20
अनि हूलदङ्गा थामिएपछि पावलले चेलाहरूलाई आफूकहाँ बोलाएर अँगालो हाले, र म्यासिडोनिया जानलाई त्यहाँबाट हिँड़े। 2 अनि ती इलाकाहरूबाट भएर जाँदा तिनीहरूलाई धेरै अर्ती-उत्साहका वचन दिएर उनी ग्रीस देशमा आए, 3 र त्यहाँ तीन महिनासम्म बसे। अनि उनी जहाजमा सिरियातिर जान लाग्दा यहूदीहरूले उनको विरोधमा षड़्यन्त्र रचेका हुनाले उनले म्यासिडोनियाबाट भएर फर्कने निर्णय गरे। 4 अनि बेरियाका सोपट्रोस, थेस्सलोनिकीहरूबाट अरिस्टार्खस र सेकुन्डस, डेर्बेका गायस र तिमोथी, र एशियाका तुखिकस र ट्रोफिमसले उनलाई एशियासम्म साथ दिए। 5 यिनीहरूले अघि गएर हामीलाई ट्रोआसमा पर्खे। 6 अनि अखमीरी रोटीका दिनहरूपछि हामीले फिलिप्पीबाट जहाज-यात्रा गर्यौं, र पाँच दिनमा उनीहरूकहाँ, ट्रोआसमा आइपुग्यौं, जहाँ हामी सात दिनसम्म बस्यौं।ट्रोआसमा यूटिखसलाई बिउँताइयो
7 अनि हप्ताको पहिलो दिनमा जब चेलाहरू रोटी भाँच्नका निम्ति भेला भए, तब भोलिपल्टै हिँड़्न तयार भएका पावलले उनीहरूलाई वचन सुनाए र मध्यरातसम्म वचन दिइरहे। 8 अनि त्यस माथिल्लो कोठामा, जहाँ उनीहरू भेला भएका थिए, धेरै बत्ती थिए। 9 अनि यूटिखस नामको कुनै एउटा जवान मानिस झ्यालमा बसिरहेको थियो; जब पावलले लामो समयसम्म वचन दिँदै गए, तब त्यो मस्त निद्रामा पर्यो; अनि त्यो निद्राले लट्ठ भएर तेस्रो तलाबाट तल खस्यो र मरिसकेको उठाइयो। 10 तब पावल तल ओर्ले, उसमाथि पस्रिए र उसलाई अङ्कमाल गरेर भने: “खैलाबैला नगर; किनकि उसको प्राण ऊभित्रै छ।” 11 तब उनी माथि उक्ले, अनि रोटी भाँचे र खाए, अनि धेरै बेरसम्म, बिहानको मिरमिरे उज्यालो नहोउन्जेल उनले कुराकानी गरिरहे; त्यसपछि उनी हिँड़े। 12 अनि उनीहरूले त्यस जवान मानिसलाई जिउँदो अवस्थामा ल्याए र खूबै सान्त्वना पाए।
13 अनि अस्सोसमा पावललाई जहाजमा चढ़ाउने इच्छा गरी हामी अघिबाटै जहाजतिर लाग्यौं, र जहाजमा अस्सोसतिर हिँड्यौं; किनकि आफूचाहिँ पैदलै जाने इच्छा गरेका हुनाले उनले यस्तै ठहराएका थिए। 14 अनि जब उनले हामीलाई अस्सोसमा भेटे, तब हामीले उनलाई जहाजमा चढ़ायौं, र मिटिलेनेमा आयौं। 15 अनि त्यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्ट हामी खियसको सामुन्ने आइपुग्यौं; अनि अर्को दिन हामी सामोसमा आइपुग्यौं, र ट्रोगिल्लियममा बस्यौं; अनि भोलिपल्ट हामी मिलेटस आयौं। 16 किनकि एशियामा समय बिताउनुनपरोस् भनेर पावलले एफेससबाट तर्किएर जाने निर्णय गरेका थिए; किनकि उनका निम्ति सम्भव भएदेखि पेन्टेकोस्टको दिनमा यरूशलेममा हुनलाई पावलले हतार गरिरहेका थिए।
एफेससको मण्डलीमा प्राचीनहरूलाई पावलको बिदाइको प्रवचन
17 अनि मिलेटसबाट एफेससमा पठाएर उनले मण्डलीका प्राचीनहरूलाईक बोलाए। 18 अनि तिनीहरू उनीकहाँ आएपछि उनले तिनीहरूलाई भने:
“एशियामा आएको पहिलो दिनदेखि नै सधैंभरि कस्तो प्रकारले म तपाईंहरूसँग रहें, सो तपाईंहरू जान्नुहुन्छ, 19 मनको सारा नम्रता, धेरै आँसु र परीक्षाहरूसहित, जो यहूदीहरूका षड़्यन्त्रहरूले गर्दा ममाथि आइपरे, मैले प्रभुको सेवा गरिरहें; 20 तपाईंहरूलाई फाइदा हुने कुरा एउटै पनि मैले नदिईकन राखिनँ, तर तपाईंहरूलाई बताइदिएको छु; अनि सबैको सामु र घर-घरमा मैले तपाईंहरूलाई शिक्षा दिएको छु; 21 मैले दुवै यहूदीहरू र ग्रीकहरूलाई परमेश्वरकहाँ मन फिराउनुपर्छ र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छख भनी यत्नपूर्वक गवाही दिइरहें।
22 अनि अब हेर्नुहोस्, मचाहिँ आत्मामा बाँधिएर यरूशलेम जान्छु, जहाँ ममाथि कस्ता-कस्ता कुराहरू आइपर्नेछन्, म जान्दिनँ; 23 यति मात्र जान्दछु, ‘बन्धन र कष्टहरूले मलाई पर्खिरहेका छन्’ भन्दै पवित्र आत्माले हरेक शहरमा गवाही दिँदै हुनुहुन्छ। 24 तर यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन, न ता म आफ्नो प्राणलाई नै आफ्ना लागि प्रिय ठान्दछु, मेरो दौड़ र त्यो सेवा आनन्दसाथ पूरा गर्न सकूँ भनेर, जुन सेवा मैले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिनका निम्ति प्रभु येशूबाट पाएको छु।
25 अनि अब हेर्नुहोस्, म जान्दछु, तपाईंहरू सबैले, जसको बीचमा म परमेश्वरको राज्य प्रचार गर्दै हिँड़ेको छु, फेरि कहिले पनि मेरो चेहरा देख्नुहुनेछैन। 26 यसकारण आज म तपाईंहरूलाई गवाही दिन्छु: म सबै मानिसहरूको रगतदेखि निर्दोष छु। 27 किनभने परमेश्वरको सारा मनसाय तपाईंहरूलाई बताउनदेखि म पछि हटिनँ। 28 यसकारण आफ्नो विषयमा र सम्पूर्ण बगालको विषयमा होशियार हुनुहोस्, जसमाथि उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरको मण्डलीलाई चराउनका निम्ति पवित्र आत्माले तपाईंहरूलाई अध्यक्षग ठहराउनुभएको छ। 29 किनभने मलाई यो थाहा छ, म गएपछि तपाईंहरूको बीचमा क्रूर ब्वाँसाहरू भित्र पस्नेछन्, जसले बगाललाई छोड़्नेछैनन्। 30 तपाईंहरूकै बीचबाट पनि चेलाहरूलाई आफ्नो पछि खिँच्नलाई टेढ़ामेढ़ा कुरा गर्ने मानिसहरू उठ्नेछन्। 31 यसकारण जागा रहनुहोस् र सम्झना गर्नुहोस्: तीन वर्षसम्म मैले रातदिन हरेकलाई आँसुको साथ चेताउनी दिन छोड़िनँ।
32 अनि अब भाइहरूहो, म तपाईंहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनको जिम्मामा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई बढ़ाउँदै लैजान र सबै पवित्र पारिएकाहरूको बीचमा तपाईंहरूलाई पैतृक सम्पत्तिघ दिलाउन सक्दछ। 33 मैले कसैको चाँदी वा सुन वा लुगाफाटाको लोभ गरिनँ। 34 ज्यू, तपाईंहरू आफै जान्नुहुन्छ, यी हातहरूले नै मेरा आवश्यकताहरूमा र मसँग हुनेहरूको सेवा गरेका छन्। 35 यसरी नै मेहनत गरी-गरीकन तपाईंहरूले कमजोरहरूलाई सहायता गर्नुपर्छ भनेर मैले तपाईंहरूलाई सबै थोकहरू देखाएको छु; अनि प्रभु येशूका वचनहरू सम्झना गर्नुपर्छ, जो उहाँ आफैले भन्नुभयो: ‘लिनुभन्दा दिनुचाहिँ झन् बढ़ी धन्य हो।’ ”