प्रेरित पावल थेस्सलोनिका र बेरियामा
17
अब अम्फिपोलिस र अपोल्‍लोनियाबाट भएर गएपछि उनीहरू थेस्सलोनिकामा आइपुगे, जहाँ यहूदीहरूको सभाघर थियो। 2 अनि आफ्नो रीतिअनुसार पावल भित्र तिनीहरूकहाँ गए; अनि पवित्रशास्त्रहरूबाट तिनीहरूसित तीन विश्रामदिन तर्क-वितर्क गरे, 3 अर्थात्‌‍ ख्रीष्‍टले दुःख भोग्‍नैपर्नेथियो, र मरेकाहरूबाट बौरेर उठ्नैपर्नेथियो, अनि “यिनै येशू जसको प्रचार म तपाईंहरूलाई गरिरहेको छु, उहाँ ‘ख्रीष्‍ट’ हुनुहुन्छ” भन्दै अर्थ खोली-खोली बताए र प्रमाणहरू दिए। 4 अनि तिनीहरूमध्ये कतिले, अनि भक्त ग्रीकहरूको एउटा ठूलो भीड़ले र प्रमुख स्त्रीहरूमध्ये धेरैजनाले विश्‍वास गरे, अनि पावल र सिलाससँग मिले।
5 तर विश्‍वास नगर्ने यहूदीहरूले डाहाले भरिएर कति लफङ्गा र दुष्‍ट मानिसहरूलाई आफ्नो साथमा लिए, एउटा भीड़ जमाए र शहरभरि खैलाबैला मच्‍च्याए, अनि यासोनको घरमा हमला गरेर उनीहरूलाई बाहिर मानिसहरूकहाँ ल्याउन खोजे। 6 अनि उनीहरूलाई नभेट्टाउँदा तिनीहरूले यासोन र कति भाइहरूलाई घिसार्दै शहरका शासकहरूकहाँ लगे, र यसो भन्दै कराए: “यी संसारलाई उलटपुलट पार्नेहरू यहाँ पनि आएका छन्, 7 जसलाई यासोनले पाहुना राखेको छ; अनि यिनीहरू सबैले ‘अर्को राजा हुनुहुन्छ अर्थात्‌ येशू’ भन्दै सिजरका हुकुमहरूको विरोधमा काम गर्दछन्।” 8 अनि तिनीहरूले भीड़लाई र शहरका शासकहरूलाई अत्याइदिए, जसले यी कुराहरू सुनेका थिए। 9 अनि यासोन र अरूबाट धरौटी लिएपछि तिनीहरूले उनीहरूलाई छोड़िदिए।
10 अनि तुरुन्तै भाइहरूले पावल र सिलासलाई राती नै बेरियामा पठाइहाले। उनीहरू त्यहाँ आएपछि यहूदीहरूको सभाघरभित्र पसे। 11 यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे, र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी गर्दथे। 12 यसकारण तिनीहरूमध्ये धेरैजनाले विश्‍वास गरे; घरानियाँ ग्रीक स्त्री र पुरुषहरूमध्ये पनि धेरैले। 13 तर जब थेस्सलोनिकाका यहूदीहरूले बेरियामा पनि पावलद्वारा परमेश्‍वरको वचन प्रचार गरियो भन्‍ने कुरा थाहा पाए, तब तिनीहरू त्यहाँ पनि आए, र मानिसहरूलाई हुच्‍च्याए। 14 अनि तब तुरुन्तै भाइहरूले पावललाई समुद्रतिर जानका निम्ति पठाए; तर सिलास र तिमोथी त्यहीं रहे। 15 अनि पावललाई पुर्‍याउन जानेहरूले उनलाई एथेन्समा ल्याए; अनि सिलास र तिमोथीका निम्ति ‘मकहाँ एकदमै चाँड़ो आउनू’ भन्‍ने आज्ञा लिएर तिनीहरू बिदा भए।
एथेन्समा पावलको भाषण
16 अब पावलले एथेन्समा उनीहरूलाई पर्खेर बसेको बेलामा त्यो शहर मूर्तिपूजामा डुबेको देखेर उनीभित्र उनको आत्मा जलिउठ्यो। 17 यसकारण उनले सभाघरमा यहूदीहरू र भक्त जनहरूसँग र बजारमा चाहिँ दिनहुँ उनलाई भेट्नेहरूसँग तर्क गर्दथे। 18 तब एपिकूरी र स्तोइकी दार्शनिकहरूमध्ये कतिले उनको सामना गरे। अनि कतिले भने: “यस बकबकेले के भन्‍न चाहन्छ?” अरूले भने: “ऊ त नौला देवताहरूको प्रचारकजस्तो देखा पर्छ।” किनभने उनले तिनीहरूलाई ‘येशू’ र ‘बौरिउठाइ’को प्रचार गर्दथे। 19 अनि तिनीहरूले उनलाई समातेर यसो भन्दै अरैयोस्पागसमा लगे: “तिमीले बताएको यो नयाँ शिक्षा के हो, हामी पनि जान्‍न सक्छौं? 20 किनकि तिमीले हाम्रा कानमा कति नौला कुराहरू ल्याइरहेका छौ। यसकारण हामी यी कुराहरूको अर्थ के हो, सो जान्‍न चाहन्छौं।” 21 किनकि सबै एथेन्सवासीहरू र त्यहाँ रहेका परदेशीहरूले कुनै न कुनै नयाँ कुरा भन्‍नु वा सुन्‍नुमा बाहेक अरू कुनै कुरामा समय बिताउँदैनथे।
22 तब पावलले मार्सको डाँड़ाको बीचमा उभिएर भने: “हे एथेन्सका मानिसहरूहो, म देख्दछु, तपाईंहरू सबै कुरामा साह्रै गरी देवताको डर मान्‍नेहरू हुनुहुँदो रहेछ। 23 किनकि म घुम्दै जाँदा र तपाईंहरूका पूजा गर्ने वस्तुहरूलाई हेर्दा मैले एउटा यस्तो वेदी पनि भेट्टाएँ, जसमा ‘नजानिएका ईश्‍वरका लागि’ भनी कुँदेर लेखिएको थियो। यसकारण जसलाई तपाईंहरू नजानीकन पूजा गर्नुहुन्छ, उहाँकै प्रचार म तपाईंहरूलाई गर्दछु: 24 परमेश्‍वर, जसले यो संसार र यसमा भएका सबै थोकहरू बनाउनुभयो, उहाँचाहिँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको हुनाले हातले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न। 25 न ता उहाँले केही खाँचो परेझैं गरी मानिसहरूका हातबाट सेवा नै लिनुहुन्छ; किनकि उहाँले पो सबैलाई जीवन, सास र सबै थोक दिनुहुन्छ। 26 अनि उहाँले सारा पृथ्वीमाथि वास गर्नलाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई बनाउनुभयो, अनि तोकिएका समयहरू र तिनीहरूका वास गर्ने सिमानाहरू ठहराउनुभयो, 27 तिनीहरूले प्रभुलाई खोजून् भनेर, सायद उहाँलाई छामछाम-छुमछुम गरेर भेट्टाउलान्; तैपनि उहाँ हामी हरेकबाट टाढ़ामा हुनुहुन्‍न; 28 किनकि उहाँमा हामी जिउँदछौं, हिँड़्डुल गर्दछौं र अस्तित्व राख्दछौं, जसरी तपाईंहरूकै कतिजना कविहरूले पनि भनेका छन्: ‘किनकि हामी पनि उहाँकै सन्तान हौं।’ 29 यसकारण हामी परमेश्‍वरकै सन्तान भएका हुनाले परमेश्‍वरत्वचाहिँ मानिसको कारिगरी र कल्पनाद्वारा कुँदेर बनाइएको सुन वा चाँदी वा ढुङ्गाको मूर्तिजस्तो हुन्छ भनी हामीले सोच्‍नुहुँदैन। 30 तर त्यस अज्ञानताका समयहरू परमेश्‍वरले वास्ता गर्नुभएन, तर अब उहाँले सबै ठाउँमा सबै मानिसहरूलाई पश्‍चात्ताप गर्नू भन्‍ने आज्ञा गर्नुहुन्छ। 31 किनभने उहाँले एउटा दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ; उहाँलाई मरेकाहरूबाट बौराएर उठाईकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ।” 32 अनि जब तिनीहरूले मरेकाहरूको बौरिउठाइको कुरा सुने, तब कतिले गिल्‍ला गरे; अनि अरूले भने: “यस विषयमा हामीले तिम्रो कुरा फेरि सुन्‍नेछौं।” 33 अनि पावल तिनीहरूको बीचबाट निस्केर गए। 34 तरै पनि कतिजना मानिसहरू उनीसँग मिले, र विश्‍वास गरे; तीमध्ये अरैयोस्पागी डियोनुसियस, अनि डामारिस नामकी एउटी स्त्री, र उनीहरूको साथमा अरू-अरू थिए।