खतनाको विषयमा यरूशलेममा बसेको मण्‍डली-सभा
15
अनि कोही मानिसहरूले यहूदियाबाट झरेर भाइहरूलाई शिक्षा दिए: “मोशाको रीतिअनुसार तिमीहरूको खतना नहोउन्जेल तिमीहरूले मुक्ति पाउन सक्दैनौ।” 2 यसकारण जब तिनीहरूसित पावल र बर्नबासको ठूलो झगड़ा र वादविवाद चल्यो, तब तिनीहरूले पावल, बर्नबास र तिनीहरूमध्येका कसैलाई त्यस सवालको सम्बन्धमा यरूशलेममा प्रेरितहरू र प्राचीनहरूकहाँ जानुपर्छ भनी नियुक्त गरे। 3 यसकारण मण्डलीद्वारा अलिक परसम्म पुर्‍याइएपछि उनीहरू अन्यजातिहरूको मन-फिराउको विषयमा बताउँदै फोनिसिया र सामरियाबाट भएर गए; अनि उनीहरूले सबै भाइहरूलाई साह्रै आनन्दित तुल्याए।
4 अनि यरूशलेम आइपुगेपछि मण्डलीद्वारा, प्रेरितहरू र प्राचीनहरूद्वारा उनीहरूको स्वागत भयो; अनि परमेश्‍वरले उनीहरूको साथमा जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू उनीहरूले बताइदिए। 5 तर फरिसी पन्थका केही मानिसहरू, जसले विश्‍वास गरेका थिए, यसो भन्दै उठे: “तिनीहरूको खतना गर्नु र ‘मोशाको व्यवस्था पालन गर’ भनी आज्ञा गर्नु खाँचो छ।” 6 अनि प्रेरितहरू र प्राचीनहरू यस कुराको विषयमा विचार गर्नलाई भेला भए। 7 अनि धेरै वादविवाद भएपछि पत्रुस उठे, र उनले तिनीहरूलाई भने: “मानिसहरू र भाइहरूहो, तपाईंहरू जान्‍नुहुन्‍छ, अन्यजातिहरूले मेरो मुखद्वारा सुसमाचारको वचन सुनून् र विश्‍वास गरून् भनी परमेश्‍वरले धेरै समय अघि हाम्रो बीचबाट मलाई चुन्‍नुभयो। 8 अनि हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै गरी उनीहरूलाई पनि पवित्र आत्मा दिईकन उनीहरूको पक्षमा गवाही दिनुभयो; 9 अनि उनीहरूका हृदय विश्‍वासद्वारा शुद्ध पारीकन उहाँले हामीहरू र उनीहरूको बीचमा कुनै भिन्‍नता राख्‍नुभएन। 10 यसकारण अब चेलाहरूका गर्दनमाथि जुवा राखिदिएर तपाईंहरू किन परमेश्‍वरलाई परीक्षा गर्नुहुन्छ, जुन जुवा न ता हाम्रा पुर्खाहरूले न ता हामीले नै बोक्न सक्यौं? 11 तर हामी विश्‍वास गर्दछौं: प्रभु येशू ख्रीष्‍टको अनुग्रहद्वारा हामीहरूले मुक्ति पाउनेछौं, त्यही प्रकारले उनीहरूले पनि।” 12 तब सारा भीड़ चुप भयो, र बर्नबास र पावलले भनेका कुरा सुन्यो, जसले, परमेश्‍वरले उनीहरूद्वारा अन्यजातिहरूको बीचमा कस्ता-कस्ता चिन्हहरू र अचम्मका कामहरू देखाउनुभएको थियो, सो कुरा बताइरहेका थिए। 13 अनि उनीहरू चुप भएपछि याकूबले यसो भन्दै जवाफ दिए: “मानिसहरू र भाइहरूहो, मेरो कुरा सुन्‍नुहोस्! 14 अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नलाई परमेश्‍वरले अन्यजातिहरूसँग कसरी पहिले भेट गर्नुभयो, सो कुराको विषयमा शिमोनले बताएका छन्; 15 अनि योसँग भविष्यवक्ताहरूका वचन मिल्दछन्, जस्तो लेखिएको छ:
16 ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको ढलेको तम्बू म फेरि बनाउनेछु; अनि यसका भग्‍नावशेषहरू म फेरि बनाउनेछु, र यसलाई म खड़ा गर्नेछु, 17 र बाँकी मानिसहरूले र मेरो नामले कहलाइएका सबै जातिहरूले प्रभुलाई खोजून्, यी सबै कुराहरू गर्नुहुने परमप्रभु यसो भन्‍नुहुन्‍छ।’
18 अनन्तकालदेखि उहाँका आफ्ना सबै कामहरू परमेश्‍वरलाई थाहा भएको छ। 19 यसैकारण मेरो फैसला यो हो: अन्यजातिहरूको बीचबाट परमेश्‍वरकहाँ फरेकाहरूलाई हामी दुःख नदिऔं; 20 तर हामी उनीहरूलाई लेखौं: उनीहरू मूर्तिहरूका अशुद्धताहरूबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारेका वस्तुहरूबाट र रगतबाट अलग रहून्। 21 किनकि पुस्तौं-पुस्तौंदेखि हरेक शहरमा मोशाका मानिसहरू त छँदैछन्, जसले उनलाई प्रचार गर्छन्, र हरेक विश्रामदिनमा त्यो सभाघरहरूमा पढ़िँदैछ।”
22 तब आफ्नै बीचबाट चुनिएका मानिसहरू अर्थात्‌ भाइहरूको बीचमा मुख्य मानिसहरू – बर्साबास उपनाम भएका यहूदा र सिलासलाई पावल र बर्नबासको साथमा एन्टिओकमा पठाउनु सम्पूर्ण मण्डलीसहित प्रेरितहरू र प्राचीनहरूलाई असल लाग्यो। 23 अनि उनीहरूले यस प्रकारले आफ्नै हातले पत्र लेखे:
‘प्रेरितहरू, प्राचीनहरू र भाइहरूबाट एन्टिओक, सिरिया र सिलिसियामा अन्यजातिहरूबाट आउनुभएका भाइहरूलाई नमस्कार। 24 कतिजनाले हामीकहाँबाट गएर ‘तपाईंहरूको खतना हुनैपर्छ र तपाईंहरूले व्यवस्था पालन गर्नैपर्छ’ भनेर – हुन त त्यस्तो आज्ञा हामीले उनीहरूलाई दिएका थिएनौं – तपाईंहरूका मन उथलपुथल पारिदिएर तपाईंहरूलाई कुराहरूले कष्‍ट दिएका रहेछन् भनी हामीले सुनेका हुनाले, 25 हामीलाई पनि एकै मनको भई भेला भएर चुनिएका मानिसहरू हाम्रा प्रिय बर्नबास र पावलसित तपाईंहरूकहाँ पठाउनु असल लाग्यो; 26 ती मानिसहरूसित, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टका नामका निम्ति आफ्ना ज्यान खतरामा हालेका छन्। 27 यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं; उनीहरूले पनि तपाईंहरूलाई मुखले यी कुराहरू भन्‍नेछन्। 28 किनकि यी आवश्यक कुराहरूबाहेक अरू ठूलो भारीचाहिँ तपाईंहरूमाथि नलाद्नु नै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो: 29 तपाईंहरू मूर्तिहरूलाई बलिदान चढ़ाइएका चीजहरूबाट, रगतबाट, घाँटी निमोठेर मारेका वस्तुहरूबाट र व्यभिचारबाट अलग रहनुहोस्! यी कुराहरूबाट आफैलाई अलग राख्‍नुभयो भने तपाईंहरूले भलो गर्नुहुनेछ। तपाईंहरूको कल्याण होस्!’
30 यसकारण बिदा गरिएपछि उनीहरू एन्टिओक आए; अनि भीड़लाई भेला पारेर उनीहरूले त्यो पत्र बुझाइदिए। 31 त्यो पढ़ेपछि तिनीहरू सान्‍त्‍वना पाएर आनन्दित भए। 32 अनि यहूदा र सिलासले, आफै पनि भविष्यवक्ताहरू भएका हुनाले धेरै वचनहरूद्वारा भाइहरूलाई अर्ती दिए र तिनीहरूलाई स्थिर पारे। 33 अनि त्यहाँ केही समयसम्म बसेपछि उनीहरू भाइहरूबाट प्रेरितहरूकहाँ जानलाई शान्तिसित बिदा गरिए। 34 तर सिलासलाई त्यहीं रहनु असल लाग्यो। 35 अनि पावल र बर्नबासचाहिँ अरू धेरैजनासँग प्रभुको वचन सिकाउँदै र प्रचार गर्दै एन्टिओकमा बसे।
प्रेरित पावलको दोस्रो प्रचार-यात्रा
प्रेरित १४:३६-१८:२२
36 अनि केही दिनपछि पावलले बर्नबासलाई भने: “हामी फेरि जाऔं, र हरेक शहरमा, जहाँ हामीले प्रभुको वचन प्रचार गरेका छौं, हाम्रा भाइहरूलाई भेटौं, र उनीहरू कस्ता रहेछन्, हेरौं!” 37 अनि बर्नबासले मर्कूस उपनाम भएको यूहन्‍नालाई साथमा लैजाने निर्णय गरे। 38 तर पावलले चाहिँ तिनलाई साथमा लैजान ठीक सम्झेनन्; किनकि पाम्फिलियादेखि तिनी उनीहरूबाट छुट्टिएर गएका थिए र उनीहरूको साथमा काममा गएका थिएनन्। 39 अनि उनीहरूको बीचमा यति चर्को मतभेद भयो, कि उनीहरू एक-अर्काबाट अलग भए; अनि बर्नबास मर्कूसलाई साथमा लिएर जहाजमा साइप्रस गए; 40 अनि पावलले सिलासलाई चुने, र भाइहरूद्वारा परमेश्‍वरको अनुग्रहमा सुम्पिएपछि बाटो लागे। 41 अनि मण्डलीहरूलाई स्थिर गराउँदै उनी सिरिया र सिलिसियाबाट भएर गए।