प्रेरित पावल इकोनियम र लुस्त्रामा – उनी ढुङ्गाले हानिए
14
अनि इकोनियममा यस्तो भयो: उनीहरू यहूदीहरूको सभाघरभित्र सँगै पसे, र यसरी बोले, कि दुवै यहूदीहरू र ग्रीकहरूको एउटा ठूलो भीड़ले विश्वास गर्यो। 2 तर विश्वास नगर्ने यहूदीहरूले अन्यजातिहरूलाई हुच्च्याए र भाइहरूको विरोधमा तिनीहरूका मन खराब पारिदिए। 3 तर उनीहरू प्रभुमा साहससँग बोल्दै लामो समयसम्म त्यहाँ बसे; उहाँले आफ्नो अनुग्रहको वचनका लागि गवाही दिनुभयो र उनीहरूका हातद्वारा चिन्हहरू र अचम्मका कामहरू गराउनुभयो। 4 तर त्यस शहरको भीड़मा फाटो आयो; अनि कोही यहूदीहरूपट्टि र कोही प्रेरितहरूपट्टि लागे। 5 अनि उनीहरूलाई बेइज्जत गर्न र ढुङ्गाले हान्नका लागि जब दुवै अन्यजातिहरू र यहूदीहरूले आफ्ना शासकहरूसित हमला मच्च्याए, 6 तब त्यो कुरा थाहा पाएर उनीहरू लुकाओनियाका शहरहरू अर्थात् लुस्त्रा र डेर्बेमा, र वरिपरिका इलाकाहुँदो भागे। 7 अनि त्यहाँ उनीहरूले सुसमाचार प्रचार गरे।8 अनि लुस्त्रामा आफ्नी आमाको गर्भैबाट लङ्गड़ा भएकोले खुट्टामा बल नभएको कुनै एउटा मानिस बसिरहेको थियो, जो कहिल्यै हिँड़ेको थिएन। 9 त्यसले पावललाई बोलिरहेका सुन्यो; उनले त्यसलाई डिठ लाएर हेरे, र त्यसमा निको हुने विश्वास रहेछ भन्ने थाहा पाए, 10 र ठूलो सोरले भने: “आफ्ना खुट्टामा सीधा उभ!” अनि त्यो फुत्रुक्क उफ्र्यो, र हिँड़्यो। 11 जब ती मानिसहरूले पावलले गरेको त्यो कुरा देखे, तब तिनीहरूले लुकाओनिया भाषामा यसो भन्दै ठूलो सोरले चिच्च्याए: “देवताहरू मानिसहरूको रूपमा हामीकहाँ ओर्ली आउनुभएको छ!” 12 अनि तिनीहरूले बर्नबासलाई जेऊसक र पावललाई हेर्मेसक भने, किनकि उनीचाहिँ मुख्य वक्ता थिए। 13 तब जेऊसको पूजाहारीले, जसको मन्दिरचाहिँ तिनीहरूको शहरकै अघिल्तिर थियो, मूलढोकाहरूमा गोरुहरू र मालाहरू ल्यायो अनि ती भीड़हरूसित बलिदान चढ़ाउने इच्छा गर्यो। 14 तर जब प्रेरितहरूले अर्थात् बर्नबास र पावलले यो सुने, तब उनीहरूले आफ्ना लुगा च्याते, अनि चिच्च्याउँदै र यसो भन्दै भीड़भित्र दगुरेर पसे: 15 “हजुरहरूहो, तपाईंहरू किन यी कुराहरू गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै दु:खसुख भोगी मानिसहरू हौं, अनि यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतकहाँ फर्कनुहोस् भनी तपाईंहरूलाई सुसमाचार सुनाउँछौं; उहाँले आकाश, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै थोकहरू बनाउनुभयो; 16 बितेका समयहरूमा उहाँले सबै जातिहरूलाई तिनीहरूका आ-आफ्नै बाटोमा हिँड़्न दिनुभयो। 17 तरै पनि उहाँले आफूलाई विनासाक्षी छोड़्नुभएन – भलाइ गरेर, हामीलाई आकाशबाट वर्षा र फल लाग्ने ऋतुहरू दिएर उहाँले भोजन र आनन्दले हाम्रा हृदयहरूलाई भर्नुभयो।” 18 अनि यी कुराहरू भनेर उनीहरूले ती मानिसहरूलाई आफ्नो सामु बलिदान चढ़ाउनदेखि मुस्किलसित रोके।
19 अनि एन्टिओक र इकोनियमबाट केही यहूदीहरू त्यहाँ आए, अनि तिनीहरूले भीड़हरूलाई मनाएर पावललाई ढुङ्गाले हाने र उनी मरेछन् भन्ठानेर उनलाई शहरदेखि बाहिर घिस्स्याएर लगे। 20 तर जब चेलाहरू उनका वरिपरि खड़ा भए, तब उनी उठे र त्यस शहरभित्र गए। अनि भोलिपल्ट उनी बर्नबाससँग डेर्बेतिर लागे। 21 अनि त्यस शहरलाई सुसमाचार प्रचार गरेर र धेरैजनालाई चेला बनाएर उनीहरू फेरि लुस्त्रा, इकोनियम र एन्टिओक फर्के, 22 अनि चेलाहरूका मनलाईख स्थिर गराए र ‘विश्वासमा लागिरहनुपर्छ र अनेकौं कष्ट सहँदै हामी परमेश्वरको राज्यभित्र पस्नुपर्छ’ भन्दै तिनीहरूलाई अर्ती दिए। 23 अनि हरेक मण्डलीमा तिनीहरूका निम्ति प्राचीनहरूलाईग नियुक्त गरेर र उपवाससहित प्रार्थना गरेर उनीहरूले तिनीहरूलाई प्रभुको हातमा सुम्पिदिए, जसमाथि तिनीहरूले विश्वास गरेका थिए। 24 अनि पिसिडियाबाट भएर गएपछि उनीहरू पाम्फिलियामा आए। 25 अनि पेर्गामा वचन प्रचार गरेपछि उनीहरू तल अट्टालियामा गए, 26 र त्यहाँबाट उनीहरू जहाजद्वारा एन्टिओकमा आए, जहाँ आफूले पूरा गरेका कामका निम्ति उनीहरू परमेश्वरको अनुग्रहमा सुम्पिएका थिए। 27 अनि उनीहरू आएर मण्डलीलाई भेला पारेपछि परमेश्वरले उनीहरूको साथमा गर्नुभएका सबै कुराहरू र अन्यजातिहरूका निम्ति उहाँले विश्वासको ढोका खोलिदिनुभएको कुरा बताइदिए। 28 अनि धेरै समयसम्म उनीहरू त्यहाँ चेलाहरूको साथमा बसे।