कोरिन्थमा प्रेरित पावलको सेवाकाइ
18
यी कुराहरूपछि पावल एथेन्सबाट निस्केर कोरिन्थमा आए। 2 अनि पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहूदीलाई भेट्टाए; (तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए; किनभने क्लाउडियसले सबै यहूदीहरूलाई रोमबाट निस्कनू भनी हुकुम गरेका थिए); अनि उनी तिनीहरूकहाँ आए। 3 अनि उनको पनि त्यही पेसा भएको हुनाले उनी तिनीहरूसँग बसे, र काम गरे; किनकि पेसाअनुसार उनीहरू तम्बू बनाउनेहरू थिए। 4 अनि हरेक विश्रामदिनमा उनी सभाघरमा तर्क गर्थे, अनि यहूदीहरू र ग्रीकहरूलाई मनाउँथे। 5 अनि जब सिलास र तिमोथी म्यासिडोनियाबाट आए, तब पावल आत्मामा विवश भए, र उनले यहूदीहरूलाई ‘येशू नै ख्रीष्ट हुनुहुन्छ’ भनी यत्नसित गवाही दिए। 6 तर जब तिनीहरूले उनको विरोध गरे र निन्दाका कुरा बोले, तब उनले आफ्ना लुगा टकटक्याएर तिनीहरूलाई भने: “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; मचाहिँ निर्दोषक छु। अबदेखि उसो म अन्यजातिहरूकहाँ जानेछु।” 7 अनि उनी त्यहाँबाट निस्केर जस्टस नामका कुनै एकजना परमेश्वरको भक्ति गर्ने मानिसको घरमा पसे, जसको घरचाहिँ सभाघरसँगै जोरिएको थियो। 8 अनि त्यस सभाघरका मुख्य शासक क्रिस्पसले आफ्नो सारा परिवारसित प्रभुमाथि विश्वास गरे; अनि कोरिन्थीहरूमध्ये धेरैजनाले सुनेर विश्वास गरे र बप्तिस्मा लिए। 9 तब राती दर्शनद्वारा प्रभु पावलसँग बोल्नुभयो: “नडराऊ; तर बोल्दै जाऊ, र चुप नलाग; 10 किनकि म तिम्रो साथमा छु, र तिम्रो हानि गर्नलाई कोही पनि तिमीमाथि आइलाग्नेछैन; किनकि यस शहरमा मेरा धेरै मानिसहरू छन्।” 11 अनि तिनीहरूको बीचमा परमेश्वरको वचन सिकाउँदै उनी त्यहाँ डेढ़ वर्षसम्म रहिरहे।12 तर गाल्लियो अखैयाका अञ्चलाधीश हुँदा यहूदीहरू एक मनको भएर पावलको विरोधमा उठे, र यसो भन्दै उनलाई न्यायआसनको अघि ल्याए: 13 “यस मान्छेले मानिसहरूलाई व्यवस्थाको विपरीत परमेश्वरको उपासना गर्न लाउँछ।” 14 अनि पावलले आफ्नो मुख खोल्नै लागेको बेलामा गाल्लियोले यी यहूदीहरूलाई भने: “यदि यो अन्याय वा दुष्ट अपराधको कुरा हुँदो हो त, हे यहूदीहरूहो, मैले तिमीहरूलाई सहने कारण हुनेथियो, 15 तर योचाहिँ शब्दहरू, नामहरू र तिमीहरूकै व्यवस्थाको विषयमा प्रश्न हो भने तिमीहरू आफैले हेर; किनकि म यस्ता कुराहरूको न्यायकर्ता हुन चाहँदिनँ।” 16 अनि उनले तिनीहरूलाई न्यायआसनको सामुबाट लखेटिदिए। 17 तब सबै ग्रीकहरूले सभाघरका मुख्य शासक सोस्थेनेसलाई पक्रेर न्यायआसनकै सामु पिटे। अनि गाल्लियोले ती कुराहरूमध्ये एउटैको पनि वास्ता गरेनन्।
18 अनि पावल त्यहाँ अझै धेरै दिनसम्म बसे; अनि भाइहरूबाट बिदा लिएपछि उनले केंख्रेयामा आफ्नो कपाल काटे, किनकि उनले एउटा भाकल गरेका थिए। त्यहाँबाट उनी जहाजमा सिरियातिर गए, उनीसित प्रिस्किल्ला र अक्विला पनि थिए। 19 अनि उनी एफेससमा आए, र उनीहरूलाई त्यहीं छोड़े। तर उनी आफैचाहिँ सभाघरभित्र पसेर यहूदीहरूसँग तर्क गरे। 20 अनि जब तिनीहरूले उनलाई ‘हामीसँग अझै केही समय बसिदिनुहोस्’ भनी विन्ती गरे, तब उनले मानेनन्; 21 तर यसो भन्दै उनले तिनीहरूबाट बिदा लिए: “मैले जसरी भए पनि यो आउँदो चाड़ यरूशलेममा मनाउनुपर्छ; तर परमेश्वरको इच्छा भयो भने म फेरि तपाईंहरूकहाँ फर्की आउनेछु।” अनि एफेससबाट उनले जहाज-यात्रा गरे। 22 अनि सिजरियामा जहाजबाट उत्रेपछि उनी माथि गए, र मण्डलीलाई सलाम गरेर तल एन्टिओक झरे।
प्रेरित पावलको तेस्रो प्रचार-यात्रा
प्रेरित १८:२३-२८:३१
23 अनि केही समयसम्म बसेपछि उनी त्यहाँबाट निस्के; अनि क्रमैसँग गलातिया र फ्रिगियाका प्रदेशभरि सबै चेलाहरूलाई बलियो बनाउँदै हिँड़े।
एफेससमा अपोल्लोसको सेवाकाइ
24 अनि अलेकजान्ड्रियामा जन्मेका, अपोल्लोस नामका कुनै एकजना यहूदी एफेससमा आए, जो निपुण वक्ता र पवित्र शास्त्रहरूमा सामर्थी थिए। 25 यी मानिसले प्रभुको मार्गको शिक्षा पाएका थिए; अनि आत्मामा जोशिला भएर तिनले प्रभुको विषयमा कुराहरू ठीकसँग बोल्थे; तर तिनले यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए। 26 अनि तिनी साहससित सभाघरमा बोल्न थाले। अनि तिनको कुरा सुनेर अक्विला र प्रिस्किल्लाले तिनलाई आफूकहाँ लगेर परमेश्वरको मार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। 27 अनि जब तिनले पारि अखैयामा जाने इच्छा गरे, तब भाइहरूले चेलाहरूलाई उनीहरूले तिनलाई स्वागत गरून् भनेर उत्साह दिएर लेखे; तिनी आइपुगेपछि तिनले उनीहरूलाई धेरै सहायता गरे, जसले अनुग्रहद्वारा विश्वास गरेका थिए। 28 किनकि तिनले ‘येशू नै ख्रीष्ट हुनुहुन्छ’ भनी पवित्रशास्त्रहरूद्वारा देखाई-देखाईकन सामर्थ्यसित यहूदीहरूलाई खुल्लमखुल्ला निरुत्तर पारिदिए।