महासभाको सामु स्टिफनसको प्रतिवाद
7
तब महापूजाहारीले भने: “के यी कुराहरू यस्तै हुन् त?” 2 अनि उनले भने: “मानिसहरू, दाजुभाइहरू र बुबाहरूहो, सुन्‍नुहोस्! हाम्रा पिता अब्राहामकहाँ, उनी हारानमा बस्‍नुभन्दा पहिले, उनी मेसोपोटामियामै हुँदा महिमाका परमेश्‍वर देखा पर्नुभयो, 3 र उनलाई भन्‍नुभयो: ‘तिमी आफ्नो देशबाट र आफ्ना साखासन्तानहरूको बीचबाट निस्क र त्यस देशमा आऊ, जुनचाहिँ म तिमीलाई देखाउनेछु।’ 4 तब उनी कल्दीहरूको देशबाट निस्केर आए, र हारानमा बसे; अनि त्यहाँबाट उनका बुबा मरेपछि उहाँले उनलाई यस देशमा सार्नुभयो, जहाँ तपाईंहरू अहिले बस्‍नुहुन्छ। 5 अनि उहाँले उनलाई यस देशमा कुनै पैतृक सम्पत्ति दिनुभएन, पाइला टेक्ने ठाउँसम्म पनि दिनुभएन; तरै पनि उनको कुनै सन्तान नभईकनै उहाँले ‘म यो देश तिमीलाई र तिमीपछि तिम्रा सन्तानलाई निज सम्पत्तिको रूपमा दिनेछु’ भनी प्रतिज्ञा गर्नुभयो। 6 अनि परमेश्‍वर यस प्रकारले बोल्नुभयो, ‘तिम्रा सन्तानहरू पराई देशमा परदेशी भएर रहनेछन्, र तिनीहरूले उनीहरूलाई कमारा बनाएर चार सय वर्षसम्म थिचोमिचो गर्नेछन्। 7 अनि उनीहरू जुन जातिका कमारा हुनेछन्, त्यसको म न्याय गर्नेछु,’ परमेश्‍वरले भन्‍नुभयो, ‘अनि त्यसपछि उनीहरू निस्कनेछन् र यस ठाउँमा मेरो सेवा गर्नेछन्।’ 8 अनि उहाँले उनीसँग खतनाको वाचा बाँध्‍नुभयो; अनि यसरी अब्राहामले इसहाकलाई जन्माए र आठौं दिनमा तिनको खतना गरे; र इसहाकले याकूबलाई जन्माए; अनि याकूबले बाह्रजना कुलपतिहरूलाई जन्माए। 9 अनि यी कुलपतिहरूले डाहा गरेर यूसुफलाई मिस्र देशमा बेचिपठाए; तर परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो, 10 र तिनलाई तिनका सबै कष्‍टहरूबाट छुटकारा दिनुभयो, अनि मिस्रका राजा फाराओको सामु तिनलाई कृपा र बुद्धि दिनुभयो; र उनले तिनलाई मिस्र देश र आफ्नो सारा घरानामाथि शासक बनाए। 11 अनि सारा मिस्र देश र कनानमा अनिकाल पर्‍यो, र भारी कष्‍ट भयो; अनि हाम्रा पुर्खाहरूले खानेकुरा पाएनन्। 12 तर याकूबले मिस्र देशमा अन्‍न छ भन्‍ने सुनेर उनले पहिलोचोटि हाम्रा पुर्खाहरूलाई पठाए। 13 अनि दोस्रोचोटिमा यूसुफले आफ्ना दाजुभाइहरूकहाँ आफूलाई चिनाए; अनि यूसुफको घराना फाराओकहाँ प्रकट भयो। 14 तब यूसुफले आफ्ना पिता याकूबलाई र उनका सबै साखासन्तानहरूलाई, जो पचहत्तर प्राणी थिए, आफूकहाँ बोलाइपठाए। 15 अनि याकूब तल मिस्रमा गए, र मरे – उनी र हाम्रा पुर्खाहरू। 16 अनि तिनीहरूका मृत शरीरहरू शेकेममा लगिए, र त्यस चिहानमा राखिए, जुनचाहिँ अब्राहामले शेकेमका बुबा हमोरका छोराहरूबाट पैसा तिरेर किनेका थिए। 17 तर जब परमेश्‍वरले अब्राहामसँग शपथ खाएर बाँध्‍नुभएको प्रतिज्ञाको समय नजिक आयो, 18 तब यूसुफलाई नचिन्‍ने अर्का राजा खड़ा नहोउन्जेल ती मानिसहरू मिस्रमा बढ़े, र संख्यामा धेरै भए। 19 ती राजाले चाहिँ हाम्रो जातिसँग धूर्ततापूर्वक व्यवहार गरे र हाम्रा पुर्खाहरूलाई थिचोमिचो गरेर उनीहरूका बालकहरूलाई धरि, तिनीहरू नबाँचून् भनेर फाल्न लाए।
20 त्यही समयमा मोशा जन्मे, र तिनी अत्यन्तै सुन्दर थिए, अनि तिनी आफ्ना बुबाको घरमा तीन महिनासम्म पालिए; 21 अनि जब तिनी फालिए, तब फाराओकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोराको रूपमा पालनपोषण गरिन्। 22 अनि मोशालाई मिस्रीहरूको सम्पूर्ण ज्ञानको शिक्षा दिइयो, अनि तिनी वचन र कामहरूमा सामर्थी थिए। 23 अनि जब तिनी पूरा चालीस वर्षका भए, तब तिनको हृदयमा आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट्ने इच्छा भयो। 24 अनि उनीहरूमध्ये एकजनालाई अन्यायमा परेको देखेर तिनले उसलाई रक्षा गरे र त्यस मिस्रीलाई मारेर अत्याचारमा परेको मानिसको बदला लिए। 25 किनकि तिनका हातद्वारा परमेश्‍वरले उनीहरूको छुटकारा गर्नुहुनेछ भन्‍ने कुरा तिनका दाजुभाइहरूले बुझ्नेछन् भनी मोशाले सोचेका थिए; तर उनीहरूले बुझेनन्। 26 अनि भोलिपल्ट तिनी आपसमा झगड़ा गरिरहेकाहरूकहाँ देखा परे, र यसो भन्दै तिनीहरूलाई मेल गराउने इच्छा गरे: ‘हे मानिसहरूहो, तिमीहरू त दाजुभाइ हौ; तिमीहरू किन एक-अर्कालाई अन्याय गर्दछौ?’ 27 तर जसले आफ्नो छिमेकीलाई अन्याय गरेको थियो, त्यसले यसो भन्दै तिनलाई घचेटिदियो: ‘तिमीलाई कसले हामीमाथि शासक र न्यायकर्ता तुल्यायो हँ? 28 जसरी तिमीले हिजो त्यस मिस्रीलाई मार्‍यौ, के त्यसरी नै तिमी मलाई मार्न चाहन्छौ?’ 29 तब यस भनाइले गर्दा मोशा भागे र मिद्यान देशमा परदेशी भए, जहाँ तिनले दुई छोराहरू जन्माए। 30 अनि चालीस वर्ष बितेपछि सिनाई पर्वतको उजाड़स्थानमा प्रभुका* दूत एउटा पोथ्रामा आगोको ज्वालाभित्र तिनीकहाँ देखा पर्नुभयो। 31 जब मोशाले यो देखे, तब तिनी त्यस दर्शनको कारणले छक्‍क परे; अनि यो हेर्नलाई तिनी नजिक आउँदा प्रभुको यो वाणी तिनीकहाँ आयो: 32 ‘म तिम्रा पितापुर्खाहरूका परमेश्‍वर – अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।’ तब मोशा थरथर कामे, र हेर्न साहस गरेनन्। 33 तब प्रभुले तिनलाई भन्‍नुभयो: ‘आफ्ना पाउबाट जुत्ता फुकाल; किनभने जुन ठाउँमा तिमी खड़ा छौ, त्यो पवित्र भूमि हो। 34 मैले देखेको छु, मिस्रमा भएका मेरा जनहरूको कष्‍ट मैले देखेको छु, र उनीहरूको ऐया-आत्था मैले सुनेको छु, अनि उनीहरूलाई छुटकारा दिन ओर्ली आएको हुँ। अनि अब आऊ, म तिमीलाई मिस्रमा पठाउनेछु।’ 35 यही मोशा, जसलाई उनीहरूले ‘तिमीलाई कसले शासक र न्यायकर्ता तुल्यायो?’ भन्दै इन्कार गरेका थिए, तिनैलाई परमेश्‍वरले पोथ्रामा तिनीकहाँ देखा पर्नुहुने स्वर्गदूतको हातद्वारा शासक र उद्धारकर्ताको रूपमा पठाउनुभयो। 36 तिनले मिस्र देशमा, लाल समुद्रमा र उजाड़स्थानमा चालीस वर्षसम्म अचम्मका काम र चिन्हहरू देखाएर उनीहरूलाई बाहिर ल्याए। 37 ती यिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भने: ‘परमप्रभु* तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै दाजुभाइहरूको बीचबाट मजस्तै एउटा भविष्यवक्ता खड़ा गर्नुहुनेछ; तिमीहरूले उहाँकै कुरा सुन्‍नू!’ 38 यिनी तिनी नै हुन्, जो उजाड़स्थानमा भएको मण्डलीमा ती स्वर्गदूतको साथमा थिए, जसले सिनाई पर्वतमा तिनीसँग र हाम्रा पुर्खाहरूसँग बोले। हामीलाई दिनका निम्ति तिनले जिउँदा ईश्‍वरीय वाणीहरू पाए, 39 जसको आज्ञापालन हाम्रा पुर्खाहरूले गर्न चाहेनन्, तर तिनलाई घचेटिदिए; र हारूनलाई यसो भन्दै आफ्नो हृदयले चाहिँ उनीहरू मिस्र देशतिर फर्के: 40 ‘हाम्रा निम्ति हाम्रो अघि-अघि जाने देवताहरू बनाइदिनुहोस्; किनकि हामीलाई मिस्र देशबाट निकालेर ल्याउने यी मोशालाई के-कसो भयो, हामी जान्दैनौं।’ 41 अनि ती दिनहरूमा तिनीहरूले एउटा बाछा बनाए, र त्यस मूर्तिलाई बलि चढ़ाए, अनि आफ्नै हातका कामहरूमा हर्ष मनाए। 42 तब परमेश्‍वरले पिठ्यूँ फर्काउनुभयो र उनीहरूले आकाशका गणलाई पुजून् भनेर उनीहरूलाई त्यागिदिनुभयो, जस्तो भविष्यवक्ताहरूको पुस्तकमा लेखिएको छ:
‘हे इस्राएलको घरानाहो, के तिमीहरूले चालीस वर्षको अवधिभित्र त्यस उजाड़स्थानमा मलाई नै मारिएका पशुहरू र बलिहरू चढ़ायौ? 43 अँ, तिमीहरूले त मोलेकको तम्बू र तिमीहरूको देवता रेम्फानको तारा साथमा लिइहिँड्‍यौ, अर्थात्‌ ती मूर्तिहरू, जसलाई तिमीहरूले पूजा गर्नलाई बनायौ; अनि म तिमीहरूलाई बेबिलोनपारि लैजानेछु।’
44 उजाड़स्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको तम्बू थियो, जसरी उहाँले मोशासँग बोल्नुहुँदै ‘तिमीले यसलाई तिमीले देखेको नमुनाअनुसार बनाउनू’ भनी अह्राउनुभएको थियो। 45 पछिबाट आउने हाम्रा पुर्खाहरूले त्यो तम्बू प्राप्‍त गरेर त्यसलाई यहोशूको साथमा अन्यजातिहरूको देशभित्र ल्याए, जुन अन्यजातिहरूलाई परमेश्‍वरले हाम्रा पुर्खाहरूको सामुबाट दाऊदको समयसम्म लखेट्नुभयो, 46 जसले परमेश्‍वरको सामु कृपा पाए र जसले याकूबका परमेश्‍वरका निम्ति एउटा वासस्थान पाऊँ भनी माग गरे। 47 तर सुलेमानले उहाँका निम्ति त्यो भवन बनाए। 48 तापनि परमप्रधान हातले बनाएका मन्दिरहरूमा वास गर्नुहुन्‍न, जस्तो भविष्यवक्ताले भन्दछन्:
49 ‘स्वर्ग मेरो सिंहासन र पृथ्वी मेरो पाउदान हो; तिमीहरू मेरा निम्ति कस्तो भवन बनाउनेछौ?, परमप्रभु* भन्‍नुहुन्‍छ, अथवा मेरो विश्रामस्थल कुन हो? 50 के मेरै हातले यी सबै कुराहरू बनाएको होइन र?’
51 हे कड़ा गर्दन भएका अनि हृदय र कानहरूको खतना नभएकाहरूहो, तपाईंहरू सधैं पवित्र आत्माको सामना गर्नुहुन्छ! जस्तो तपाईंहरूका पितापुर्खाहरूले गरे, त्यस्तै तपाईंहरू पनि गर्नुहुन्छ। 52 भविष्यवक्ताहरूमध्ये कसलाई चाहिँ तपाईंहरूका पितापुर्खाहरूले सताएनन् र? अनि तिनीहरूले उनीहरूलाई मारे, जसले यी धर्मी जनको आगमनको विषयमा भविष्यवाणी गरेका थिए, जसलाई पक्राउने र मार्नेचाहिँ अहिले तपाईंहरू हुनुभएको छ। 53 तपाईंहरूले स्वर्गदूतहरूको माध्यमद्वारा व्यवस्था पाउनुभयो, तर त्यसलाई पालन गर्नुभएन।”
स्टिफनसको हत्या
54 अनि यी कुराहरू सुनेर तिनीहरूका मुटु छेंड़िए, र तिनीहरूले तिनीमाथि दाह्रा किटे। 55 तर पवित्र आत्माले भरपूर भएर तिनले स्वर्गतिर डिठ लाएर हेरे, अनि परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे, 56 र भने: “हेर्नुहोस्, आकाशहरू खोलिएका र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको म देख्दछु!” 57 तब तिनीहरूले ठूलो सोरले चिच्‍च्याएर आफ्ना कान थुने, अनि एकै मनका भएर तिनीमाथि झम्टे, 58 र तिनलाई शहरदेखि बाहिर फालेर तिनीहरूले तिनलाई ढुङ्गाले हाने; अनि साक्षीहरूले आफ्ना लुगा शाउल नाम भएका जवान मानिसका पाउनिर राखे। 59 अनि तिनीहरूले स्टिफनसलाई ढुङ्गाले हाने, जसले परमेश्‍वरलाई पुकारिरहेका र ‘हे प्रभु येशू, मेरो आत्मा लिनुहोस्’ भनी भनिरहेका थिए। 60 अनि घुँड़ा टेकेर ठूलो सोरले कराएर तिनले भने: “हे प्रभु, यो पाप तिनीहरूमाथि नलगाउनुहोस्!” अनि यसो भनेपछि तिनी सुते।