पत्रुस र कर्नेलियस
10
तर सिजरियामा कर्नेलियस नाम भएका एकजना मानिस थिए, जो इटाली भनिने पल्टनका सुबेदार थिए, 2 जो भक्ति गर्ने र आफ्नो सारा घरानासँग परमेश्‍वरको डर मान्‍ने मानिस थिए; तिनले मानिसहरूलाई धेरै दानहरू दिन्थे र परमेश्‍वरलाई सधैं प्रार्थना गर्ने गर्थे। 3 दिनको तीन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एकजना दूतलाई आफूकहाँ आइरहेका र आफूलाई ‘हे कर्नेलियस’ भनी बोलाइरहेका सफासित देखे। 4 अनि जब तिनले उनलाई डिठ लाएर हेरे, तब तिनी डराए, र भने: “यो के हो, प्रभु?” अनि उनले तिनलाई भने: “तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरू सम्झनाका निम्ति माथि परमेश्‍वरको सामु आइपुगेका छन्। 5 अनि अब जोप्पामा मानिसहरू पठाऊ, र पत्रुस उपनाम भएका शिमोनलाई बोलाऊ! 6 तिनीचाहिँ छाला बनाउने कुनै एकजना शिमोनकहाँ पाहुना छन्, जसको घर समुद्रकै किनारमा छ; तिमीले जे गर्नुपर्छ, सो तिनले तिमीलाई बताउनेछन्।” 7 अनि जब तिनीसँग बोल्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना घरका नोकरहरूमध्ये दुईजनालाई र तिनको सेवामा नित्य लागिरहनेहरूमध्ये एउटा भक्त सिपाहीलाई बोलाए; 8 अनि तिनीहरूलाई यी सबै कुराहरू बताएपछि तिनले तिनीहरूलाई जोप्पामा पठाए।
9 भोलिपल्ट, तिनीहरू यात्रा गर्दै र त्यस शहरको नजिकै पुग्दा, प्राय: बाह्र बजेतिर पत्रुस प्रार्थना गर्न कौसीमा उक्ले। 10 अनि उनी साह्रै भोकाए, र उनले खाने इच्छा गरे; तर तिनीहरूले तयारी गर्दै गर्दा उनी अचेत भए, 11 अनि उनले आकाश उघारिएको र चारै कुना बाँधिएको एउटा ठूलो चद्दरजस्तो पात्र आफूतिर झर्दै गरेको र पृथ्वीमाथि ओरालिएको देखे; 12 त्यसमा पृथ्वीका सबै प्रकारका चारखुट्टे जनावर, जङ्गली पशु, घस्रिने जन्तुहरू र आकाशका चराहरू थिए। 13 अनि उनीकहाँ एउटा आवाज आयो: “ उठ पत्रुस, मार र खाऊ!” 14 तर पत्रुसले भने: “कुनै रीतिले हुँदैन, प्रभु; किनकि मैले कहिले पनि कुनै अपवित्र वा अशुद्ध वस्तु खाएको छैनँ।” 15 अनि फेरि दोस्रोपटक त्यो आवाज उनीकहाँ आयो: “परमेश्‍वरले जसलाई शुद्ध पार्नुभएको छ, त्यसलाई तिमी अपवित्र नभन!” 16 यो कुरा तीनपल्‍टसम्म भयो, अनि त्यो पात्र फेरि माथि आकाशमा लगियो। 17 अब आफूले देखेको यस दर्शनको अर्थ के होला भनी पत्रुस मनमा अलमल्‍ल परिरहेकै बेलामा हेर, कर्नेलियसबाट पठाइएका ती मानिसहरू शिमोनको घरमा सोधपुछ गरी ढोकाकै सामु उभिए, 18 र ‘पत्रुस उपनाम भएका शिमोन यहीं पाहुना भई बसेका छन् कि?’ भनी बोलाएर सोधे। 19 पत्रुसले यस दर्शनको विषयमा सोचिरहेको बेलामा आत्माले उनलाई भन्‍नुभयो: “हेर, तीनजना मानिसहरूले तिमीलाई खोजिरहेका छन्। 20 यसकारण उठ, र तल ओर्ल, अनि केही शङ्का नगरीकन तिनीहरूसँग जाऊ; किनभने मैले तिनीहरूलाई पठाएको हुँ।” 21 तब पत्रुस कर्नेलियसबाट उनीकहाँ पठाइएको मानिसहरूकहाँ ओर्लेर गए, र भने: “हेर, जसलाई तिमीहरू खोजिरहेका छौ, त्यो म नै हुँ। त्यो कारण के हो, जसका निम्ति तिमीहरू आएका छौ?” 22 अनि तिनीहरूले भने: “सुबेदार कर्नेलियस धर्मी, परमेश्‍वरको डर मान्‍ने र सारा यहूदी जातिको बीचमा सुनाम भएका मानिस हुनुहुन्छ; उहाँले, तपाईंलाई आफ्नो घरमा बोलाउनू र तपाईंबाट वचनहरू सुन्‍नू भन्‍ने परमेश्‍वरबाटको चेताउनी एकजना पवित्र स्वर्गदूतद्वारा पाउनुभयो।” 23 तब उनले तिनीहरूलाई भित्र बोलाए र तिनीहरूलाई सत्कार गरे। अनि भोलिपल्ट पत्रुस तिनीहरूसँग हिँड़े, र जोप्पाका केही भाइहरू उनको साथ लागे।
24 अनि भोलिपल्ट उनीहरू सिजरियामा पसे। अनि कर्नेलियसले आफ्ना साखासन्तानहरू र इष्‍टमित्रहरूलाई भेला पारेर उनीहरूको बाटो हेरिरहेका थिए। 25 अनि पत्रुस भित्र आउँदै गर्दा कर्नेलियसले उनीसित भेट गरे, र उनका पाउमा परेर उनलाई दण्‍डवत्‌ गरे। 26 तर पत्रुसले यसो भन्दै तिनलाई उठाए: “उभिनुहोस्, म आफै पनि त मानिसै हुँ।” 27 अनि तिनीसित कुरा गर्दै उनी भित्र पसे, र उनले धेरैजनालाई भेला भएका भेट्टाए। 28 अनि उनले तिनीहरूलाई भने: “एउटा यहूदी मानिसका लागि एउटा अन्यजाति मानिससँग सङ्गति गर्नु वा उसकहाँ जानुचाहिँ कति अधर्म हो, सो तपाईंहरूचाहिँ जान्‍नुहुन्‍छ; तर मैले कुनै पनि मानिसलाई अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ। 29 यसैकारण बोलाइनसाथ केही विरोध नगरी म तपाईंकहाँ आइहालें। यसकारण म सोध्दछु, कुन मनसायले तपाईंहरूले मलाई बोलाउनुभएको हो?” 30 अनि कर्नेलियसले भने: “चार दिन अघि यही बेलासम्म मैले उपवास बसिरहेको थिएँ र तीन बजे म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ, अनि हेर्नुहोस्, एकजना चम्किलो वस्त्र पहिरेका मानिस मेरो अगाड़ि उभिए, 31 र भने: ‘कर्नेलियस, तिम्रो प्रार्थना सुनिएको छ र परमेश्‍वरको सामु तिम्रा दानहरूको सम्झना गरिएको छ। 32 यसकारण जोप्पामा पठाऊ र पत्रुस उपनाम भएका शिमोनलाई यहाँ बोलाऊ; उनीचाहिँ समुद्रको किनारमा छाला बनाउने एकजना शिमोनको घरमा पाहुना भई बसेका छन्; उनी आएपछि तिमीसँग कुरा गर्नेछन्।’ 33 यसकारण तुरुन्तै मैले तपाईंकहाँ पठाएँ; अनि तपाईंले आईकन असल गर्नुभएको छ। यसकारण अब परमेश्‍वरद्वारा तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍नलाई हामी सबै यहाँ परमेश्‍वरको सामुन्‍ने उपस्थित छौं।”
कर्नेलियसको घरमा पत्रुसको प्रवचन
34 तब पत्रुसले मुख खोलेर भने: “साँच्‍चै म थाहा गर्दछु, परमेश्‍वर कसैको पक्षपात गर्नुहुन्‍न। 35 तर हरेक जातिमा जसले उहाँको डर मान्छ र धार्मिकताको काम गर्छ, ऊ उहाँका लागि ग्रहणयोग्य हुन्छ। 36 परमेश्‍वरले त्यो वचन येशू ख्रीष्‍टद्वारा – उहाँ नै सबैका प्रभु हुनुहुन्छ – शान्तिको प्रचार गर्दै इस्राएलका सन्तानहरूकहाँ पठाउनुभयो; 37 तपाईंहरूलाई थाहै छ, यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि त्यो वचन गालीलबाट शुरु भएर सारा यहूदियाभरि प्रचारियो; 38 अर्थात्‌ नासरतका येशूलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो; भलाइ गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै उहाँ चारैतिर घुम्‍नुभयो, किनकि परमेश्‍वर उहाँसँग हुनुहुन्थ्यो। 39 अनि यहूदीहरूको मुलुक र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती सबै कुराहरूका साक्षी हामी हौं; उहाँलाई तिनीहरूले रूखमा झुन्ड्याएर मारे। 40 उहाँलाई परमेश्‍वरले तेस्रो दिनमा बौराएर उठाउनुभयो र उहाँलाई खुल्‍लमखुल्‍ला प्रकट गर्नुभयो – 41 सबै मानिसहरूकहाँ त होइन, तर परमेश्‍वरद्वारा पहिल्यै चुनिएका साक्षीहरूकहाँ अर्थात्‌ हामीकहाँ; उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभएपछि हामीले उहाँसँगै खायौं-पियौं। 42 अनि हामीलाई उहाँले ‘मानिसहरूलाई प्रचार गर, र जिउँदा र मरेकाहरूका न्यायकर्ता हुनलाई यहाँ नै परमेश्‍वरद्वारा नियुक्त गरिनुभएको हो भन्‍ने गवाही देओ’ भनी आज्ञा गर्नुभयो। 43 उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ भनी सबै भविष्यवक्ताहरूले उहाँकै विषयमा गवाही दिन्छन्।”
44 पत्रुसले यी वचनहरू बोल्दा-बोल्दै पवित्र आत्मा वचन सुन्‍नेहरू सबैमाथि ओर्लनुभयो। 45 अनि अन्यजातिहरूमाथि पनि पवित्र आत्माको दान खन्याइयो भनेर पत्रुससँग आउने ती सबै खतना भएका विश्‍वासीहरूले ताजुप माने; 46 किनभने उनीहरूले तिनीहरूलाई अरू-अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका सुने। तब पत्रुसले जवाफ दिए: 47 “जसले हामीले जस्तो पवित्र आत्मा पाएका छन्, यिनीहरूले बप्‍तिस्‍मा लिन नपाऊन् भनेर कसले पानी रोक्न सक्छ र?” 48 अनि उनले तिनीहरूलाई प्रभुको नाममा बप्‍तिस्‍मा लिनू भनी आज्ञा दिए। तब तिनीहरूले उनलाई केही दिनसम्म रहिदिनुहोस् भनी विन्‍ती गरे।