प्रभु येशूलाई पक्राउने यहुदा इस्करयोतीको गुप्त चाल
मत्ती २६:१४-१६; मर्कूस १४:१०-११
22
अब ‘निस्तार’ भनिने अखमीरी रोटीको चाड़ नजिक आइपुग्यो। 2 अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौं भनी खोजिरहेका थिए; किनकि तिनीहरू मानिसहरूदेखि डराउँथे। 3 तब शैतान इस्करयोती उपनाम भएको यहूदाभित्र पस्यो, जो बाह्रजनामध्ये एक गनिन्थ्यो। 4 अनि त्यो आफ्नो बाटो लाग्यो, र मुख्य पूजाहारीहरू र कप्तानहरूसित, कसरी त्यसले उहाँलाई तिनीहरूको हातमा पक्राइदिने हो भनी सरसल्लाह गर्यो। 5 अनि तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिने कबोल गरे। 6 अनि त्यसले प्रतिज्ञा गर्यो, र भीड़ नभएको बेलामा उहाँलाई तिनीहरूको हातमा पक्राइदिने मौका खोज्यो।निस्तारचाड़
मत्ती २६:१७-२५; मर्कूस १४:१२-२१
7 तब अखमीरी रोटीको दिन आयो, जुन समयमा निस्तारको पाठो बलिदान गरिनुपर्थ्यो। 8 अनि उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो: “जाओ, र हाम्रा निम्ति निस्तार-भोज तयार पार, र हामी खाऔं।” 9 अनि तिनीहरूले उहाँलाई भने: “हामी कहाँ तयार पारौं – तपाईं कहाँ चाहनुहुन्छ?” 10 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “हेर, जब तिमीहरू शहरभित्र पसेका हुन्छौ, तब पानीको गाग्रो बोकिरहेको एकजना मानिसले तिमीहरूलाई भेट्नेछ; जुन घरभित्र ऊ पस्छ, त्यहींसम्म उसलाई पछ्याओ! 11 अनि त्यस घरका मालिकलाई भन: ‘गुरुज्यूले तपाईंलाई भन्नुहुन्छ, “त्यो पाहुनाकोठा कहाँ छ, जहाँ म आफ्ना चेलाहरूसँग निस्तार-भोज खानेछु?” ’ 12 तब उनले तिमीहरूलाई राम्ररी सजाएर तयार पारिएको एउटा ठूलो माथिल्लो कोठा देखाउनेछन्, त्यहीं तयार पार!” 13 अनि तिनीहरू गए, र उहाँले तिनीहरूलाई भन्नुभएको जस्तै भेट्टाए; अनि तिनीहरूले निस्तार-भोज तयार पारे। 14 अनि जब घड़ी आयो, तब उहाँ बस्नुभयो, र बाह्रै प्रेरितहरू पनि उहाँसँग बसे। 15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “दुःख भोग्नुभन्दा पहिले तिमीहरूसित यो निस्तार-भोज खाने मैले साह्रै लालसा गरेको छु; 16 किनकि म तिमीहरूलाई भन्दछु, जबसम्म परमेश्वरको राज्यमा यो पूरा हुँदैन, तबसम्म म यसबाट कहिल्यै खानेछैनँ।” 17 अनि उहाँले कचौरा लिनुभयो र धन्यवाद दिएर भन्नुभयो: “यो लेओ, र आपसमा बाँड़; 18 किनकि म तिमीहरूलाई भन्दछु, जबसम्म परमेश्वरको राज्य आउनेछैन, तबसम्म म दाखको फलबाट कुनै रीतिले पिउनेछैनँ।”
प्रभुभोजको स्थापना
मत्ती २६:२६-२९; मर्कूस १४:२२-२५
19 अनि उहाँले रोटी लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो, र यसो भन्दै तिनीहरूलाई दिनुभयो: “यो मेरो शरीर हो, जो तिमीहरूका निम्ति दिइन्छ; मेरो सम्झनामा यो गर!” 20 यही प्रकारले खानुभएपछि उहाँले यसो भन्दै कचौरा पनि दिनुभयो: “यो कचौरा मेरो रगतमा भएको नयाँ वाचा हो, जुन रगत तिमीहरूका निम्ति बहाइन्छ। 21 तर हेर, मलाई पक्राइदिनेको हात मसित टेबलमाथि छ। 22 अनि साँच्चै मानिसका पुत्र त ठहराइएअनुसार जान्छन् नै; तर हाय त्यस मान्छेलाई, जसद्वारा उनी पक्राइँदछन्!” 23 अनि तिनीहरूमध्ये कसले यस्तो काम गर्ला भनी तिनीहरूले आपसमा सोधासोध गर्न लागे।
चेलाहरूमा सबैभन्दा ठूलो को हो?
मत्ती २०:२०-२८; मर्कूस ९:३३-३७ मर्कूस १०:३५-४५
24 अनि तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनी तिनीहरूको बीचमा कलह पनि भयो। 25 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूमाथि अधिकार जमाउनेहरूचाहिँ उपकारक भनिन्छन्। 26 तर तिमीहरूचाहिँ यस्तो नहुनू; तर तिमीहरूमध्ये जो सबभन्दा ठूलो हो, त्यो सानोझैं बनोस्; र जो अगुवा हो, त्योचाहिँ सेवा गर्नेझैं बनोस्। 27 किनकि ठूलो को हो? खान बस्ने कि सेवा गर्ने? के खानका निम्ति बस्नेचाहिँ ठूलो होइन र? तर म तिमीहरूको बीचमा सेवा गर्नेझैं छु। 28 मेरो परीक्षाहरूमा मसँग रहिरहने तिमीहरू नै हौ। 29 अनि जसरी मेरा पिताले मेरा निम्ति नियुक्त गर्नुभएको छ, त्यसरी नै म पनि तिमीहरूका निम्ति एउटा राज्य नियुक्त गर्दछु, 30 र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा बसेर खानेछौ र पिउनेछौ, अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ।”
पत्रुसको इन्कारको विषयमा प्रभु येशूको भविष्यवाणी
मत्ती २६:३०-३५; मर्कूस १४:२६-३१
31 अनि प्रभुले भन्नुभयो: “हे शिमोन, हे शिमोन, हेर, गहुँजस्तै निफन्नलाई शैतानले तिमीहरूलाई लिन चाहेको छ; 32 तर मैले तिम्रो विश्वास नटुटोस् भनेर तिम्रा निम्ति प्रार्थना गरेको छु; अनि तिमी फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार!” 33 अनि उनले उहाँलाई भने: “हे प्रभु, म तपाईंसँग झ्यालखानामा जानु र मर्नु पनि तयार छु।” 34 अनि उहाँले भन्नुभयो: “पत्रुस, म तिमीलाई भन्दछु, ‘म उहाँलाई चिन्दिनँ’ भन्दै तिमीले तीनपल्ट इन्कार गर्नुभन्दा अघि आज भाले बास्नेछैन।” 35 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “जब मैले तिमीहरूलाई पैसाको थैली, झोला र जुत्ताविना पठाएँ, तब के तिमीहरूलाई कुनै चीजको कमी भयो?” अनि तिनीहरूले भने, “कुनै चीजको कमी भएन।” 36 तब उहाँले तिनीहरूलाई भन्नुभयो: “तर अब जससँग पैसाको थैली छ, त्यसले त्यो बोकोस्, र त्यसरी नै आफ्नो झोला पनि; अनि जससँग तरवार छैन, त्यसले आफ्नो वस्त्र बेचेर एउटा किनोस्। 37 किनकि म तिमीहरूलाई भन्दछु, ‘अनि उनी अपराधीहरूसँग गनिए’क भनेर जे लेखिएको छ, सो अझै ममा पूरा हुनुपरेको छ; किनकि मेरो विषयका कुराहरू अन्तख हुन्छन्।” 38 अनि तिनीहरूले भने: “हे प्रभु, हेर्नुहोस्! यहाँ दुईवटा तरवार छन्” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “पर्याप्त भयो।”
गेत्समनीको बगैंचामा
मत्ती २६:३६-४६; मर्कूस १४:३२-४२
39 अनि उहाँ बाहिर निस्कनुभयो, र आफ्नो चलनअनुसार उहाँ जैतुन-डाँड़ामा जानुभयो; अनि उहाँका चेलाहरू पनि उहाँको पछि लागे। 40 अनि त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “परीक्षामा नपर्नका निम्ति प्रार्थना गर!” 41 अनि उहाँ तिनीहरूबाट ढुङ्गा हानेजतिको दूरीमा जानुभयो, र घुँड़ा टेकेर यसो भन्दै प्रार्थना गर्नुभयो: 42 “हे पिता, तपाईंले चाहनुभयो भने यो कचौरा मबाट हटाइदिनुहोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!” 43 अनि स्वर्गबाट एकजना दूत उहाँकहाँ देखा परे, जसले उहाँलाई सामर्थ्य दिइरहेका थिए। 44 अनि भारी व्यथामा परेर उहाँले अझै यत्नसहित प्रार्थना गर्नुभयो; अनि उहाँको पसिना रगतका ठूला-ठूला थोपाझैं भुइँमा खसिरहेको थियो। 45 अनि जब उहाँ प्रार्थनाबाट उठ्नुभयो र आफ्ना चेलाहरूकहाँ आउनुभयो, तब उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो, 46 र तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन निदाइरहेका छौ? उठ, र प्रार्थना गर, नत्र तिमीहरू परीक्षामा पर्छौ।”
प्रभु येशू पक्राउ पर्नुहुन्छ
मत्ती २६:४७-५४ ; मर्कूस १४:४३-४७; यूहन्ना १८:२-११
47 अनि उहाँ बोलिरहनुभएकै बेला, हेर एउटा भीड़, र बाह्रजनामध्ये यहूदा भनिने एकजना, जो तिनीहरूको अघि-अघि हिँड़्दै येशूलाई चुम्बन गर्न उहाँको नजिकै आयो। 48 तर येशूले त्यसलाई भन्नुभयो: “हे यहूदा, के तिमी मानिसका पुत्रलाई चुम्बनद्वारा पक्राइदिन्छौ?” 49 उहाँको वरिपरि हुनेहरूले, के हुन लागेको थियो, सो देखेर उहाँलाई भने: “हे प्रभु, के हामी तरवारले हानौं?” 50 अनि तीमध्ये एकजनाले महापूजाहारीको दासलाई हाने र त्यसको दाहिने कान च्वाट्टै पारिदिए। 51 अनि येशूले जवाफ दिँदै भन्नुभयो: “भयो, यहींसम्म हुन देओ!” अनि उहाँले त्यसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो। 52 तब येशूले उहाँकहाँ आउने मुख्य पूजाहारीहरू, मन्दिरका कप्तानहरू र बूढ़ा प्रधानहरूलाई भन्नुभयो: “के तिमीहरू डाँकूको विरोधमा आएझैं तरवार र लाठाहरू लिई निस्किआयौ? 53 जब म दिनहुँ तिमीहरूसँग मन्दिरमा हुन्थें, तब तिमीहरूले मेरो विरोधमा हात बढ़ाएनौ; तर यो तिमीहरूको घड़ी हो, र अन्धकारको अधिकार हो।”
पत्रुसले प्रभु येशूलाई तीनपल्ट इन्कार गर्छन्
मत्ती २६:६९-७५; मर्कूस १४:६६-७२
54 तब तिनीहरूले उहाँलाई पक्रेर लगे र उहाँलाई महापूजाहारीको भवनभित्र ल्याए। अनि पत्रुसले चाहिँ टाढ़ोबाट पछ्याइरहेका थिए। 55 अनि जब तिनीहरू चोकको बीचमा आगो सल्काएर एकसाथ बसे, तब पत्रुस पनि तिनीहरूको बीचमा बसे। 56 तर कुनै एउटी नोकरनीले उनलाई आगोको छेउमा बसिरहेका देखी, र उनलाई खूबै नियालेर हेरी र भनी: “यो मान्छे पनि ऊसँग थियो!” 57 अनि उनले यसो भन्दै उहाँलाई इन्कार गरे: “हे नारी, म उसलाई चिन्दिनँ।” 58 अनि केही समयपछि अर्कोले उनलाई देख्यो, र भन्यो: “तिमी पनि तिनीहरूमध्येकै हौ!” तर पत्रुसले भने: “हे मानिस, म त होइनँ।” 59 अनि एक घण्टाजति बितेपछि अर्कोले यसो भन्दै दृढ़तापूर्वक निश्चयता दियो: “यो मान्छे पनि साँच्चै ऊसँगै थियो; किनकि यो पनि गालीली हो।” 60 अनि पत्रुसले भने: “हे मानिस, तिमी के भन्दैछौ, म जान्दिनँ।” अनि तुरुन्तै, उनी बोल्दा-बोल्दै भाले बास्यो। 61 अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। अनि पत्रुसले ‘भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ’ भनी प्रभुले उनलाई भन्नुभएको वचन सम्झे। 62 अनि पत्रुस बाहिर गए र धुरु-धुरु रोए।
प्रभु येशू कायफा र महासभाको सामु
मत्ती २६:५७-६८; मर्कूस १४:५३-६५; यूहन्ना १८:१९-२४
63 अनि येशूलाई पक्रिने मानिसहरूले उहाँलाई गिल्ला गरे र पिटे। 64 अनि उहाँका आँखामा पट्टी बाँधेर तिनीहरूले उहाँलाई अनुहारमा हिर्काए, र यसो भन्दै उहाँलाई सोधे: “लौ, भविष्यवाणी गर्! तँलाई हिर्काउने को हो?” 65 अनि उहाँको विरोधमा धेरै अरू-अरू कुराहरू पनि तिनीहरूले निन्दा गर्दै भने। 66 अनि दिन हुनसाथ जनताका बूढ़ा प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू भेला भए, र यसो भन्दै उहाँलाई तिनीहरूको महासभामा लगे: 67 “के तँ ख्रीष्ट होस्? हामीलाई भन्!” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “मैले तिमीहरूलाई भनें भने तिमीहरूले विश्वास गर्नेछैनौ; 68 अनि मैले तिमीहरूलाई सोधें भने पनि तिमीहरूले मलाई जवाफ दिनेछैनौ, न ता मलाई जान नै दिनेछौ। 69 अबदेखि उसो मानिसका पुत्र परमेश्वरको सामर्थ्यको दाहिने हातपट्टि बस्नेछन्।” 70 तब ती सबैले भने: “त्यसो भए के तँ परमेश्वरका पुत्र होस्?” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “म हुँ भनी तिमीहरू नै भन्छौ।” 71 अनि तिनीहरूले भने: “अब हामीलाई अरू साक्षीहरूको के खाँचो पर्यो र? किनकि हामी आफैले उसैको मुखबाट सुनेका छौं।”