एफेससमा प्रेरित पावलको सेवाकाइ
19
अनि यस्तो भयो: अपोल्लोस कोरिन्थमा हुँदा पावलचाहिँ माथिल्ला भागहरूबाट भएर एफेससमा आइपुगे; अनि त्यहाँ उनले केही चेलाहरूलाई भेट्टाएर 2 तिनीहरूलाई भने: “जब तिमीहरूले विश्वास गर्यौ, तब के तिमीहरूले पवित्र आत्मालाई पायौ?” अनि तिनीहरूले उनलाई भने: “पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा त हामीले सुनेका पनि छैनौं।” 3 अनि उनले तिनीहरूलाई भने: “तब तिमीहरू शपथा बप्तिस्मा भयौ त?” अनि तिनीहरूले भने: “यूहन्नाको बप्तिस्मामा।” 4 तब पावलले भने: “मानिसहरूलाई यसो भन्दै यूहन्नाले साँच्चै पश्चात्तापको बप्तिस्माले बप्तिस्मा दिए: ‘तिमीहरूले मपछि आउनुहुनेमाथि अर्थात् ख्रीष्ट येशूमाथि विश्वास गर्नुपर्दछ।’ ” 5 अनि जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाममा बप्तिस्मा लिए। 6 अनि जब पावलले तिनीहरूमाथि हातहरू राखे, तब पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो; र तिनीहरूले भाषाहरूमा बोले र भविष्यवाणी गरे। 7 अनि यी सबै पुरुष प्राय: बाह्रजना थिए।8 अनि उनी सभाघरभित्र गए, र परमेश्वरको राज्यको विषयका कुराहरूमा तर्क गर्दै र विश्वास गराउँदै तीन महिनासम्म साहससित बोले। 9 तर जब कतिपय मानिसहरू कठोर भए र विश्वास गरेनन्, तर यस ‘मार्ग’को विषयमा भीड़को सामु खराब कुराहरू बोले, तब उनी तिनीहरूलाई छोड़ेर गए, र चेलाहरूलाई अलग पारी कुनै एकजना टुरान्नसको पाठशालामा दिनहुँ तर्क गर्दै रहे। 10 अनि यो कुरा दुई वर्षसम्म भइरह्यो; यसो हुँदा एशियामा बस्ने सबैले, दुवै यहूदीहरू र ग्रीकहरूले प्रभु येशूको वचन सुने। 11 अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो; 12 यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरूक बिरामीहरूकहाँ लगिन्थे, र रोगहरूले तिनीहरूलाई छोड़्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।
13 तब कतिपय घुमिहिँड़्ने यहूदी झारफूकेहरूले दुष्ट आत्मा लागेकाहरूमाथि यसो भन्दै प्रभु येशूको नाम लिन थाले: “पावलले प्रचार गरेका येशूको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दछौं।” 14 अनि स्केवा नाम गरेका यहूदी मुख्य पूजाहारीका सातजना छोराहरू थिए; तिनीहरूले यसै गर्थे। 15 अनि त्यस दुष्ट आत्माले जवाफ दिँदै भन्यो: “येशूलाई म चिन्छु, र पावललाई म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?” 16 अनि त्यो मान्छे, जसमा त्यो दुष्ट आत्मा थियो, तिनीहरूमाथि बुरुक्कै उफ्र्यो र तिनीहरूलाई वशमा पारेर तिनीहरूमाथि विजयी भयो; यहाँसम्म कि तिनीहरू त्यस घरबाट नाङ्गै र घायल भएर भागे। 17 अनि यो कुरा एफेससमा बस्ने सबै यहूदीहरू र ग्रीकहरूले पनि थाहा पाए; अनि तिनीहरू सबैलाई डर भयो, र प्रभु येशूको नामको बढ़ाइ भयो। 18 अनि विश्वास गर्नेहरूमध्ये धेरैजना आ-आफ्ना कामहरू मानिलिँदै र बताउँदै आए। 19 अनि जादु-टुना गर्नेहरूमध्ये पनि धेरैजनाले आ-आफ्ना पुस्तकहरू जम्मा गरे र तिनलाई सबैको सामु जलाइदिए। अनि तिनीहरूले तिनको दाम जोड़े, र दाम पचास हजार चाँदीको रुपियाँ निस्क्यो। 20 यसरी परमेश्वरको वचन शक्तिसित बढ़्दै गयो र विजयी भयो।
एफेससमा भएको हूलदङ्गा
21 अनि यी कुराहरू भइसकेपछि पावलले यसो भन्दै आत्मामा म्यासिडोनिया र अखैयाबाट भएर यरूशलेम जाने निर्णय गरे: “म त्यहाँ गएपछि मैले रोम पनि हेर्नैपर्छ।” 22 यसकारण उनले उनको सेवा गर्नेहरूमध्ये दुईजनालाई अर्थात् तिमोथी र एरास्टसलाई म्यासिडोनिया पठाए; तर उनी आफैचाहिँ केही समयका लागि एशियामा बसे।
23 अनि त्यही समयमा यस ‘मार्ग’को विषयमा ठूलो हूलदङ्गा मच्चियो। 24 किनभने डेमेट्रियस नाम भएको कुनै एउटा सुनारले अर्टेमिसकाख चाँदीका थानहरू बनाएर कारिगरहरूका निम्ति धेरै कमाइ ल्याउने गर्थ्यो। 25 त्यसले तिनीहरूलाई र त्यस्तै पेसा भएका कर्मीहरूलाई भेला पारेर भन्यो: “हे मानिसहरूहो, तिमीहरूलाई थाहै छ, यही धन्दाबाट हामी सम्पत्ति प्राप्त गर्छौं। 26 अनि तिमीहरू देख्दछौ र सुन्दछौ, एफेससमा मात्र होइन, तर प्राय: एशियाभरि नै यस पावलले ‘हातद्वारा बनाइएकाहरू ईश्वर हुँदै होइनन्’ भन्दै धेरै मानिसहरूलाई मनाई-मनाईकन बहकाएको छ। 27 यसकारण हाम्रो धन्दाको इज्जत घट्ने डर मात्र होइन, तर महान् देवी अर्टेमिसको मन्दिर पनि तुच्छ ठहरिनेछ र उनको गौरव नष्ट हुनेछ, जसलाई सारा एशिया र संसारले पुज्छन्।” 28 अनि यो सुनेर तिनीहरू रिसले चूर भए, र यसो भन्दै चिच्च्याए: “एफेससवासीहरूकी अर्टेमिस महान् हुन्!!” 29 अनि त्यस सारा शहरमा हलचल मच्चियो; अनि पावलको साथमा यात्रा गर्ने म्यासिडोनियावासी गायस र अरिस्टार्खसलाई पक्रेर तिनीहरू एकै मनका भई रङ्गशालाभित्र दगुरे। 30 अनि जब पावलले भित्र मानिसहरूकहाँ जाने इच्छा गरे, तब चेलाहरूले उनलाई अनुमति दिएनन्। 31 अनि एशियाका कोही मुख्य मानिसहरूले, जो उनका साथीहरू थिए, ‘तपाईंले रङ्गशालाभित्र पस्ने खतरापूर्ण काम नगर्नुहोला’ भनी उनीकहाँ विन्ती गरी पठाए। 32 यसकारण कोही एउटा कुरा, कोही अर्को कुरा कराइरहेका थिए; किनकि सभामा गड़बड़ी भएको थियो; अनि धेरै जसो मानिसहरूलाई त, तिनीहरू किन भेला भएका थिए, सो पनि थाहा थिएन। 33 अनि भीड़हरूको बीचबाट तिनीहरूले अलेकजान्डरलाई अघिल्तिर ताने, जसलाई यहूदीहरूले अघि सारेका थिए। अनि अलेकजान्डरले हातले इशारा गरेर मानिसहरूको सामु आफ्नो पक्षमा जवाफ दिन खोजेको थियो। 34 तर ऊचाहिँ यहूदी रहेछ भन्ने कुरा थाहा पाएर तिनीहरू सबै एकै सोरले दुई घण्टाजति कराइरहे: “एफेससवासीहरूकी अर्टेमिस महान् हुन्!!” 35 अनि त्यस शहरका हाकिमले यस भीड़लाई शान्त गराएपछि भने: “हे एफेससका मानिसहरूहो, एफेसीहरूको शहरचाहिँ महान् देवी अर्टेमिसको र जेऊसकहाँबाट खसेको मूर्तिको सेवक हो भन्ने कुरा नजान्ने मानिस को होला र? 36 यसकारण यी कुराहरूको विरोधमा केही भन्नै नसकिने हुनाले तिमीहरू चुपचाप रहनुपर्छ, र सोचविचार नगरीकन कुनै कुरा गर्नुहुँदैन। 37 किनभने तिमीहरूले यी मानिसहरूलाई यहाँ ल्याएका छौ, जो न ता मन्दिर लुट्नेहरू हुन्, न ता तिमीहरूकी देवीका निन्दा गर्नेहरू। 38 यसकारण डेमिट्रियस र उसको साथमा भएका कारिगरहरूसँग कसैको विरोधमा केही कुरा छ भने अदालत खुला छ, र अञ्चलाधीशहरू पनि छन्; तिनीहरूले एक-अर्काको विरोधमा नालिस गरून्। 39 तर अरू कुराहरूको विषयमा तिमीहरू कुनै सोधपुछ गर्न चाहन्छौ भने त्यसको फैसला नियमित सभामाग गरिनेछ। 40 किनभने आजको दिनको हूलदङ्गाको विषयमा हामीलाई दोष लगाइने डर छ; कुनै कारण नभएको हुनाले भीड़ भेला भएको विषयमा हामीले जवाफ दिन सक्नेछैनौं।” 41 अनि यी कुराहरू भनेर उनले त्यस सभालाई बिदा गरिदिए।