पावल र सिलाससँग तिमोथी
16
तब उनी डेर्बे र लुस्त्रामा आए। अनि हेर, तिमोथी नाम भएका एकजना चेला त्यहाँ थिए; तिनी एकजना विश्‍वासी यहूदी स्त्रीका छोरा थिए; तर तिनका बुबा ग्रीक थिए। 2 लुस्त्रा र इकोनियमका भाइहरूको बीचमा तिनको नाम चलेको थियो। 3 पावलले तिनी आफ्नो साथमा जाऊन् भन्‍ने इच्छा गरे। अनि ती ठाउँहरूमा भएका यहूदीहरूले गर्दा उनले तिनलाई लगेर तिनको खतना गरिदिए; किनकि बुबा ग्रीक हुन् भनी ती सबैलाई थाहा थियो। 4 अनि शहर-शहर हुँदै जाँदा उनीहरूले तिनीहरूलाई पालन गर्नका निम्ति ती आज्ञाहरू सुम्पिदिन्थे, जो यरूशलेमका प्रेरितहरू र प्राचीनहरूद्वारा ठहराइएका थिए। 5 यसकारण मण्डलीहरू विश्‍वासमा बलिया हुँदै गए र संख्यामा पनि दिनहुँ बढ़्दै गए।
म्यासिडोनियाबाट ईश्‍वरीय बोलावट
6 अनि जब उनीहरू फ्रिगिया र गलातियाका प्रदेशबाट भएर गए, र पवित्र आत्माद्वारा एशियामा वचन प्रचार गर्न मनाही गरियो, 7 तब मूसियामा आएपछि उनीहरूले बिथिनिया जाने कोशिश गरे; तर आत्माले उनीहरूलाई अनुमति दिनुभएन। 8 अनि मूसियाबाट भएर गएपछि उनीहरू त्रोआसमा झरे। 9 अनि राती पावलकहाँ एउटा दर्शन देखा पर्‍यो: म्यासिडोनियाको एकजना मानिस उभिरहेको थियो, जसले ‘यहाँ म्यासिडोनियामा आएर हामीलाई सहायता गर्नुहोस्’ भन्दै विन्‍ती गरिरहेको थियो। 10 अनि उनले त्यो दर्शन देखेपछि, प्रभुले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्नका लागि बोलाउनुभएको रहेछ भन्‍ने निश्‍चय गरेर तुरुन्तै हामीले म्यासिडोनिया जान खोज्यौं। 11 यसकारण त्रोआसबाट हामी जहाजद्वारा सीधा सामोथ्रासियामा आयौं, र भोलिपल्ट चाहिँ नियापोलिसमा आयौं; 12 अनि त्यहाँबाट हामी फिलिप्पीमा आयौं, जोचाहिँ म्यासिडोनियाको त्यस भागको मुख्य शहर र रोमीहरूको बस्ती हो। अनि त्यस शहरमा हामी केही दिनसम्म रह्‍यौं।
13 अनि विश्रामदिनमा हामी त्यस शहरबाट निस्की एउटा नदीको किनारमा गयौं, जहाँ प्रार्थना चढ़ाउने चलन नै थियो; अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग हामीले बसेर कुरा गर्‍यौं। 14 अनि लिडिया नाम भएकी, बैजनी बिक्री गर्ने, थियाटिरा शहरकी परमेश्‍वरको भक्ति गर्ने एउटी स्त्रीले सुनिरहेकी थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान लगाऊन् भनी प्रभुले उनको हृदय खोल्नुभयो। 15 अनि जब उनले र उनको घरानाले बप्‍तिस्‍मा लिए, तब उनले हामीलाई यसो भन्दै विन्‍ती गरिन्: “तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुभएको छ भने मेरो घरमा आउनुहोस् र रहनुहोस्!” अनि उनले हामीलाई करमा पारिन्।
पावल र सिलास फिलिप्पीको झ्यालखानामा
16 अनि यस्तो भयो: जब हामी प्रार्थना गर्न गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा लागेको कुनै एउटी केटीले हामीलाई भेटी, जसले जोखना हेरेर आफ्ना मालिकहरूका लागि धेरै कमाइ ल्याउने गर्थी। 17 त्यसले पावल र हामीलाई पछ्याई, र यसो भन्दै कराई: “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका दासहरू हुन्, जसले हामीलाई ‘मुक्तिको बाटो’ बताउँछन्।” 18 अनि धेरै दिनसम्म त्यसले यो कुरा गरिरही; यसकारण पावल दिक्‍क भएर पछिल्तिर फर्के, र त्यस आत्मालाई भने: “येशू ख्रीष्‍टको नाममा म तँलाई आज्ञा गर्छु, त्यसबाट निस्की!” अनि त्यही घड़ी त्यो बाहिर निस्क्यो।
19 अनि जब त्यसका मालिकहरूले तिनीहरूको कमाइको आशा टुटेको देखे, तब तिनीहरूले पावल र सिलासलाई पक्रेर बजारमा शासकहरूकहाँ तान्दै ल्याए, 20 र यसो भन्दै उनीहरूलाई अदालतका हाकिमहरूकहाँ पुर्‍याए: “यी मानिसहरू यहूदी भएर हाम्रो शहरमा साह्रै गड़बड़ी मच्‍च्याउँछन्, 21 र यस्ता रीतिथितिहरू सिकाउँछन्, जसलाई ग्रहण गर्नु र पालन गर्नुचाहिँ हामी रोमीहरूलाई उचित हुँदैन।” 22 अनि सारा भीड़ एकसाथ उनीहरूको विरोधमा उठ्यो; अनि अदालतका हाकिमहरूले उनीहरूका लुगा च्यातिदिए र उनीहरूलाई लौराले हिर्काउने हुकुम दिए। 23 उनीहरूलाई धेरै कोर्रा लगाएपछि तिनीहरूले झ्यालखानाको हाकिमलाई ‘तिनीहरूलाई सुरक्षित राख्‍नू’ भन्‍ने हुकुम दिएर उनीहरूलाई झ्यालखानामा हाले। 24 यस्तो हुकुम पाएर तिनले उनीहरूलाई भित्रपट्टिको झ्यालखानामा हाले र उनीहरूका खुट्टाहरू ठिँगुराहरूमा कसिलो गरी हालिदिए।
25 अनि मध्यरातमा पावल र सिलास प्रार्थना गरिरहेका र परमेश्‍वरको भजन गाइरहेका थिए, अनि कैदीहरूले उनीहरूको सुनिरहेका थिए। 26 तब एक्‍कासि एउटा ठूलो भुइँचालो आयो, यहाँसम्म कि झ्यालखानाका जगहरू हल्‍लाइए; अनि तुरुन्तै सबै ढोकाहरू खोलिए, र सबैका बन्धनहरू खोलिए। 27 अनि झ्यालखानाका हाकिमले निद्राबाट बिउँझेर झ्यालखानाका ढोकाहरू खुलै देख्दा कैदीहरूचाहिँ भागिसके भन्‍ने सम्झी तरवार निकालेर आफैलाई मार्न लागेका थिए। 28 तर पावल यसो भन्दै ठूलो सोरले कराए: “आफूलाई केही हानि नगर्नुहोस्, किनभने हामी सबै यहीं छौं।” 29 तब बत्ती मगाएर तिनी हाम फाल्दै भित्र पसे, र थरथर काम्दै पावल र सिलासको सामु भुइँमा घोप्‍टो परे, 30 अनि उनीहरूलाई बाहिर निकालेर तिनले भने: “हजुरहरूहो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ?” 31 अनि उनीहरूले भने: “प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ – तपाईंले र तपाईंको परिवारले।” 32 अनि उनीहरूले तिनलाई र तिनको घरमा भएका सबैलाई प्रभुको वचन सुनाए। 33 अनि रातको त्यही घड़ी तिनले उनीहरूलाई लगेर उनीहरूका घाउहरू धोइदिए, अनि उत्तिखेरै तिनले र तिनका सबैले बप्‍तिस्‍मा लिए। 34 अनि उनीहरूलाई आफ्नो घरभित्र ल्याएपछि तिनले उनीहरूको सामु खानेकुरा राखिदिए र आफ्नो सारा परिवारसहित परमेश्‍वरमा विश्‍वास गरेर आनन्द मनाए।
35 अनि जब दिन भयो, तब अदालतका हाकिमहरूले यसो भनेर अफिसरहरू पठाए: “ती मानिसहरूलाई जान देऊ!” 36 अनि झ्यालखानाका हाकिमले पावललाई यसो भन्दै यो कुरा बताए: “अदालतका हाकिमहरूले तपाईंहरूलाई छोड़िदिनू भनी पठाउनुभएको छ; यसकारण अब निस्कनुहोस्, र शान्तिसित जानुहोस्!” 37 तर पावलले तिनीहरूलाई भने: “उनीहरूले हामी रोमी मानिसहरूलाई दोषी नठहराईकनै हामीलाई खुल्‍लमखुल्‍ला पिटे र हामीलाई झ्यालखानाभित्र हाले; अनि अहिलेचाहिँ उनीहरू हामीलाई सुटु्‍क्‍कै निकाल्छन्? साँच्‍चै यो हुनुहुँदैन! तर उनीहरू आफै आऊन्, र हामीलाई बाहिर निकालिदिऊन्!” 38 अनि ती अफिसरहरूले अदालतका हाकिमहरूलाई यी कुराहरू बताइदिए। अनि उनीहरू रोमी रहेछन् भन्‍ने कुरा सुनेर तिनीहरू डराए। 39 अनि तिनीहरू आएर उनीहरूलाई निवेदन गरे, र बाहिर निकालेर तिनीहरूले उनीहरूलाई ‘त्यस शहरबाट जानुहोला’ भनी विन्‍ती गरे। 40 अनि झ्यालखानाबाट निस्केर उनीहरू लिडियाको घरमा पसे; अनि भाइहरूलाई भेटेर उनीहरूले तिनीहरूलाई सान्‍त्‍वना दिए, र बिदा भए।