनी भने। 5 अनि ती दिनहरू पूरा गरेपछि हामी निस्केर आफ्नो बाटो लाग्यौं; अनि उनीहरू सबैजना आफ्ना पत्‍नी र छोराछोरीहरूसित हामीलाई हामी शहरदेखि बाहिर नहोउन्जेल बाटोमा पुर्‍याउन आए; अनि हामीहरूले किनारमा घुँड़ा टेकेर प्रार्थना गर्‍यौं। 6 अनि एक-अर्काबाट बिदा लिएपछि हामी जहाजमा चढ्यौं र उनीहरू घर फर्के। 7 अनि टायरबाटको यात्रा पूरा गरेपछि हामी प्टोलेमाइस आइपुग्यौं र भाइहरूलाई सलाम गरेर उनीहरूसित एक दिन बस्यौं। 8 अनि भोलिपल्ट हामी पावलको साथमा रहनेहरू हिँड्यौं र सिजरियामा आइपुग्यौं, अनि सुसमाचार प्रचारक फिलिपको घरमा पस्यौं, जोचाहिँ ती सातजनामा एक थिए, र हामी तिनीसितै बस्यौं। 9 अनि तिनका चारजना कन्या छोरीहरू थिए, जसले भविष्यवाणी गर्दथे।
10 अनि धेरै दिनसम्म त्यहाँ रहँदा अगाबस नामका कुनै एकजना भविष्यवक्ता यहूदियाबाट तल आए। 11 अनि हामीकहाँ आएर तिनले पावलको पेटी लिए र आफ्नै हात र पाउहरू बाँधेर भने: “पवित्र आत्मा यसो भन्‍नुहुन्‍छ: यो पेटी जसको हो, त्यस मानिसलाई यहूदीहरूले यरूशलेममा यसरी नै बाँध्‍नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्।” 12 अनि जब हामीले यी कुराहरू सुन्यौं, तब हामीले र त्यस ठाउँमा भएकाहरूले उनलाई ‘माथि यरूशलेम नजानुहोस्’ भनी विन्‍ती गर्‍यौं। 13 तर पावलले जवाफ दिए: “रोई-रोईकन र मेरो हृदय तोड़ीकन तपाईंहरूले के गर्दै हुनुहुन्छ? किनकि प्रभु येशूको नामका निम्ति म त बाँधिन मात्र होइन, तर यरूशलेममा मर्न पनि तयार छु।” 14 अनि जब उनले हाम्रो कुरा मानेनन्, तब ‘प्रभुकै इच्छा पूरा होस्’ भन्दै हामी चुप रह्‍यौं।
15 अनि ती दिनहरूपछि सामानहरू तयार गरेर हामी उँभो यरूशलेमतिर हिँड्यौं। 16 सिजरियाका केही चेलाहरू पनि हामीसँग गए, र तिनीहरूले एकजना पुरानो चेला, साइप्रसका मनासोनलाई आफ्नो साथमा ल्याए; तिनीसँग नै हामी पाहुना भई रहनुपरेको थियो।
प्रेरित पावल यरूशलेममा
17 अनि हामी यरूशलेम आइपुग्दा भाइहरूले हामीलाई आनन्दसित स्वागत गरे। 18 अनि भोलिपल्ट पावल हामीसँग भित्र याकूबकहाँ गए; अनि सबै प्राचीनहरू हाजिर थिए। 19 अनि उनले उनीहरूलाई सलाम गरेपछि उनको सेवाद्वारा परमेश्‍वरले अन्यजातिहरूको बीचमा कस्ता-कस्ता कामहरू गर्नुभएको थियो, सो उनले एक-एक गरी बताइदिए। 20 अनि यो सुनेर उनीहरूले प्रभुको महिमा गरे र उनलाई भने: “हे भाइ, तपाईंले देख्‍नुहुन्छ, यहूदीहरूमध्ये कति हजारले विश्‍वास गरेका छन्; अनि तिनीहरू सबै व्यवस्थाका निम्ति जोशिला छन्; 21 अनि ‘आफ्ना बालकहरूको खतना नगर्नू र रीतिहरूअनुसार नचल्नू’ भन्दै तपाईंले अन्यजातिहरूको बीचमा भएका सबै यहूदीहरूलाई मोशालाई त्यागिदिने शिक्षा दिनुहुन्छ अरे भन्‍ने खबर तिनीहरूले तपाईंको विषयमा पाएका छन्। 22 तब के? भीड़ निश्‍चय भेला हुन्छ नै; किनकि तपाईं आउनुभएको छ भनी तिनीहरूले सुन्‍नेछन्; 23 यसकारण हामी तपाईंलाई जे भन्दछौं, त्यही गर्नुहोस्! भाकल गर्ने हामीसँग चारजना मानिसहरू छन्; 24 तिनीहरूलाई लिनुहोस्, र तिनीहरूसँग आफैलाई पनि शुद्ध पार्नुहोस्, अनि तिनीहरूका निम्ति खर्च बेहोर्नुहोस्, र तिनीहरूले आफ्ना कपाल खौरून्; र जुन कुराहरूको खबर तिनीहरूले तपाईंको विषयमा पाएका छन्, त्योचाहिँ केही होइन रहेछ, तर तपाईं आफै पनि व्यवस्था पालन गर्दै विधिपूर्वक हिँड़्‍नुहुँदो रहेछ भनी सबैले थाहा पाऊन्। 25 तर विश्‍वास गर्ने अन्यजातिहरूको विषयमा चाहिँ, तिनीहरूले यस्तो कुनै कुरा पालन गर्नुपर्दैन भनी हामीले लेखेका र निर्णय गरेका छौं; तर तिनीहरूले आफूलाई मूर्तिहरूलाई बलिदान चढ़ाइएका चीजहरूबाट, रगतबाट, घाँटी निमोठेर मारेको वस्तुबाट र व्यभिचारबाट अलग राख्‍नुपर्छ।” 26 तब पावलले ती मानिसहरूलाई लिए र भोलिपल्ट तिनीहरूसित आफूलाई पनि शुद्ध पारेर शुद्ध हुने दिनहरू कहिले पूरा हुनेछन् अर्थात्‌ तिनीहरूमा प्रत्येकका निम्ति कहिले बलिदान चढ़ाइनेछ भन्‍ने सूचना दिन उनी मन्दिरभित्र पसे।
यरूशलेममा प्रेरित पावल पक्राउ परे
27 अनि जब सात दिन बित्‍नै लागेका थिए, तब एशियाका यहूदीहरूले उनलाई मन्दिरमा देखेर सबै मानिसहरूलाई हुच्‍च्याए, र यसो भनेर चिच्‍च्याउँदै उनीमाथि हात हाले: 28 “हे इस्राएलका मानिसहरूहो, सहायता गर्नुहोस्! यस जाति, व्यवस्था र यस स्थानको विरोधमा सबै ठाउँमा सबै मानिसहरूलाई शिक्षा दिने मान्छे यही हो! झन् यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्यायो र यस पवित्रस्थानलाई अशुद्ध पार्‍यो।” 29 (किनभने तिनीहरूले अघि नै शहरमा एफेससका ट्रोफिमसलाई उनको साथमा देखेका थिए, जसलाई पावलले मन्दिरभित्र ल्याएका छन् भनी तिनीहरूले सोचेका थिए।) 30 अनि शहरभरि हलचल मच्‍चियो, र मानिसहरू दगुर्दै भेला भए; अनि तिनीहरूले पावललाई पक्रेर मन्दिरबाहिर घिसार्दै ल्याए; अनि उत्ति नै खेर ढोकाहरू बन्द गरिए। 31 तर तिनीहरूले उनलाई मार्न खोजिरहेको बेलामा, सारा यरूशलेममा हलचल मच्‍चिरहेको छ भन्‍ने खबर पल्टनका मुख्य कप्‍तानकहाँ पुग्यो। 32 तुरुन्तै तिनी सिपाहीहरू र सुबेदारहरूलाई साथमा लिएर तल तिनीहरूकहाँ दगुरे। अनि जब तिनीहरूले मुख्य कप्‍तान र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई कुट्न छोड़े। 33 तब मुख्य कप्‍तान नजिकमा आएर उनलाई पक्रे, र उनी दुईवटा साङ्लाले बाँधिऊन् भन्‍ने आज्ञा दिए; अनि ‘यो को हो? र यसले के गरेको छ?’ भन्दै प्रश्‍न गरे। 34 अनि भीड़को बीचबाट कसैले एउटा कुरा, कसैले अर्को कुरा भन्दै कराए; अनि जब कोलाहलले गर्दा तिनले खास कुरा के हो, सो पत्ता लाउन सकेनन्, तब तिनले उनी किल्‍लामा लगिऊन् भन्‍ने हुकुम दिए। 35 अनि जब उनी सिँढ़ीमा आइपुगे, तब यस्तो भयो: भीड़को बलमिचाइले गर्दा उनी सिपाहीहरूद्वारा बोकिएर लगिए। 36 किनकि ‘त्यसलाई हटाइदेऊ!’ भनेर चिच्‍च्याउँदै मानिसहरूको भीड़ पछि-पछि लाग्यो। 37 अनि पावल किल्‍लाभित्र लगिनै लाग्दा उनले मुख्य कप्‍तानलाई भने: “के म तपाईंसँग कुरा गर्न पाऊँ?” तिनले भने: “के तिमी ग्रीक भाषा बोल्न सक्छौ त? 38 के तिमी त्यही मिस्री होइनौ, जसले यी दिनहरूभन्दा पहिले हलचल मच्‍च्यायो, र चार हजार हत्याराहरूलाई उजाड़स्थानमा लग्यो?” 39 तर पावलले भने: “मचाहिँ सिलिसियाको टार्सस शहरको यहूदी मानिस हुँ, एउटा नामी शहरको नागरिक हुँ; अनि म तपाईंलाई विन्‍ती गर्दछु, मलाई यी मानिसहरूसित बोल्न दिनुहोस्!” 40 अनि जब तिनले उनलाई अनुमति दिए, तब पावल त्यस सिँढ़ीमा उभिएर मानिसहरूलाई हातले इशारा गरे। अनि एकदमै चकमन्‍ना भएपछि उनले यसो भन्दै तिनीहरूसित हिब्रू भाषामा बोले: