सामरियामा फिलिपको सेवा
8
अनि शाउलले तिनको हत्यामा सहमति दिइरहेका थिए। अनि त्यस समयमा यरूशलेममा भएको मण्डलीको विरोधमा एउटा ठूलो सतावट परिआयो; अनि प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकाहरूभरि छरपुस्ट भए। 2 अनि भक्त जनहरूले स्टिफनसलाई लगेर गाड़े र तिनका निम्ति ठूलो विलाप गरे। 3 तर शाउलले चाहिँ मण्डलीलाई उजाड़ पारिरहेका थिए; घर-घर पसेर र पुरुष र स्त्रीहरूलाई घिसारेर तिनले तिनीहरूलाई झ्यालखानामा हाल्दथे। 4 यसकारण ती चारैतिर छरिएकाहरू सुसमाचारको वचन प्रचार गर्दै जहाँतहीँ गए।
5 तब फिलिप तल सामरियाको शहरमा गए, र तिनीहरूलाई ‘ख्रीष्‍ट’ प्रचार गरे। 6 अनि जब मानिसहरूले फिलिपले गरेका चिन्हहरू सुने र देखे, तब भीड़हरूले एकै मनका भएर उनले भनेका कुराहरूमा ध्यान दिए। 7 किनभने अशुद्ध आत्मा लागेका धेरै मानिसहरूबाट ती आत्माहरू ठूलो सोरले चिच्‍च्याउँदै निस्के; अनि धेरै पक्षाघात भएकाहरू र लङ्गड़ाहरू निको पारिए। 8 अनि त्यस शहरमा ठूलो आनन्द भयो। 9 तर शिमोन नाम भएको कुनै एउटा मानिस थियो, जसले त्यही शहरमा पहिले जादु गर्थ्यो, र ‘म एउटा महान् पुरुष हुँ’ भन्‍ने दाबी गर्दै सामरियाका मानिसहरूलाई दङ पार्थ्यो। 10 सानादेखि ठूलासम्मै सबैले ‘यी मानिस परमेश्‍वरका महान् शक्ति हुन्’ भन्दै त्यसलाई मानिरहेका थिए। 11 तिनीहरूले त्यसैलाई मान्थे, किनकि धेरै समयदेखि त्यसले आफ्ना जादुहरूद्वारा तिनीहरूलाई दङ पारिराखेको थियो। 12 तर जब तिनीहरूले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको नामको विषयमा फिलिपले प्रचार गरेका कुराहरू विश्‍वास गरे, तब तिनीहरू दुवै पुरुष र स्त्रीहरूले बप्‍तिस्‍मा लिए। 13 तब शिमोन आफैले पनि विश्‍वास गर्‍यो; अनि बप्‍तिस्‍मा लिएपछि त्यो निरन्‍तर फिलिपको साथमा रह्‍यो; अनि चिन्हहरू र सामर्थ्यका ठूला-ठूला कामहरू गरिएका देखेर त्यसले ताजुप मान्थ्यो।
14 अनि सामरियाले परमेश्‍वरको वचन ग्रहण गर्‍यो भन्‍ने कुरा जब यरूशलेममा रहेका प्रेरितहरूले सुने, तब उनीहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए। 15 तल आएपछि उनीहरूले ‘तिनीहरूले पवित्र आत्मा पाऊन्’ भनी तिनीहरूका निम्ति प्रार्थना गरिदिए। 16 किनभने तिनीहरूमध्ये कसैमाथि पनि उहाँ अहिलेसम्म ओर्लनुभएको थिएन; खालि तिनीहरूले प्रभु येशूको नाममा बप्‍तिस्‍मा लिएका थिए। 17 तब उनीहरूले तिनीहरूमाथि आफ्ना हातहरू राखे, र तिनीहरूले पवित्र आत्मा पाए। 18 अनि जब शिमोनले प्रेरितहरूका हातहरू राखिएकोले पवित्र आत्मा दिइनुभएको देख्यो, तब त्यसले उनीहरूलाई यसो भन्दै पैसा टक्र्यायो: 19 “मलाई पनि यो अधिकार दिनुहोस्, र जसमाथि म हातहरू राखूँला, उसले पवित्र आत्मा पाओस्!” 20 तर पत्रुसले त्यसलाई भने: “तिम्रो पैसा तिमीसँगै नाश होस्, किनकि परमेश्‍वरको दान पैसाद्वारा किन्‍न सकिन्छ भनी तिमीले सोचेका छौ। 21 यस कुरामा तिम्रो न कुनै भाग छ, न हिस्‍सा; किनकि तिम्रो हृदय परमेश्‍वरको दृष्‍टिमा सीधा छैन। 22 यसकारण तिम्रो यस दुष्‍टताबाट पश्‍चात्ताप गर र परमेश्‍वरलाई प्रार्थना गर, कहीं तिम्रो हृदयको विचार तिमीलाई क्षमा हुन्छ कि? 23 किनभने म देख्दछु, तिमी तीतो पित्तले भरिएका र अधर्मले बाँधिएका छौ।” 24 तब शिमोनले जवाफ दिँदै भन्यो: “तपाईंहरूले मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्‍नुभएका कुराहरूमध्ये कुनै पनि ममाथि आइनपरोस्!” 25 अनि गवाही दिएपछि र प्रभुको वचन प्रचार गरेपछि उनीहरू यरूशलेम फर्के, र सामरीहरूका अनेकौं गाउँहरूमा उनीहरूले सुसमाचार प्रचार गरे।
फिलिप र खजान्ची नपुंसक
26 अनि प्रभुका* दूत फिलिपसँग यसो भन्दै बोले: “उठ र दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ, जो सुनसान छ।” 27 अनि उनी उठेर गए; अनि हेर, एकजना एथियोपियाका मानिस, एथियोपियाकी रानी कन्दाकेका ठूलो अख्तियारवाला नपुंसक, जोचाहिँ उनका सारा सम्पत्तिका अधिकारी थिए, तिनी यरूशलेममा उपासना गर्न आएका थिए 28 र फर्किरहेका थिए, र आफ्नो रथमा बसेर भविष्यवक्ता यशैयाको पुस्तक पढ़िरहेका थिए। 29 तब आत्माले फिलिपलाई भन्‍नुभयो: “नजिकमा जाऊ र त्यस रथको साथ लाग!” 30 अनि फिलिप तिनीकहाँ दगुरे, र तिनलाई भविष्यवक्ता यशैयाको पुस्तक पढ़ेका सुनेर भने: “तपाईंले जे पढ़्दै हुनुहुन्छ, के तपाईं त्यो बुझ्नुहुन्छ?” 31 अनि तिनले भने: “कसैले मलाई नडोर्‍याएसम्म म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई माथि उक्लेर तिनीसँगै बस्‍नलाई विन्‍ती गरे। 32 अनि तिनले पढ़िरहेका पवित्रशास्त्रको खण्डचाहिँ यो थियो:
‘भेड़ाझैं उहाँ मारिनलाई लगिनुभयो; अनि जसरी थुमा आफ्नो ऊन कत्रनेको सामु चुपचाप रहन्छ, त्यसरी नै उहाँले आफ्नो मुख खोल्नुभएन। 33 उहाँको हीनतामा उहाँको न्याय खोसियो; अनि उहाँको पुस्ताको बयान कसले गर्ला? किनभने उहाँको जीवन पृथ्वीबाट उठाइएको छ।’
34 अनि ती नपुंसकले फिलिपलाई जवाफ दिँदै भने: “म तपाईंलाई विन्‍ती गर्दछु, भविष्यवक्ताले यो कसको विषयमा भन्दैछन्, आफ्नो विषयमा कि अरू कसैको विषयमा?” 35 तब फिलिपले आफ्नो मुख खोले र पवित्रशास्त्रको त्यही खण्डबाट शुरु गरेर तिनलाई ‘येशू’ प्रचार गरे। 36 अनि बाटोमा जाँदै गर्दा उनीहरू कुनै पानीनिर आइपुगे; अनि ती नपुंसकले भने: “हेर्नुहोस्, यहाँ पानी रहेछ! मलाई बप्‍तिस्‍मा लिन केले रोक्छ र?” 37 तब फिलिपले भने: “तपाईंले सम्पूर्ण हृदयले विश्‍वास गर्नुहुन्छ भने तपाईंले लिन सक्नुहुन्छ।” अनि तिनले जवाफ दिँदै भने: “म विश्‍वास गर्दछु, येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्छ।” 38 अनि तिनले रथ रोक्ने आज्ञा दिए; अनि उनीहरू दुवै पानीभित्र पसे – दुवै फिलिप र नपुंसक; अनि उनले तिनलाई बप्‍तिस्‍मा दिए। 39 अनि जब उनीहरू पानीबाट बाहिर निस्के, तब प्रभुको* आत्माले फिलिपलाई उठाएर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्; अनि तिनी रमाउँदै-रमाउँदै आफ्नो बाटो लागे। 40 तर फिलिप अजोतुसमा भेट्टाइए; अनि त्यहाँबाट जाँदै गर्दा सिजरिया नआइपुगुन्जेल तिनले सबै शहरहरूमा सुसमाचार प्रचार गरे।