जक्‍कैको मुक्ति
19
अनि येशू येरिहोभित्र पस्‍नुभयो, र त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। 2 अनि हेर, ज्‍क्‍कै नाम भएका एकजना मानिस थिए, जो महसूल उठाउनेहरूका हाकिम थिए; अनि तिनी धनी थिए। 3 अनि उहाँ को हुनुहुँदो रहेछ भनी तिनले येशूलाई हेर्न खोजिरहेका थिए, तर भीड़ले गर्दा तिनले सकेनन्; किनकि तिनी पुड़्का थिए। 4 अनि तिनी अघि दगुरे, र उहाँलाई हेर्न एउटा नेभाराको रूखमा चढ़े; किनकि त्यही बाटो भएर उहाँ जानुपरेको थियो। 5 अनि जब येशू त्यस ठाउँमा आउनुभयो, तब उहाँले माथितिर हेर्नुभयो, तिनलाई देख्‍नुभयो र तिनलाई भन्‍नुभयो: “जक्‍कै, छिटो गरेर ओर्ल, किनकि आज म तिम्रो घरमा बस्‍नुपर्छ।” 6 अनि तिनी हतार गर्दै ओर्ले, र उहाँलाई आनन्दसाथ स्वागत गरे। 7 अनि जब तिनीहरूले यो देखे, तब तिनीहरू सबै यसो भन्दै गनगनाए: “लौ, तिनी त पापी मानिससँग पाहुना बस्‍न गए।” 8 अनि जक्‍कै उभिए, र प्रभुलाई भने: “हेर्नुहोस् प्रभु, मेरो सम्पत्तिको आधा भाग म गरिबहरूलाई दिन्छु; र कुनै मानिसबाट मैले अन्याय गरेर केही लिएको छु भने म उसलाई चार गुणा फिर्ता गरिदिन्छु।” 9 अनि येशूले तिनलाई भन्‍नुभयो: “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्। 10 किनभने मानिसका पुत्र हराएकोलाई खोज्‍न र मुक्त गर्न आएका हुन्।”
दस असर्फीको दृष्‍टान्‍त
11 अनि तिनीहरूले यी कुराहरू सुन्दै गर्दा उहाँले एउटा दृष्‍टान्‍त थपेर भन्‍नुभयो; किनभने उहाँ यरूशलेमको नजिकमा हुनुहुन्थ्यो, र परमेश्‍वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भनी तिनीहरूले सम्झेका थिए। 12 यसकारण उहाँले भन्‍नुभयो: “एकजना कुलीन व्यक्ति आफ्ना निम्ति राज्य प्राप्‍त गरेर फर्कनलाई टाढ़ो देशमा गए। 13 अनि उनले आफ्ना दसजना दासहरूलाई बोलाएर तिनीहरूलाई दस असर्फी दिए र तिनीहरूलाई भने: ‘म नआउन्जेल व्यापारधन्दा गर!’ 14 तर उनका नागरिकहरूले उनलाई घृणा गर्दथे, र उनको पछि-पछि यसो भनेर प्रतिनिधि पठाए: ‘यस व्यक्तिले हामीमाथि राज्य गरेको हामी चाहँदैनौं।’ 15 अनि यस्तो भयो: राज्य प्राप्‍त गरेपछि जब उनी फर्के, तब उनले ती दासहरूलाई, जसलाई उनले पैसा दिएका थिए, हरेकले लेनदेन गरेर कति कमाएको छ, सो थाहा गर्नलाई आफूकहाँ बोलाइपठाए। 16 तब पहिलोचाहिँ यसो भन्दै आयो: ‘हे प्रभु, तपाईंको असर्फीले अरू दस असर्फी कमाएको छ।’ 17 अनि उनले त्यसलाई भने: ‘स्याबास, असल दास! तिमी एकदम थोरैमा विश्‍वासयोग्य भएका हुनाले अब दसवटा शहरमाथि अधिकारी होऊ!’ 18 अनि दोस्रो पनि यसो भन्दै आयो: ‘हे प्रभु, तपाईंको असर्फीले अरू पाँच असर्फी कमाएको छ।’ 19 अनि उनले त्यसलाई पनि भने: ‘तिमी पनि पाँचवटा शहरमाथि अधिकारी होऊ!’ 20 अनि अर्को यसो भन्दै आयो: ‘हे प्रभु, हेर्नुहोस्, तपाईंको असर्फी यहाँ छ, जुनचाहिँ मैले एउटा रुमालमा साँचेर राखेको छु। 21 किनकि म तपाईंसित डराउँथें, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्‍नुभएन, त्यो उठाउनुहुन्छ, र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’ 22 अनि उनले त्यसलाई भने: ‘हे दुष्‍ट दास, तेरै मुखद्वारा म तेरो न्याय गर्नेछु। मैले जे राखेको छैनँ, त्यो उठाउने, र जे छरेको छैनँ, त्यसको कटनी गर्ने कठोर मानिस म रहेछु भनी तैंले जानेको रहेछस्। 23 तब तैंले मेरो पैसा ब्याङ्कमा किन राखिनस्, र म आउँदा त्यसलाई ब्याजसहित लिनेथिएँ?’ 24 अनि उनले छेउमा उभिनेहरूलाई भने: ‘त्यसबाट त्यो असर्फी लैजाओ, र त्यो दस असर्फी हुनेलाई देओ!’ 25 अनि तिनीहरूले उनलाई भने: ‘हे प्रभु, त्यससँग दस असर्फी छँदैछन्।’ 26 किनकि म तिमीहरूलाई भन्दछु: हरेक जससँग छ, त्यसलाई दिइनेछ; र जससँग छैन, त्योसँग भएको पनि त्यसबाट लगिनेछ। 27 ‘तर मेरा ती शत्रुहरूलाई, जसले मैले तिनीहरूमाथि राज्य गरेको चाहँदैनन्, यहाँ ल्याओ र तिनीहरूलाई मेरो सामु मार!’”
यरूशलेमभित्र प्रभु येशूको प्रवेश
मत्ती २१:१-९; मर्कूस ११:१-१०; यूहन्‍ना १२:१२-१९
28 अनि उहाँले यसरी कुरा गरिसक्नुभएपछि उहाँ यरूशलेमतिर उक्लँदै अघि-अघि जानुभयो। 29 अनि यस्तो भयो: जब उहाँ जैतुन-डाँड़ा भनिने पहाड़मा बेथफागे र बेथानीको नजिक आइपुग्‍नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये दुईजनालाई यसो भन्दै पठाउनुभयो: 30 “तिमीहरूको सामुन्‍नेको गाउँमा जाओ, जहाँ पस्दै गर्दा तिमीहरूले एउटा बाँधिएको गधाको बच्‍चा भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कुनै मानिस बसेको छैन; त्यसलाई फुकाएर यहाँ ल्याओ! 31 अनि यदि कुनै मानिसले, ‘तिमीहरू यसलाई किन फुकाउँछौ?’ भनी सोध्यो भने तिमीहरूले उसलाई यसो भन्‍नू: ‘किनभने प्रभुलाई यसको खाँचो छ।’ ” 32 अनि ती पठाइएकाहरू आफ्नो बाटो लागे, र उहाँले तिनीहरूलाई भन्‍नुभएको जस्तै तिनीहरूले भेट्टाए। 33 अनि तिनीहरूले त्यस गधाको बच्‍चालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई भने: “तिमीहरू यस बच्‍चालाई किन फुकाउँछौ?” 34 अनि तिनीहरूले भने: “प्रभुलाई यसको खाँचो छ।” 35 अनि तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि तिनीहरूले आफ्ना वस्त्रहरू त्यस बच्‍चामाथि राखे र येशूलाई त्यसमाथि बसाले। 36 अनि उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। 37 अनि जब उहाँ नजिकै अर्थात्‌ जैतुन-डाँड़ाको ओरालोमा आइपुग्‍नुभयो, तब चेलाहरूको सारा भीड़, तिनीहरू आफूले देखेका सबै सामर्थ्यका कामहरूका निम्ति रमाउन र ठूलो सोरले यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्न लागे: 38 “परमप्रभुको* नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ; स्वर्गमा शान्ति र परमधाममा महिमा होऊन्!” 39 अनि भीड़को बीचबाट फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने: “हे गुरुज्यू, तपाईंका चेलाहरूलाई हकार्नुहोस्!” 40 अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु: यदि तिनीहरू चुप लागे भने ढुङ्गाहरू तुरुन्तै चिच्‍च्याउनेछन्।”
यरूशलेमप्रति प्रभु येशूको दोस्रो बिलौना
लूका १३:३४-३५
41 अनि जब उहाँ नजिक आइपुग्‍नुभयो, तब उहाँले शहर हेर्नुभयो, र त्यसका निम्ति यसो भन्दै रुनुभयो: 42 “विशेष गरी तेरो यस दिनमा तैंले, अँ, तैंले जुन कुराहरू तेरा शान्तिका निम्ति छन्, ती कुराहरू जानेको भए ता! तर अब तेरा आँखाहरूबाट ती छिपेका छन्। 43 किनकि दिनहरू तँमाथि आइपर्नेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँध्‍नेछन्, तँलाई घेर्नेछन् र चारैपट्टिबाट तँलाई दबाउनेछन्, 44 अनि तँलाई र तँभित्र भएका तेरा बालबच्‍चाहरूलाई भुइँसँग मिलाइदिनेछन्; अनि तिनीहरूले तँमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड़्‍नेछैनन्; किनकि तँमाथि कृपादृष्‍टि भएको समय तैंले चिनिनस्।”
प्रभु येशूले मन्दिर शुद्ध पार्नुभयो
मत्ती २१:१२-१३; मर्कूस ११:१५-१८
45 अनि उहाँ मन्दिरभित्र पस्‍नुभयो, र त्यहाँ बेच्‍ने र किन्‍नेहरूलाई बाहिर निकाल्न थाल्नुभयो, 46 र तिनीहरूलाई भन्‍नुभयो: “यो लेखिएको छ: ‘मेरो घर प्रार्थनाको घर हो; तर तिमीहरूले यसलाई डाँकूहरूको ओड़ार बनाएका छौ।’ ” 47 अनि दिनहुँ उहाँले मन्दिरमा शिक्षा दिनुभयो। तर मुख्य पूजाहारीहरू, शास्त्रीहरू र जनताका प्रधानहरूले चाहिँ उहाँलाई नाश गर्न खोजे, 48 तर तिनीहरूले जे गर्न लागेका थिए, सो पूरा गर्नलाई कुनै उपाय पाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँको वचन सुन्‍नमा ध्यानमग्‍न थिए।