प्रभु येशूको अधिकारको विषयमा उठेको प्रश्‍न
मत्ती २१:२३-२७; मर्कूस ११:२७-३३
20
अनि यस्तो भयो: ती दिनहरूमा एक दिन उहाँले मन्दिरमा मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार प्रचार गर्दै गर्नुहुँदा मुख्य पूजाहारीहरू र शास्त्रीहरू बूढ़ा प्रधानहरूको साथमा उहाँकहाँ आए, 2 र तिनीहरूले उहाँसँग यसो भन्दै कुरा गरे: “हामीलाई भन! कुन अधिकारले तिमी यी कुराहरू गर्दछौ? अथवा तिमीलाई यो अधिकार दिने को हो?” 3 अनि उहाँले जवाफ दिँदै तिनीहरूलाई भन्‍नुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्‍नेछु, र मलाई जवाफ देओ; 4 यूहन्‍नाको बप्‍तिस्‍मा – यो स्वर्गबाटको थियो कि मानिसहरूबाटको?” 5 अनि तिनीहरूले आपसमा यसो भन्दै तर्क गरे: “स्वर्गबाटको भनौं भने, ‘तब किन तिमीहरूले उनलाई विश्‍वास गरेनौ?’ भनी यसले भनिहाल्नेछ; 6 तर मानिसहरूबाटको भनौं भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्; किनभने यूहन्‍ना भविष्यवक्ता थिए भनी तिनीहरूलाई निश्‍चय भएको छ।” 7 अनि तिनीहरूले जवाफ दिए: “खै, कहाँबाटको हो, हामीलाई थाहा छैन।” 8 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “म पनि यी कुराहरू कुन अधिकारले गर्दछु, तिमीहरूलाई भन्‍दिनँ।”
दाखबारी लगाउने मालिकको दृष्‍टान्‍त
मत्ती २१:३३-४६; मर्कूस १२:१-९
9 तब उहाँले यो दृष्‍टान्‍त मानिसहरूलाई भन्‍न थाल्नुभयो: “कुनै एकजना मानिसले एउटा दाखबारी लगाए, र किसानहरूलाई त्यो ठेक्‍कामा दिएर धेरै समयका निम्ति तिनी टाढ़ो देशमा गए। 10 अनि फलको समयमा किसानहरूले दाखबारीको फलबाट तिनलाई केही देऊन् भनी तिनले एउटा दासलाई तिनीहरूकहाँ पठाए; तर किसानहरूले त्यसलाई पिटे, र रित्तै पठाइदिए। 11 अनि फेरि पनि तिनले अर्को दासलाई पठाए; अनि त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै पठाइदिए। 12 अनि फेरि तिनले तेस्रोलाई पठाए; अनि त्यसलाई पनि तिनीहरूले घायल पारेर बाहिर फालिदिए। 13 तब त्यस दाखबारीका मालिकले भने: ‘म के गरूँ? म मेरो प्यारो छोरालाई पठाउनेछु; यिनलाई देखेपछि सायद तिनीहरूले यिनलाई आदर गर्नेछन्।’ 14 तर उनलाई देखेपछि ती किसानहरूले यसो भन्दै आपसमा तर्क गरे: ‘हकवाला यही हो; आओ, यसलाई मारौं, र हकको सम्पत्ति हाम्रो होस्।’ 15 तब तिनीहरूले उनलाई दाखबारीको बाहिर फालिदिए र मारे। यसकारण त्‍यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् त? 16 तिनी आउनेछन्, र ती किसानहरूलाई नाश गर्नेछन् र त्यो दाखबारी अरूलाई दिनेछन्।” अनि यो कुरा सुनेर तिनीहरूले भने: “यस्तो नहोस्!” 17 अनि उहाँले तिनीहरूलाई हेर्दै भन्‍नुभयो: “तब यो लेखिएको चाहिँ के हो? ‘जुन ढुङ्गा डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा कुनाको शिर भयो।’ 18 जो कोही यस ढुङ्गामाथि खस्ला, त्यो टुक्रा-टुक्रा हुनेछ; तर जसमाथि यो ढुङ्गा खस्ला, यसले त्यसलाई धूलोपीठो पारिदिनेछ।” 19 अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले त्यही घड़ी उहाँमाथि हात हाल्न खोजे, तर तिनीहरू मानिसहरूसँग डराए; किनभने यो दृष्‍टान्‍तचाहिँ उहाँले तिनीहरूको विरोधमा भन्‍नुभएको हो भनी तिनीहरूले थाहा गरे।
हेरोदीहरूलाई करसम्बन्धी प्रभुको जवाफ
मत्ती २२:१५-२२; मर्कूस १२:१३-१७
20 अनि तिनीहरू उहाँको चियोमा बसे, र उहाँका कुराहरू पक्रेर उहाँलाई राज्यपालका शासन र अधिकारकहाँ सुम्पिदिन तिनीहरूले धर्मी मानिसहरूको भेष धारण गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। 21 अनि यिनीहरूले उहाँलाई यसो भन्दै सोधे: “हे गुरु, हामी जान्दछौं, तपाईं ठीक बोल्नुहुन्छ र सठीक शिक्षा दिनुहुन्छ, अनि कसैको मुख हेरेर काम गर्नुहुन्‍न, तर परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ; 22 के सिजरलाई कर तिर्नु हामीलाई उचित छ कि छैन?” 23 तर उहाँले तिनीहरूको धूर्तता थाहा पाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू मलाई किन जाँच्दछौ? 24 मलाई एउटा दीनार देखाओ! यसमा कसका मूर्ति र छाप छन्?” तिनीहरूले जवाफ दिएर भने: “सिजरको।” 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यसकारण सिजरका कुराहरू सिजरलाई र परमेश्‍वरका कुराहरू परमेश्‍वरलाई देओ!” 26 अनि तिनीहरूले मानिसहरूको सामु उहाँका कुराहरू पक्रन सकेनन्; अनि उहाँको जवाफ सुनेर तिनीहरू छक्‍कै परे र चुप रहे।
सदुकीहरूलाई बौरिउठाइसम्बन्धी प्रभुको जवाफ
मत्ती २२:२३-३३; मर्कूस १२:१८-२७
27 त्यसपछि बौरिउठाइलाई इन्कार गर्ने सदुकीहरूमध्ये कोही-कोही उहाँकहाँ आए, र उहाँलाई यसो भन्दै सोधे: 28 “हे गुरु, मोशाले हाम्रा निम्ति लेखेका छन्, ‘कुनै मानिसको दाजु मर्‍यो, जसकी एउटी स्‍वास्‍नी छे, र त्यो सन्तान नभईकन मर्‍यो भने त्यसको भाइले त्यसकी स्‍वास्‍नीलाई लैजाओस् र आफ्ना दाजुका निम्ति सन्तान पैदा गरोस्।’ 29 अब त्यहाँ सात भाइहरू थिए; जेठाले स्‍वास्‍नी ल्याएपछि सन्तान नभईकनै मर्‍यो। 30 अनि माहिलोले उसलाई आफ्नी स्‍वास्‍नी बनायो, र सन्तान नभईकनै ऊ मर्‍यो। 31 अनि साहिँलोले उसलाई लग्यो; र यही प्रकारले सातैजनाले गरे; अनि तिनीहरू सन्तान नछोड़ीकनै मरे। 32 सबैभन्दा पछि त्यो स्त्री पनि मरी। 33 यसकारण बौरिउठाइमा ऊ तिनीहरूमध्ये कसकी स्‍वास्‍नी हुन्छे? किनकि सातैजनाले उसलाई स्‍वास्‍नी बनाएका थिए।” 34 अनि येशूले जवाफ दिँदै तिनीहरूलाई भन्‍नुभयो: “यस संसारका सन्तानचाहिँ विवाह गर्दछन् र विवाह गराइँदछन्। 35 तर जोचाहिँ त्यो युग र मरेकाहरूबाटको बौरिउठाइ प्राप्‍त गर्ने योग्यका हुन्छन्, तिनीहरू न विवाह गर्छन् न विवाह गराइन्छन्; 36 न ता तिनीहरू उसो मर्न सक्छन्; किनकि तिनीहरू त स्वर्गदूतहरू बराबर हुन्, र बौरिउठाइका सन्तान भएका हुनाले परमेश्‍वरका सन्तान हुन्। 37 तर मरेकाहरू बौरेर उठ्नेछन् भन्‍ने कुरा मोशाले पनि त्यस पोथ्राबाट देखाए, जहाँ तिनले परमप्रभुलाई* ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर’ भनी भनेका छन्। 38 किनकि उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जिउँदाहरूका परमेश्‍वर हुनुहुन्छ; किनकि सबै उहाँका निम्ति जिउँछन्।” 39 तब शास्त्रीहरूमध्ये कतिले जवाफ दिँदै भने: “हे गुरु, तपाईंले सही कुरा भन्‍नुभयो।” 40 अनि त्यसपछि तिनीहरूले उहाँलाई कुनै प्रश्‍न गर्ने साहस गरेनन्।
फरिसीहरूलाई ख्रीष्‍टसम्बन्धी प्रभुको प्रश्‍न
मत्ती २२:४१-४६; मर्कूस १२:३५-३७
41 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्छन्, 42 जब दाऊद आफैले भजनहरूको पुस्तकमा भन्दछन्?
‘परमप्रभुले* मेरा प्रभुलाई भन्‍नुभयो: 43 “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस!” ’
44 यसकारण दाऊदले उहाँलाई ‘प्रभु’ भन्छन् भने उहाँ कसरी उनका पुत्र हुनुहुन्छ त?” 45 तब सबै मानिसहरूले सुनिरहेको बेलामा उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: 46 “शास्त्रीहरूदेखि होशियार रहो, जसले लामा वस्त्रहरू पहिरेर हिँड़्न चाह गर्छन्, र बजारहरूहुँदो अभिवादन पाउन रुचाउँछन्, अनि सभाघरहरूमा मुख्य आसनहरू र भोजहरूमा उच्‍च स्थानहरू मन पराउँछन्। 47 यिनीहरूले विधवाहरूका घरहरू निल्छन् र बहानाका निम्ति लामा-लामा प्रार्थना गर्छन्; यिनीहरूले झन् ठूलो दण्ड पाउनेछन्।”