विधवाको भेटी
मर्कूस १२:४१-४४
21
उहाँले आँखा उठाई हेर्नुहुँदा धनवान्‌ मानिसहरूलाई आ-आफ्ना भेटी ढुकुटीमा हालिरहेका देख्‍नुभयो। 2 अनि उहाँले एउटी गरिब विधवालाई दुईवटा तामाको पैसा हाल्दै गरेकी पनि देख्‍नुभयो। 3 अनि उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, यस गरिब विधवाले ती सबैले भन्दा बेसी हालेकी छे; 4 किनकि ती सबैले चाहिँ आफ्नो भरपूरीबाट परमेश्‍वरका भेटीहरूमा हालेका छन्, तर उसले चाहिँ आफ्नो गरिबीबाट, आफूसँग भएको सम्पूर्ण जीविका नै हालेकी छे।”
अन्तिम दिनका चिन्हहरू
मत्ती २४ र मर्कूस १३ अध्याय
5 अनि कसै-कसैले मन्दिरको विषयमा, कसरी यो सुन्दर-सुन्दर ढुङ्गाहरू र अर्पणका भेटीहरूले सिँगारिएको छ भनी कुरा गरेकामा उहाँले भन्‍नुभयो: 6 “तिमीहरू जुन कुराहरू देख्छौ, तिनको विषयमा यस्ता दिनहरू आउनेछन्, जसमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड़िनेछैन, जो फ्याँकिनेछैन।” 7 अनि तिनीहरूले उहाँलाई यसो भन्दै सोधे: “हे गुरुज्यू, तर यी कुराहरू कहिले हुनेछन्? अनि जब यी कुराहरू हुन लाग्‍नेछन्, तब चिन्ह के हुनेछ?” 8 अनि उहाँले भन्‍नुभयो: “धोकामा नपर्नलाई होशियार रहो; किनकि धेरैजना ‘म ख्रीष्‍ट हुँ’ भन्दै मेरो नाममा आउनेछन्; अनि समय नजिकै आएको हुन्छ; यसकारण तिमीहरू तिनीहरूको पछि नजाओ! 9 तर जब तिमीहरूले लड़ाइँहरू र हूलदङ्गाहरूको विषयमा सुन्‍नेछौ, तब नआत्तिओ; किनकि यी कुराहरू पहिले हुनैपर्छ; तर अन्त तुरुन्तै हुँदैन। 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाति जातिको विरोधमा उठ्नेछ, र राज्य राज्यको विरोधमा; 11 अनि ठाउँ-ठाउँमा ठूला-ठूला भुइँचाला, अनिकाल र महामारीहरू हुनेछन्; अनि आकाशबाट डरलाग्दा-डरलाग्दा दृश्य र बड़े-बड़े चिन्हहरू हुनेछन्। 12 तर यी सबै कुराहरूभन्दा पहिले तिनीहरूले मेरो नामको खातिर तिमीहरूमाथि आफ्ना हात हाल्नेछन्, अनि सभाघरहरू र झ्यालखानाहरूभित्र सुम्पिदिएर राजाहरू र शासकहरूकहाँ लगेर तिमीहरूलाई सताउनेछन्। 13 अनि योचाहिँ तिमीहरूका लागि साक्षीका निम्ति अवसर बन्‍नेछ। 14 यसकारण के जवाफ दिनुपर्ने हो भनेर अघिबाटै सोची नराख्‍ने निश्‍चय आ-आफ्ना हृदयमा गर; 15 किनकि म तिमीहरूलाई यस्तो मुख र बुद्धि दिनेछु, जसको खण्डन तिमीहरूका सबै विरोधीहरूले गर्न सक्नेछैनन्, न ता त्यसको मुकाबिला नै गर्न सक्नेछन्। 16 अनि तिमीहरू बुबाआमा, दाजुभाइ, नातादार र साथीहरूद्वारा पक्राइनेछौ; र तिनीहरूले तिमीहरूमध्ये कतिलाई मार्न लाउनेछन्। 17 अनि मेरो नामको कारणले तिमीहरू सबै मानिसहरूद्वारा घृणा गरिनेछ। 18 तर तिमीहरूको शिरको एउटा केश पनि नष्‍ट हुनेछैन। 19 आफ्नो सहनशीलताद्वारा तिमीहरूले आफ्ना प्राणहरू प्राप्‍त गर्नेछौ।
20 अनि जब तिमीहरूले यरूशलेम सेनाहरूद्वारा घेरिएको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै आएको छ भनी जान! 21 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्, र यरूशलेमभित्र हुनेहरू निस्केर गइहालून् अनि गाउँहरूमा हुनेहरू त्यसभित्र नपसून्। 22 किनकि लेखिएका सबै कुराहरू पूरा हुनलाई तीचाहिँ बदला लिने दिनहरू हुन्। 23 तर ती दिनहरूमा गर्भवती हुने र दूध खुवाउनेहरूलाई हाय! किनकि देशमा ठूलो सङ्कष्‍ट र यस जातिमाथि क्रोध आइपर्नेछ। 24 अनि तिनीहरू तरवारको धारले ढालिनेछन्, र सबै जातिहरूकहाँ कैदी बनाएर लगिइनेछन्; अनि अन्यजातिहरूका समयहरू पूरा नहोउन्जेल यरूशलेमचाहिँ अन्यजातिहरूद्वारा कुल्चीमिल्ची पारिनेछ। 25 अनि घाम, जून र ताराहरूमा चिन्हहरू हुनेछन्, र पृथ्वीमाथि जाति-जातिमा घबराहटको साथ सङ्कष्‍ट; गर्जिरहेको समुद्र र उर्लिरहेको छाल; 26 पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र प्रतीक्षाले गर्दा मानिसहरूको ज्यानमा ज्यान रहँदैन; किनकि आकाशका शक्तिहरू हल्‍लाइनेछन्। 27 अनि तब तिनीहरूले मानिसका पुत्रलाई सामर्थ्य र महा महिमासहित बादलमा आइरहेका देख्‍नेछन्। 28 अनि जब यी कुराहरू हुन थाल्छन्, तब माथि हेर र आफ्ना शिर उठाओ; किनकि तिमीहरूको छुटकारा नजिकै छ।”
नेभाराको रूख: जागा रहो!
मत्ती २४:३२-३५; मर्कूस १३:२८-३१
29 अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “नेभाराको रूख र सबै रूखहरू हेर! 30 जब तिनीहरूले पालुवा हालेका हुन्छन्, तब तिमीहरूले ‘ग्रीष्म ऋतु अब नजिकै रहेछ’ भनी देखेर आफैले थाहा पाउँछौ। 31 यही प्रकारले तिमीहरूले पनि, जब यी कुराहरू भइरहेका देख्‍नेछौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनी जान! 32 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै कुराहरू पूरा नहोउन्जेल यो पुस्ता कुनै रीतिले बित्‍नेछैन। 33 आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्‍नेछैनन्। 34 अनि आफ्नै विषयमा होशियार बस, कहीं वाक्‍क-व्याक्‍क पार्ने अचाक्लीपन, मतवालापन र यस जीवनका फिक्रीहरूले तिमीहरूका हृदयहरू दबाउलान्, र तिमीहरूमाथि त्यो दिन एक्‍कासि आइपर्ला। 35 किनकि पासोझैं त्यो सम्पूर्ण पृथ्वीमा बस्‍नेहरू सबैमाथि आइपर्नेछ। 36 यसैकारण यी सबै परिआउने कुराहरूदेखि उम्कन र मानिसका पुत्रको सामु उभिनका निम्ति योग्य ठहरिनलाई तिमीहरू जागा रहो, र सधैं प्रार्थना गर!”
37 अनि दिउँसो उहाँले मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र राति उहाँ बाहिर निस्केर जैतुन-डाँड़ा भनिने पहाड़माथि रहनुहुन्थ्यो। 38 अनि एकाबिहानै सबै मानिसहरू उहाँको वचन सुन्‍नलाई मन्दिरमा उहाँकहाँ आउँथे।