प्रेरित पावलको पहिलो प्रचार-यात्रा
प्रेरित १३-१४ अध्याय
13
अब एन्टिओकमा भएको मण्डलीमा कति भविष्यवक्ता र शिक्षकहरू थिए: बर्नबास, नीगर भनिने शिमोन, कुरेनीवासी लुसियस, चौथाइका राजा हेरोदसँग हुर्काइएका मनाएन र शाउल। 2 तिनीहरूले प्रभुको सेवा गरिरहेका र उपवास बसिरहेका बेलामा पवित्र आत्माले भन्नुभयो: “मेरा निम्ति बर्नबास र शाउललाई त्यस कामका लागि अलग पार, जसका लागि मैले उनीहरूलाई बोलाएको छु।” 3 तब उपवास र प्रार्थना गरेर, अनि उनीहरूमाथि आफ्ना हातहरू राखेर तिनीहरूले उनीहरूलाई बिदा दिए।4 यसकारण उनीहरू पवित्र आत्माद्वारा पठाइएर सेलुसिया गए; अनि त्यहाँबाट उनीहरू जहाजमा साइप्रस गए। 5 अनि सलामिसमा आइपुगेपछि उनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको वचन प्रचार गरे; अनि उनीहरूसँग सेवकको रूपमा यूहन्ना पनि थिए। 6 अनि जब उनीहरू त्यो टापु पार गरेर पाफोससम्म पुगे, तब उनीहरूले एउटा टुनामुना गर्ने झूटा भविष्यवक्ता, बारयेशू नाम भएको यहूदीलाई भेट्टाए। 7 त्योचाहिँ अञ्चलाधीश सेर्गियस पौलसको साथमा थियो, जो बुद्धिमान् मानिस थिए। तिनले बर्नबास र शाउललाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे। 8 तर एलिमास टुन्याहाले, (किनकि यस नामको अर्थ नै टुनामुना गर्ने हो), अञ्चलाधीशलाई विश्वासबाट तर्काउन खोज्दै उनीहरूको सामना गर्यो। 9 तब शाउलले, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर त्यसलाई डिठ लाएर हेर्दै भने: 10 “हे सारा छल र सम्पूर्ण धूर्तताले भरिएको, शैतानको बच्चा, सारा धार्मिकताको वैरी, के तँ प्रभुका सीधा बाटाहरू बङ्ग्याउन छोड़्दैनस्? 11 अनि अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ केही समयका निम्ति घाम नदेख्ने अन्धा हुनेछस्!” अनि उत्तिखेरै कुइरो र अन्धकारले त्यसलाई छोपे, र हातमा समाती डोर्याओस् भनेर त्यो कसैलाई खोज्दै यताउति हिँड़्न लाग्यो। 12 तब त्यहाँ जे भएको थियो, सो देखीकन प्रभुको शिक्षामा चकित भएर ती अञ्चलाधीशले विश्वास गरे।
पिसिडियाको एन्टिओकमा प्रेरित पावल
13 अब पावल र उनको साथमा भएकाहरू पाफोसबाट जहाजमा यात्रा गरी पम्फिलियाको पेर्गामा आइपुगे; अनि यूहन्नाचाहिँ उनीहरूलाई छोड़ेर यरूशलेम फर्के। 14 तर उनीहरू पेर्गाबाट निस्केर पिसिडियाको एन्टिओकमा आइपुगे र विश्रामदिनमा सभाघरभित्र पसेर बसे। 15 अनि व्यवस्था र भविष्यवक्ताहरूका पुस्तक पढ़ेपछि सभाघरका शासकहरूले उनीहरूकहाँ यसो भनिपठाए: “हे मानिसहरू र भाइहरूहो, तपाईंहरूसँग मानिसहरूका निम्ति केही अर्तीको वचन छ भने भन्नुहोस्!” 16 तब पावल उठे, र हातले इशारा गरेर भने: “हे इस्राएलीहरू र परमेश्वरको डर मान्नेहरूहो, सुन्नुहोस्! 17 यस इस्राएल जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्नुभयो, र मिस्र देशमा परदेशी भएर रहँदा यस जातिलाई उच्च पार्नुभयो, अनि उच्च बाहुलीले उहाँले उनीहरूलाई त्यहाँबाट निकाल्नुभयो। 18 अनि प्राय: चालीस वर्षको अवधिसम्म उजाड़स्थानमा उहाँले उनीहरूको चालचलन सहनुभयो। 19 अनि कनान देशमा सातवटा जातिहरूलाई नाश पारेर उहाँले तिनीहरूको देश उनीहरूलाई चिट्ठा हाली-हाली बाँड़िदिनुभयो। 20 अनि यी कुरापछि प्राय: साढ़े चार सय वर्षसम्म, शमूएल भविष्यवक्ताको समयसम्म उहाँले उनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। 21 अनि त्यसपछि उनीहरूले राजा मागे; अनि चालीस वर्षको अवधिका लागि परमेश्वरले उनीहरूलाई बेन्यामीन कुलका एकजना मानिस, कीशका छोरा शाउल दिनुभयो। 22 अनि तिनलाई हटाएर उहाँले उनीहरूका निम्ति राजा हुनलाई दाऊदलाई खड़ा गर्नुभयो; उनकै विषयमा उहाँले गवाही दिएर भन्नुभयो: ‘मैले मेरो हृदयअनुसारको मानिस अर्थात् यिशाईको छोरा दाऊदलाई भेट्टाएको छु, जसले मेरा सम्पूर्ण इच्छा पूरा गर्नेछन्।’क 23 यही मानिसको वंशबाट परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार इस्राएलका निम्ति एकजना मुक्तिदाता अर्थात् येशूलाई खड़ा गर्नुभयो – 24 उहाँ आउनुभन्दा पहिले यूहन्नाले सारा इस्राएल जातिलाई पश्चात्तापको बप्तिस्मा प्रचार गरे। 25 अनि आफ्नो दौड़ पूरा गर्दै यूहन्नाले भने: ‘तिमीहरूलाई कस्तो लाग्छ – म को हुँ? म “उहाँ” होइन। तर हेर, मपछि एकजना आउनुहुन्छ, जसका पाउका जुत्ताहरू खोल्ने लायकको म छैनँ।’
26 मानिसहरू र भाइहरूहो, अब्राहामका घरानाका सन्तानहरूहो, र तपाईंहरूको बीचमा परमेश्वरको डर मान्नेहरूहो, तपाईंहरूकै निम्ति यो मुक्तिको वचन पठाइएको छ। 27 किनकि यरूशलेममा बस्नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, न ता हर विश्रामदिनमा पढ़िने भविष्यवक्ताहरूका वाणीहरू नै बुझे; यसकारण उहाँलाई दण्डको आज्ञा दिएर तिनीहरूले ती वाणीहरू पूरा गरेका छन्। 28 अनि तिनीहरूले मार्नलाई उहाँमा कुनै कारण नभेट्टाए तापनि तिनीहरूले पिलातसलाई ‘उहाँ मारिनैपर्छ’ भनी विन्ती गरे। 29 अनि जब तिनीहरूले उहाँको विषयमा लेखिएका सबै कुराहरू पूरा गरे, तब तिनीहरूले उहाँलाई रूखबाट उतारेर एउटा चिहानमा राखे। 30 तर परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो। 31 अनि उहाँसँग-सँगै गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्म देखा पर्नुभयो; तिनीहरू नै मानिसहरूको सामु उहाँका साक्षी हुन्। 32 अनि हामी तपाईंहरूलाई यो शुभ समाचार सुनाउँछौं – जुन प्रतिज्ञा पितापुर्खाहरूलाई दिइएको थियो, 33 त्यो प्रतिज्ञा परमेश्वरले येशूलाई बौराएर उठाईकन हामी उनीहरूका सन्तानका निम्ति पूरा गर्नुभयो, जसरी दोस्रो भजनमा पनि यो लेखिएको छ:
‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’ख
34 अनि उहाँले यहाँलाई मरेकाहरूबाट बिउँताउनुभयो – फेरि कहिल्यै नसड़्नलाई, यस विषयमा उहाँले यस प्रकारले भन्नुभएको छ:
‘तिमीहरूलाई म दाऊदका अटल कृपाहरू दिनेछु।’ग
35 यसकारण उहाँ अर्को भजनमा पनि भन्नुहुन्छ:
‘तपाईंले आफ्नो पवित्र जनलाई सड़्न दिनुहुनेछैन।’घ
36 किनभने दाऊद त परमेश्वरको इच्छाअनुसार उनको आफ्नै पुस्ताको सेवा गरेर सुतिहाले, अनि आफ्ना पितापुर्खाहरूसँग राखिए, र सड़े। 37 तर उहाँ जसलाई परमेश्वरले बौराएर उठाउनुभयो, उहाँ सड़्नुभएन।
38 यसकारण मानिसहरू र भाइहरूहो, यो कुरा तपाईंहरूलाई थाहा होस्! यिनै मानिसद्वारा तपाईंहरूलाई पापहरूको क्षमाको प्रचार गरिएको छ। 39 अनि मोशाको व्यवस्थाद्वारा तपाईंहरू जुन-जुन कुराहरूबाट धर्मी ठहरिन सक्नुभएन, ती सबै कुराहरूबाट हरेक विश्वास गर्ने मानिस उहाँद्वारा धर्मी ठहरिन्छ। 40 यसकारण होशियार हुनुहोस्, नत्र भविष्यवक्ताहरूमा जे भनिएको छ, त्यो तपाईंहरूमाथि आइपर्नेछ:
41 ‘हेर, तुच्छ ठान्नेहरूहो, छक्क पर र नष्ट होओ; किनकि तिमीहरूका दिनहरूमा म एउटा काम गर्छु, यस्तो काम कि कसैले यसको बयान तिमीहरूलाई दियो भने पनि तिमीहरूले यसलाई कुनै रीतिले विश्वास गर्नेछैनौ।’ ”ङ
42 अनि जब यहूदीहरू सभाघरदेखि बाहिर निस्के, तब अन्यजातिहरूले ‘हामीलाई अर्को विश्राम-दिनमा यी वचनहरू सुनाउनुहोस्’ भनी विन्ती गरे। 43 अब सभा उठेपछि यहूदीहरू र यहूदी धर्म अप्नाउने भक्तहरूमध्ये धेरैजनाले पावल र बर्नबासलाई पछ्याए; उनीहरूले तिनीहरूसँग कुरा गर्दै ‘परमेश्वरको अनुग्रहमा लागिरहनुहोस्’ भनी तिनीहरूलाई मनाए। 44 अनि अर्को विश्राम-दिनमा झन्डै सारा शहर नै परमेश्वरको वचन सुन्नलाई भेला भयो। 45 तर जब यहूदीहरूले भीड़हरूलाई देखे, तब तिनीहरू डाहाले भरिए, अनि विरोध गर्दै र निन्दा गर्दै पावलले बोलेका कुराहरू खण्डन गरे। 46 तर पावल र बर्नबासले साहसी भएर भने: “परमेश्वरको वचन पहिले तपाईंहरूलाई सुनाइनु खाँचो थियो; तर यसलाई तपाईंहरू इन्कार गर्नुहुन्छ र अनन्त जीवनका लागि आफूलाई अयोग्य ठहराउनुहुन्छ; यसकारण हेर्नुहोस्, हामी अन्यजातिहरूतिर फर्किन्छौं। 47 किनकि प्रभुले हामीलाई यसरी नै आज्ञा गर्नुभएको छ:
‘मैले तिमीलाई अन्यजातिहरूका ज्योति हुनका निम्ति ठहराएको छु, तिमी पृथ्वीको छेउसम्म मुक्तिको कारण हुनुपर्दछ।’ ”च
48 अनि यो सुनेर अन्यजातिहरू खुशी भए, र प्रभुको वचनलाई महिमा दिए; अनि अनन्त जीवनका निम्ति जतिजना ठहराइएका थिए, त्यत्तिले विश्वास गरे। 49 अनि सारा इलाकाभरि प्रभुको वचन फैलियो। 50 तर यहूदीहरूले भक्त र माननीय स्त्रीहरूलाई र शहरका मुख्य पुरुषहरूलाई हुच्च्याए, अनि पावल र बर्नबासको विरोधमा सतावट मच्च्याए, र उनीहरूलाई तिनीहरूको सिमानादेखि बाहिर निकालिदिए। 51 तर उनीहरूले आफ्ना पाउका धूला तिनीहरूको विरोधमा टकटक्याइराखेर इकोनियममा आए। 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिए।