माल्टा टापुमा स्वागत
28
जब तिनीहरू बाँचेर निस्के, तब त्यो टापु मेलिटाक भनिँदो रहेछ भनी तिनीहरूले थाहा पाए। 2 अनि ती आदिवासीख मानिसहरूले हामीलाई ठूलो दया देखाए; किनभने पानी परिरहेको र जाड़ो भएको हुनाले तिनीहरूले आगो बाले, र हामी सबैलाई स्वागत गरे। 3 अनि जब पावलले एक बिटा झिक्रा जम्मा पारेर आगोमाथि राखे, तब एउटा विषालु साँप रापबाट बाहिर निस्क्यो र उनको हातमा टाँसियो। 4 अनि जब ती आदिवासीहरूले त्यस विषालु जन्तुलाई उनको हातमा झुन्डिरहेको देखे, तब तिनीहरूले आपसमा भने: “यो मान्छे पक्कै ज्यानमारा रहेछ; समुद्रबाट उम्के तापनि न्यायले यसलाई जिउन नदिने रहेछ।” 5 अनि उनले त्यस जन्तुलाई झट्कारेर आगोभित्र फालिदिए र कुनै हानिको अनुभव गरेनन्। 6 तरै पनि तिनीहरूले उनी सुनिनेछन् वा एक्कासि मरेर ढल्नेछन् भनी हेरिरहेका थिए; तर तिनीहरूले धेरै बेरसम्म हेरेपछि पनि उनीमाथि कुनै हानि नआएको देखेर तिनीहरूले आफ्नो मन बदलेर भने: “यिनी ता देवता रहेछन्।”7 अनि त्यही इलाकामा त्यस टापुका पोप्लियस नाम भएका मुखियाका जग्गा-जमिन रहेछन्; उनले हामीलाई स्वागत गरे र तीन दिनसम्म मित्रभावले अतिथिसत्कार गरे। 8 अनि यस्तो भयो: पोप्लियसका बुबा ज्वरो र रगतमासीको बिमारीले थला परेका रहेछन्। पावल भित्र उनीकहाँ गए, र प्रार्थना गरेर उनीमाथि आफ्ना हातहरू राखे र उनलाई निको पारे। 9 जब यस्तो भयो, तब त्यस टापुका अरू-अरू बिरामीहरू पनि आए र निको पारिए। 10 अनि तिनीहरूले चाहिँ हामीलाई साह्रै आदर गरे; अनि हामी जहाजमा हिँड़्न लाग्दा तिनीहरूले हामीलाई खाँचो पर्ने कुराहरू हालिदिए।
11 अनि तीन महिनापछि हामी अलेक्जान्ड्रियाको जहाजमा हिँड्यौं, जसले त्यस टापुमा जाड़ो काटेको थियो र जसको चिन्हचाहिँ कास्टर र पोल्लुक्सग थियो। 12 अनि सिराकुसमा उत्रेर हामी तीन दिन बस्यौं। 13 त्यहाँबाट चक्कर लगाएर हामी रेगियममा आइपुग्यौं; अनि एक दिनपछि दक्षिणी हावा चल्यो, र अर्को दिन हामी पोटियोलीमा आइपुग्यौं।
रोममा प्रेरित पावलको सेवाकाइ
14 त्यहाँ हामीले भाइहरूलाई भेट्टायौं; अनि उनीहरूको साथमा सात दिनसम्म रहनका निम्ति हामीलाई विन्ती गरे; अनि यसरी हामी रोमतिर गयौं। 15 अनि त्यहाँबाट जब भाइहरूले हाम्रो विषयमा सुने, तब उनीहरू अप्पिफोरूमघ र ट्रेस टाबेर्नाइङ सम्म हामीलाई भेट्न आए; उनीहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद चढ़ाए, र साहस गरे। 16 अनि जब हामी रोममा आइपुग्यौं, तब ती सुबेदारले कैदीहरूलाई पहरेदारहरूका कप्तानको जिम्मामा सुम्पिदिए, तर पावललाई चाहिँ उनको रखवाली गर्ने एकजना सिपाहीसित एकलै बस्ने अनुमति मिल्यो।
17 अनि यस्तो भयो: तीन दिनपछि पावलले यहूदीहरूका मुख्य-मुख्य मानिसहरूलाई एकसाथ बोलाए; अनि तिनीहरू भेला भएपछि उनले तिनीहरूलाई भने: “मानिसहरू र दाजुभाइहरूहो, मैले हाम्रो जाति र हाम्रा पितापुर्खाहरूका रीतिविधिहरूको विरोधमा केही पनि गरेको छैनँ, तर पनि म कैदीको रूपमा यरूशलेमबाट रोमीहरूका हातमा सुम्पिइएँ। 18 तिनीहरूले मलाई जाँच गरेपछि छोड़िदिने इच्छा गरे, किनकि मृत्युदण्ड पाउने कुनै कारण ममा थिएन। 19 तर जब यहूदीहरूले विरोधमा बोले, तब सिजरलाई उजुर चढ़ाउनु मलाई करै लाग्यो – आफ्नो जातिलाई दोष लाउने कुनै कारण भएकोले त होइन। 20 यसकारण यसैका लागि तपाईंहरूसित भेट गरूँ र बातचित गरूँ भनेर मैले तपाईंहरूलाई बोलाएको हुँ; किनकि इस्राएलको आशाको खातिर म यस साङ्लाले बाँधिएको छु।” 21 अनि तिनीहरूले उनलाई भने: “हामीले तपाईंको विषयमा यहूदियाबाट न ता पत्रहरू पायौं, न ता यहाँ आउने भाइहरूमध्ये कसैले तपाईंको विषयमा केही खराब कुरा सुनाएकै वा भनेकै छ। 22 तर तपाईंको विचार के रहेछ, सो हामी तपाईंबाट सुन्न चाहन्छौं; किनकि यस पन्थको सम्बन्धमा हामीलाई थाहै छ: जहाँतहीं यसको विरोधमा कुरा गरिन्छ।”
23 अनि जब तिनीहरूले उनका निम्ति एउटा दिन ठहराए, तब धेरैजना उनीकहाँ उनको वासस्थानमा आए, जसलाई उनले बिहानदेखि बेलुकासम्म दुवै मोशाको व्यवस्था र भविष्यवक्ताहरूबाट येशूको विषयमा तिनीहरूलाई विश्वास दिलाउँदै परमेश्वरको राज्यको अर्थ खोली-खोली बताए र गवाही दिए। 24 अनि कतिले ती भनिएका कुराहरू विश्वास गरे, र कतिले विश्वास गरेनन्। 25 अनि जब तिनीहरू आपसमा एक मतका भएनन्, तब पावलले यो एउटा वचन भनेपछि तिनीहरू बिदा भए: “पवित्र आत्माले हाम्रा पितापुर्खाहरूलाई भविष्यवक्ता यशैयाद्वारा यसो भनेर सठीक भन्नुभयो:
26 ‘यस जातिकहाँ जाऊ, र भन: सुनिरहँदा तिमीहरूले सुन्नेछौ, तर कुनै रीतिले बुझ्नेछैनौ; हेरिरहँदा तिमीहरूले देख्नेछौ, तर कुनै रीतिले थाहा पाउनेछैनौ; 27 किनकि यस जातिको हृदय मोटो भएको छ, र तिनीहरूका कानहरू सुन्नलाई बोधा भएका छन्, अनि तिनीहरूले आफ्ना आँखाहरू बन्द गरेका छन्; कहीं कुनै समयमा आफ्ना आँखाहरूले देख्नुपर्ला कि, आफ्नो कानहरूले सुन्नुपर्ला कि, अनि आफ्नो हृदयले बुझ्नुपर्ला र फर्कनुपर्ला कि, र मैले तिनीहरूलाई निको पार्नुपर्ला कि भनेर।’च
28 यसकारण यो कुरा तपाईंहरूलाई थाहा होस्! ‘परमेश्वरको मुक्ति’ अन्यजातिहरूकहाँ पठाइएको छ, र तिनीहरूले सुन्नेछन्।” 29 अनि जब उनले यी कुराहरू भने, तब यहूदीहरू आपसमा ठूलो तर्क-वितर्क गर्दै बाटो लागे। 30 तब पावल पूरा दुई वर्षसम्म आफ्नै भाड़ामा लिएको घरमा बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गर्थे, 31 अनि पूरा साहससँग कसैको रोकटोकविना परमेश्वरको राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको विषयमा कुराहरू सिकाउँथे।