झ्यालखानाबाट पत्रुसको छुटकारा
12
अनि त्यही समयतिर हेरोद राजाले मण्डलीका कसै-कसैलाई दुःख दिन हात बढ़ाए। 2 अनि तिनले यूहन्नाका दाजु याकूबलाई तरवारले मारे। 3 अनि यस कुराले यहूदीहरूलाई खुशी पारेको देखेर तिनी पत्रुसलाई पनि पक्रिनलाई अघि बढ़े। (अनि ती अखमीरी रोटीका दिनहरू थिए) 4 अनि तिनले उनलाई पक्रेपछि झ्यालखानामा हाले; अनि निस्तार चाड़पछि उनलाई मानिसहरूको सामु ल्याउने विचार गरेर तिनले उनलाई उनको रखवाली गर्नलाई चार-चार सिपाही भएका चार झुन्डको हातमा सुम्पिदिए। 5 यसकारण पत्रुस झ्यालखानामा राखिए; तर उनका निम्ति मण्डलीद्वारा परमेश्वरलाई अटुट प्रार्थना चढ़ाइयो। 6 तर जब हेरोदले उनलाई बाहिर ल्याउन लागेका थिए, तब त्यही रात पत्रुस दुईवटा साङ्लाले बाँधिएर दुईजना सिपाहीहरूको माझमा सुतिरहेका थिए; अनि पहरेदारहरूले ढोकाको अघिल्तिर झ्यालखानाको रखवाली गरिरहेका थिए। 7 अनि हेर, प्रभुका* दूत उनको छेउमा उभिए, र झ्यालखानामा ज्योति चम्क्यो; अनि तिनले पत्रुसलाई कोखामा हिर्काएर ‘छिटो उठ’ भन्दै उनलाई उठाए। अनि उनका साङ्लाहरू उनका हातबाट खसे। 8 अनि यी स्वर्गदूतले उनलाई भने: “कम्मर कस र आफ्ना जुत्ता लगाऊ!” अनि उनले त्यसै गरे। अनि तिनले उनलाई भने: “आफ्नो वस्त्र ओढ़ र मलाई पछयाऊ!” 9 अनि उनी निस्केर तिनको पछि लागे; अनि यी स्वर्गदूतद्वारा गरिएको कुरा साँच्चीकै हो भनी उनलाई थाहा भएन, तर उनले ‘म दर्शन देखिरहेको छु’ भन्ने सोचे। 10 जब उनीहरूले पहिलो र दोस्रो पहरेदार-चौकी पार गरे, तब उनीहरू एउटा फलामको ढोकानिर आइपुगे, जहाँबाट शहर पुगिन्थ्यो, त्यो उनीहरूका निम्ति आफै खोलियो; अनि उनीहरू बाहिर निस्के र एउटै सड़कबाट भएर गए; अनि तुरुन्तै स्वर्गदूत उनलाई छोड़ेर गए। 11 अनि होशमा आएपछि पत्रुसले भने: “अब मलाई पक्का गरी थाहा भयो, प्रभुले आफ्ना दूत पठाउनुभएको रहेछ र मलाई हेरोदको हातबाट र यहूदी मानिसहरूको सबै आशाबाट उम्काउनुभएको रहेछ।” 12 अनि यो कुरा विचार गर्दै उनी मर्कूस उपनाम भएका यूहन्नाकी आमा मरियमको घरमा आए, जहाँ धेरैजना भेला भएर प्रार्थना गरिरहेका थिए। 13 अनि जब पत्रुसले मूलढोकाकोक दैलोमा ढकढक्याए, तब रोदा नाम भएकी एउटी दासी सुन्न आई। 14 अनि पत्रुसको सोर चिनेर उसले खुशीको कारणले ढोका खोलिन, तर दगुरेर भित्र गई, र ‘पत्रुस ढोकाको सामु उभिरहनुभएको छ’ भनी खबर दिई। 15 अनि तिनीहरूले उसलाई भने: “तँ पगली होस्!” तर उसले ‘यसै नै हो’ भन्दै दृढ़तापूर्वक भनिरही। तब तिनीहरूले भने: “तिनी उहाँका दूत हुन्।” 16 तर पत्रुसले ढकढक्याइरहे; अनि जब तिनीहरूले ढोका खोले र उनलाई देखे, तब तिनीहरू छक्कै परे। 17 तर आफ्नो हातले तिनीहरूलाई ‘चुप लाग’ भन्ने इशारा गरेपछि प्रभुले उनलाई कसरी झ्यालखानाबाट निकाल्नुभयो, सो उनले तिनीहरूलाई बताइदिए। अनि उनले भने: “जाओ, यी कुराहरू याकूब र भाइहरूलाई बताइदेओ!” अनि उनी निस्केर अर्को ठाउँमा गए।18 अब दिन हुनसाथ ‘पत्रुसलाई के भयो’ भनी सिपाहीहरूको बीचमा बड़ो खैलाबैला मच्चियो। 19 अनि जब हेरोदले उनको खोज गरे, तर उनलाई भेट्टाएनन्; तब तिनले ती पहरेदारहरूलाई जाँचबुझ गरेपछि ‘यिनीहरू मारिऊन्’ भन्ने आज्ञा दिए। अनि तिनी यहूदियाबाट तल सिजरिया गएर त्यहीं बसे।
20 हेरोद टायर र सिडोनका मानिसहरूसँग साह्रै नाराज भएका थिए; तर तिनीहरू एकै मनका भएर तिनीकहाँ आए, र राजभवनका प्रबन्धक ब्लास्टसलाई मित्र बनाएर मिलाप गर्न खोजे; किनकि राजाको देशद्वारा उनीहरूको देशको पालनपोषण हुन्थ्यो। 21 अनि एउटा तोकिएको दिनमा राजकीय वस्त्र पहिरेर हेरोद आफ्नो सिंहासनमा बसे, र तिनीहरूलाई एउटा भाषण दिए। 22 अनि “यो त ईश्वरको वाणी हो, मानिसको होइन” भन्दै मानिसहरू चिच्च्याए। 23 अनि तुरुन्तै प्रभुका* दूतले तिनलाई हिर्काए, किनभने तिनले परमेश्वरलाई महिमा दिएनन्; अनि तिनी कीरा परेर मरे।