शाउलको जीवन-परिवर्तन
9
तर शाउल अझै पनि प्रभुका चेलाहरूको विरोधमा धम्की र हत्याको फुत्कार छोड़्दै महापूजाहारीकहाँ गए, 2 र यस पन्थलाई पालन गर्ने कोही पनि पाएँ भने, चाहे पुरुष होऊन् चाहे स्त्री, तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनेर उनले तिनलाई दमस्कसका सभाघरहरूका निम्ति पत्रहरू मागे। 3 अनि यात्रा गर्दै-गर्दै उनी दमस्कसनिर आइपुगे, अनि एक्‍कासि उनको वरिपरि आकाशबाट ज्योति चम्क्यो। 4 अनि उनी भुइँमा लड़े, र उनले आफूलाई यसो भन्दै गरेको आवाज सुने: “शाउल, शाउल, तिमी मलाई किन सताउँछौ?” 5 अनि उनले भने: “तपाईं को हुनुहुन्छ, प्रभु?” अनि प्रभुले भन्‍नुभयो: “म येशू हुँ, जसलाई तिमी सताउँछौ। सुइराहरूमा लात हान्‍नु तिम्रा निम्ति कठिन छ।” 6 अनि उनले थरथर काम्दै र अचम्भित हुँदै भने: “हे प्रभु, म के गरूँ – तपाईं के चाहनुहुन्छ?” अनि प्रभुले उनलाई भन्‍नुभयो: “उठ र त्यस शहरमा जाऊ, अनि तिमीले जे गर्नुपर्छ, सो तिमीलाई बताइनेछ।” 7 अनि उनीसँग यात्रा गर्ने मानिसहरू सोरचाहिँ सुनेर, तर कसैलाई नदेखेर अक्‍क न बक्‍क भएर उभिरहे। 8 अनि शाउल भुइँबाट उठे; अनि जब उनका आँखाहरू खोलिए, तब उनले कसैलाई देखेनन्, तर तिनीहरूले उनलाई हातमा समातेर डोर्‍याउँदै दमस्‍कसमा ल्याए। 9 अनि तीन दिनसम्म उनले देख्‍न सकेनन्, अनि खाएनन् र पिएनन् पनि।
10 अनि दमस्‍कसमा हनानिया नाम भएका कुनै एकजना चेला थिए; अनि प्रभुले तिनलाई दर्शनमा भन्‍नुभयो: “हे हनानिया!” अनि तिनले भने: “हेर्नुहोस् प्रभु, म यहाँ छु।” 11 अनि प्रभुले तिनलाई भन्‍नुभयो: “उठ, र ‘सीधा’ भनिने सड़कमा जाऊ; अनि यहूदाको घरमा शाउल नाम भएको टार्ससको एकजना मानिसको विषयमा सोधपुछ गर; किनभने हेर, ऊ प्रार्थना गरिरहेछ, 12 अनि हनानिया नाम भएको मानिसलाई भित्र पसेको र उसले दृष्‍टि पाओस् भनेर उसमाथि आफ्नो हात राखेको उसले दर्शनमा देखेको छ।” 13 तब हनानियाले जवाफ दिए: “हे प्रभु, मैले धेरैजनाबाट उसको विषयमा, उसले यरूशलेममा तपाईंका पवित्र जनहरूप्रति कति धेरै खराबी गरेको छ, सो सुनेको छु; 14 अनि यहाँ, जतिले तपाईंको नाम पुकार्छन्, ती सबैलाई बाँध्‍ने अधिकार उसले मुख्य पूजाहारीहरूबाट पाएको छ।” 15 तर प्रभुले तिनलाई भन्‍नुभयो: “तिमी जाऊ, किनकि ऊ अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नामको घोषणा गर्नलाई मेरा लागि चुनिएको भाँड़ा हो; 16 किनभने उसले मेरो नामका निम्ति कति धेरै दुःख भोग्‍नुपर्छ, सो म उसलाई देखाउनेछु।” 17 तब हनानिया आफ्नो बाटो लागे र त्यस घरभित्र पसे; अनि आफ्ना हातहरू उनीमाथि राखेर तिनले भने: “हे भाइ शाउल, तपाईं आउँदै गर्नुहुँदा बाटोमा जुन येशू तपाईंकहाँ देखा पर्नुभयो, त्यही प्रभुले तपाईंले देख्‍न सक्नुहोस्, र पवित्र आत्माले भरपूर हुनुहोस् भनेर मलाई पठाउनुभएको हो।” 18 अनि तुरुन्तै उनका आँखाहरूबाट पाप्राहरूझैं केही खसे; अनि तत्कालै उनले दृष्‍टि पाए र उठेर बप्‍तिस्‍मा लिए। 19 अनि खाना खाएपछि उनले बल पाए। तब शाउल केही दिनसम्म दमस्‍कसमा भएका चेलाहरूसँग रहे। 20 अनि तुरुन्तै उनले सभाघरहरूमा ‘उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ’ भन्दै ‘ख्रीष्‍ट’ प्रचार गरे। 21 तर उनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे, र तिनीहरूले भने: “के यो नाम पुकार्नेहरूलाई यरूशलेममा नाश गर्ने यिनी नै होइनन् र? अनि के तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजाने उद्देश्यले यहाँ पनि यिनी आएका होइनन् र?” 22 तर शाउल झन्-झन् सामर्थी हुँदै गए, र ‘उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ’ भनी प्रमाण दिई-दिईकन दमस्‍कसमा बस्‍ने यहूदीहरूलाई हराइदिए।
यरूशलेममा शाउल
23 अनि धेरै दिन बितेपछि यहूदीहरूले उनलाई मार्ने मतो गरे; 24 तर तिनीहरूको षड़्यन्‍त्र शाउललाई थाहा भयो। अनि उनलाई मार्न तिनीहरू दिनरात मूलढोकाहरूमा ढुकिबस्थे। 25 तब चेलाहरूले उनलाई राती लगेर पर्खालबाट टोकरीमा तल ओरालिदिए।
26 अनि यरूशलेममा आइपुगेपछि शाउलले आफूलाई चेलाहरूसँग मिलाउने कोशिश गरे; तर उनी पनि चेला हुन् भनी विश्‍वास नगरेकाले तिनीहरू सबै उनीसँग डराए। 27 तर बर्नबासले उनलाई लगे र प्रेरितहरूकहाँ पुर्‍याए, अनि कसरी उनले बाटोमा प्रभुलाई देखे, र कसरी उहाँ उनीसँग बोल्नुभयो, अनि कसरी उनले दमस्‍कसमा येशूको नाममा साहससित प्रचार गरे, सो कुरा तिनले उनीहरूलाई बताइदिए। 28 अनि उनी यरूशलेममा भित्र-बाहिर गर्दै उनीहरूसितै रहन्थे। 29 अनि उनी प्रभु येशूको नाममा साहससँग बोल्थे, र ग्रीक भाषा बोल्ने यहूदीहरूसँग तर्क गरे; तर तिनीहरूले उनलाई मार्न खोजे। 30 यो कुरा भाइहरूले थाहा पाएर तिनीहरूले उनलाई तल सिजरियामा झारे र उनलाई त्यहाँबाट टार्सस पठाइदिए। 31 तब सारा यहूदिया, गालील र सामरियामा मण्डलीहरूले विश्राम पाए, र तिनीहरूको उन्‍नति भयो; अनि प्रभुको डरमा र पवित्र आत्माको सान्‍त्वनामा हिँड़ेर तिनीहरू बढ़्दै गए।
ऐनियास निको पारियो
32 अनि यस्तो भयो: पत्रुस सबै ठाउँहरूबाट भएर जाँदा लिड्डामा बस्‍ने पवित्र जनहरूकहाँ पनि झरे। 33 अनि त्यहाँ उनले ऐनियास नाम भएको कुनै एउटा मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि ओछ्यानमा परेको थियो र उसलाई पक्षाघात भएको थियो। 34 अनि पत्रुसले उसलाई भने: “ऐनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ; उठ, र आफ्नो ओछ्यान लगाऊ!” अनि तुरुन्तै ऊ उठ्यो। 35 अनि लिड्डा र शारोनमा बस्‍ने सबैले उसलाई देखे, र प्रभुकहाँ फर्के।
तबिता जीवित पारिइन्
36 अब जोप्पामा तबिता (जसको अर्थ ‘डोरकास’हो) नाम भएकी कुनै एउटी चेली थिइन्; तिनी असल-असल कामहरू र दानहरूले भरिएकी थिइन्, जुनचाहिँ तिनले गर्ने गर्थिन्। 37 अनि ती दिनहरूमा यस्तो भयो: तिनी बिरामी भइन्, र मरिन्। तिनलाई धोइधाइ गरेर तिनीहरूले माथिल्‍लो कोठामा राखे। 38 अनि लिड्डाचाहिँ जोप्पाको नजिकै भएकोले र पत्रुस त्यहाँ छन् भनी चेलाहरूले सुनेका हुनाले ‘हामीकहाँ आउनमा ढिलो नगरिदिनुहोस्’ भनी विन्‍ती गर्दै तिनीहरूले दुईजना मानिसहरू उनीकहाँ पठाए। 39 तब पत्रुस उठेर तिनीहरूसँग गए। उनी आइपुगेपछि तिनीहरूले उनलाई त्यस माथिल्‍लो कोठामा लगे; अनि सबै विधवाहरू रुँदै कोटहरू र लुगाहरू देखाउँदै उनको छेउमा उभिए, जुनचाहिँ डोरकासले उनीहरूको साथमा हुँदा बनाएकी थिइन्। 40 तर पत्रुसले सबैलाई बाहिर पठाएर घुँड़ा टेकी प्रार्थना गरे; अनि त्यस शरीरतिर फर्केर भने: “तबिता, उठ!” तब तिनले आफ्ना आँखाहरू खोलिन्, अनि पत्रुसलाई देखेर तिनी उठेर बसिन्। 41 अनि तिनलाई आफ्नो हात दिएर उनले तिनलाई उठाए; अनि पवित्र जनहरू र विधवाहरूलाई बोलाएर उनले तिनलाई जीवित देखाइदिए। 42 अनि सारा जोप्पाभरि यो कुरा थाहा भयो; अनि धेरैले प्रभुमाथि विश्‍वास गरे। 43 अनि यस्तो भयो: उनी जोप्पामा छाला बनाउने एकजना शिमोनसँग धेरै दिनसम्म बसिरहे।