अन्यजातिका मानिससँगको सम्बन्धमा पत्रुसको स्पष्‍टीकरण
11
अनि अन्यजातिहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भनी प्रेरितहरू र यहूदियामा भएका भाइहरूले सुने। 2 अनि जब पत्रुस माथि यरूशलेम गए, तब खतना भएकाहरूले उनीसँग यसो भन्दै विवाद गरे: 3 “तपाईं त खतना नभएका मानिसहरूकहाँ जानुभएछ र तिनीहरूसँग खानुभएछ।” 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा शुरुदेखि क्रमैसँग यसो भन्दै बताइदिए: 5 “म जोप्पा शहरमा प्रार्थना गरिरहेको थिएँ; अनि अचेत अवस्थामा मैले एउटा दर्शन देखें: एउटा ठूलो चद्दरजस्तो पात्र तल झर्‍यो, जुनचाहिँ चारै कुना समातिएर आकाशबाट ओरालियो; अनि त्यो मकहाँ आयो। 6 जब मैले त्यसलाई ध्यानपूर्वक हेरें, तब मैले थाहा गरें, र पृथ्वीका चारखुट्टे जनावर, जङ्गली पशु, घस्रिने जन्तुहरू र आकाशका चराहरू देखें। 7 अनि मैले मलाई यसो भन्दै गरेको आवाज सुनें: ‘उठ पत्रुस, मार र खाऊ!’ 8 तर मैले भनें: ‘कुनै रीतिले हुँदैन, प्रभु; किनकि मेरो मुखभित्र कहिले पनि कुनै अपवित्र वा अशुद्ध वस्तु पसेको छैन।’ 9 तर त्यस आवाजले दोस्रो पटक मलाई स्वर्गबाट जवाफ दियो: ‘परमेश्‍वरले जसलाई शुद्ध पार्नुभएको छ, त्यसलाई तिमी अपवित्र नभन!’ 10 अनि यो कुरा तीनपल्‍टसम्म भयो, र सबै कुरा फेरि आकाशभित्र खिँचिए। 11 अनि हेर्नुहोस्, तुरुन्तै सिजरियाबाट मकहाँ पठाइएका तीनजना मानिसहरू म रहेको घरको अघिल्तिर उभिए। 12 अनि ‘केही शङ्का नगरी तिनीहरूसँग जाऊ’ भनी आत्माले मलाई आज्ञा गर्नुभयो। अनि यी छजना भाइहरू पनि मेरा साथ लागे, र हामी त्यस मानिसको घरभित्र पस्यौं। 13 अनि तिनले हामीलाई बताए – तिनले आफ्नो घरमा एउटा स्वर्गदूतलाई उभिरहेका र तिनलाई यसो भनिरहेका देखे: ‘जोप्पामा मानिसहरू पठाऊ, र पत्रुस उपनाम भएको शिमोनलाई बोलाऊ, 14 तिनले तिमीलाई वचनहरू बताउनेछन्, जसद्वारा तिमीले र तिम्रो सारा घरानाले मुक्ति पाउनेछौ।’ 15 अनि जब म बोल्न थालें, तब पवित्र आत्मा, जसरी शुरुमा हामीहरूमाथि ओर्लनुभएको थियो, त्यसरी नै उनीहरूमाथि ओर्लनुभयो। 16 तब प्रभुले यसो भन्‍नुभएको वचन मलाई सम्झना भयो: ‘यूहन्‍नाले साँच्‍चै पानीमा बप्‍तिस्‍मा दिए, तर तिमीहरू पवित्र आत्माले बप्‍तिस्‍मा गरिनेछौ।’ 17 यसैकारण परमेश्‍वरले हामी प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्नेहरूलाई जुन दान दिनुभएको थियो, त्यही दान उहाँले उनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरलाई रोक्न सक्ने म को थिएँ र?” 18 यी कुराहरू सुनेर तिनीहरू चुप भए, र यसो भन्दै परमेश्‍वरलाई महिमा दिए: “त्यसो भए परमेश्‍वरले अन्यजातिहरूलाई पनि जीवनका निम्ति पश्‍चात्ताप दिनुभएछ!”
एन्टिओकमा भएको मण्डली
19 अब स्टिफनसको सम्बन्धमा उठेको सङ्कष्‍टको कारणले जो चारैतिर छरपुस्ट भएका थिए, तिनीहरू अरू कसैलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै-गर्दै फोनिसिया, साइप्रस र एन्टिओसम्‍म गए। 20 तर तिनीहरूमध्ये कतिजनाचाहिँ साइप्रस र कुरेनीका मानिसहरू थिए, जसले एन्टिओकमा आएपछि ‘प्रभु येशू’ प्रचार गर्दै ग्रीक भाषा बोल्ने यहूदीहरूसित कुरा गरे। 21 अनि प्रभुको हात तिनीहरूको साथमा थियो, र धेरैजनाले विश्‍वास गरे र प्रभुकहाँ फर्के।
22 तब यी कुराहरूको खबर यरूशलेममा भएको मण्डलीका कानसम्म पुग्यो; अनि उनीहरूले बर्नबासलाई एन्टिओसम्‍म जानू भनी पठाए। 23 तिनी आएर र परमेश्‍वरको अनुग्रह देखेर आनन्दित भए, अनि तिनले ती सबैलाई ‘हृदयमा संकल्प गरेर प्रभुसँग टाँसिरहो’ भन्‍ने अर्ती दिए। 24 किनभने तिनी असल मानिस थिए, अनि पवित्र आत्मा र विश्‍वासले भरपूर थिए; अनि धेरै मानिसहरू प्रभुमा थपिए। 25 तब बर्नबास शाउललाई खोज्‍न टार्ससतिर लागे। 26 अनि उनलाई फेला पारेपछि तिनले उनलाई एन्टिओकमा ल्याए। अनि यस्तो भयो: एक सालभरि उनीहरू मण्डलीसँग भेला भए, र धेरै मानिसहरूलाई शिक्षा दिए। अनि चेलाहरू सबैभन्दा पहिले एन्टिओकमै ‘ख्रीष्‍टियान’ भनिए।
27 अनि यी दिनहरूमा भविष्यवक्ताहरू यरूशलेमबाट एन्टिओकमा आए। 28 अनि तिनीहरूमध्ये अगाबस नाम भएका एकजना उठे, र आत्माद्वारा ‘सारा संसारभरि ठूलो अनिकाल पर्नेछ’ भन्‍ने सूचना दिए; त्योचाहिँ सिजर क्लाउडियसको समयमा पर्‍यो। 29 तब चेलाहरूले, हरेकले आफ्नो औकातमुताबिक यहूदियामा बसेका भाइहरूका निम्ति सहायता पठाउने निर्णय गरे; 30 यही तिनीहरूले गरे, र बर्नबास र शाउलको हातद्वारा त्यो प्राचीनहरूकहाँ पठाइदिए।