विधवा र अधर्मी न्यायकर्ताको दृष्टान्त
18
अनि मानिसहरूले सधैं प्रार्थना गर्नुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने उद्देश्य राखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनुभयो: 2 “कुनै एउटा शहरमा एकजना न्यायकर्ता थिए, जसले न परमेश्वरको डर मान्थे, न ता मानिसलाई वास्ता गर्थे। 3 अनि त्यही शहरमा एउटी विधवा थिई; अनि त्यो यसो भन्दै तिनीकहाँ आउने गर्थी: ‘मेरो वादीबाट मलाई न्याय गरी छुटाइदिनुहोस्!’ 4 अनि केही समयसम्म त तिनले मन गरेनन्; तर पछिबाट तिनले मनमनमा भने: ‘म न ता परमेश्वरको डर मान्दछु, न ता मान्छेलाई वास्ता गर्दछु, 5 तापनि यस विधवाले मलाई दिक्कै पारेकी हुनाले म उसलाई न्याय गरिदिएर छुटाउनेछु, नत्र ता घरीघरी आएर उसले मलाई हैरान पारिदिनेछे।’ ” 6 अनि प्रभुले भन्नुभयो: “ती अधर्मी न्यायकर्ताले के भन्दा रहेछन्, सुन! 7 अनि के परमेश्वरले आफ्ना चुनिएकाहरूलाई न्याय गरेर छुटाउनुहुन्न र, जसले दिनरात उहाँलाई पुकार्दछन्? अनि के उहाँ उनीहरूका लागि ढिलो गर्नुहुन्छ र? 8 म तिमीहरूलाई भन्दछु: छिटै उहाँले उनीहरूलाई न्याय गरेर छुटाउनुहुनेछ। तरै पनि जब मानिसका पुत्र आउँछन्, तब के उनले पृथ्वीमा विश्वास पाउनेछन् र?”फरिसी र महसूल उठाउनेको प्रार्थना
9 अनि उहाँले कतिलाई यो दृष्टान्त भन्नुभयो, जसले ‘हामी धर्मी छौं’ भन्दै आफैमाथि भरोसा गर्थे र अरूलाई चाहिँ तुच्छ ठान्थे: 10 “दुईजना मानिसहरू माथि मन्दिरमा प्रार्थना गर्न गए; एकजना फरिसी थियो, र अर्कोचाहिँ महसूल उठाउने। 11 फरिसीले उभिएर मनमनमा यसरी प्रार्थना गर्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो – धुताहा, अधर्मी, व्यभिचारीहरूजस्तो छैनँ, न ता यो महसूल उठाउनेजस्तो नै छु। 12 हप्तामा म दुईपल्ट उपवास बस्दछु; म जति कमाउँछु, ती सबैको दसौं अंश दिँदछु।’ 13 अनि टाढ़ैमा उभिएर त्यस महसूल उठाउनेले आफ्ना आँखाहरूधरि स्वर्गतिर उठाउन चाहेन, तर यसो भन्दै आफ्नो छाती पिट्न थाल्यो: ‘हे परमेश्वर, म पापीमाथि दया राख्नुहोस्!’ 14 म तिमीहरूलाई भन्दछु, त्यो अर्को होइन, तर यही नै मानिस धर्मी ठहरिएर तल आफ्नो घरतिर गयो; किनकि हरेक जसले आफूलाई उचाल्छ, त्यो होचो पारिनेछ; र जसले आफूलाई होच्याउँछ, ऊ उच्च पारिनेछ।”
प्रभु येशूले बालबालिकाहरूलाई आशिष् दिनुहुन्छ
मत्ती १९:१३-१५; मर्कूस १०:१३-१६
15 अनि उहाँले उनीहरूलाई छोइदिऊन् भनी तिनीहरूले साना बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर उहाँका चेलाहरूले यो देखेर तिनीहरूलाई हकारे। 16 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो: “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र उनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूको हो। 17 म तिमीहरूलाई साँचो भन्दछु: जसले परमेश्वरको राज्य सानो बालकले झैं ग्रहण नगर्ला, त्यो कुनै रीतिले त्यसभित्र पस्नेछैन।”
जवान धनी शासक
मत्ती १९:१६-३०; मर्कूस १०:१७-३१
18 अनि कुनै एकजना शासकले उहाँलाई यसो भन्दै सोधे: “हे असल गुरुज्यू, अनन्त जीवनको अधिकारी हुनलाई म के गरूँ?” 19 अनि येशूले उनलाई भन्नुभयो: “तिमी मलाई किन असल भन्दछौ? एकैजना अर्थात् परमेश्वरबाहेक अरू कोही असल छैन। 20 तिमी आज्ञाहरू त जान्दछौ: ‘व्यभिचार नगर, हत्या नगर, नचोर , झूटो गवाही नदेऊ, आफ्ना बुबा र आफ्नी आमालाई आदर गर!’ ” 21 अनि उनले भने: “यी सबै कुराहरू मैले मेरो बालककालदेखि नै पालन गर्दै आएकै हुँ।” 22 अनि जब येशूले यी कुराहरू सुन्नुभयो, तब उहाँले उनलाई भन्नुभयो: “तिमीमा अझै एउटा कुराको घटी छ। तिमीसँग भएका सबै थोकहरू बेच, र गरिबहरूलाई बाँड़िदेऊ, र तिमीले स्वर्गमा धन पाउनेछौ; अनि आऊ, मेरो पछि लाग!” 23 अनि यो कुरा सुनेर उनी साह्रै दुःखित भए; किनभने उनी असाध्यै धनी थिए। 24 अनि उनलाई साह्रै दुःखित भएका देखेर येशूले भन्नुभयो: “धनसम्पत्ति हुनेहरू कति कठिनसँग परमेश्वरको राज्यभित्र पस्नेछन्! 25 किनकि धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” 26 अनि ती सुन्नेहरूले भने: “तब त कसले मुक्ति पाउन सक्छ र?” 27 अनि उहाँले भन्नुभयो: “मानिसहरूका निम्ति जुन कुराहरू असम्भव छन्, ती कुराहरू परमेश्वरका निम्ति सम्भव छन्।”
28 तब पत्रुसले भने: “हेर्नुहोस्, हामीले सबै थोकहरू त्यागेका छौं, र तपाईंको पछि लागेका छौं।” 29 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, परमेश्वरको राज्यका निम्ति घर वा बुबाआमा वा दाजुभाइहरू वा स्वास्नी वा छोराछोरीहरू त्यागेपछि 30 यही समयमा धेरै गुणा बेसी र आउने युगमा अनन्त जीवन नपाउने कोही छैन।”
प्रभु येशूको मृत्यु र पुनरुत्थानसम्बन्धी घोषणा
मत्ती २०:१७-१९; मर्कूस १०:३२-३९
31 तब बाह्रजनालाई आफ्नो साथमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो: “हेर, हामी माथि यरूशलेमसम्म जान्छौं, र मानिसका पुत्रको विषयमा भविष्यवक्ताहरूद्वारा लेखिएका सबै कुराहरू पूरा हुनेछन्। 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन्, गिल्ला गरिनेछन्, बेइज्जत गरिनेछन् र थुकिनेछन्; 33 अनि तिनीहरूले उनलाई कोर्रा लाउनेछन् र मार्नेछन्; अनि तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्।” 34 अनि तिनीहरूले यी कुराहरूमध्ये एउटा पनि बुझेनन्; र यो कुरा तिनीहरूबाट छिपेर बसेको थियो, न ता भनिएका कुराहरू नै तिनीहरूले थाहा गरे।
अन्धा बर्तिमै
मत्ती २०:२९-३४; मर्कूस १०:४६-५२
35 अनि यस्तो भयो: उहाँ येरिहोको नजिकमा आइपुग्नुहुँदा कुनै एकजना अन्धा मानिस बाटोको किनारमा माग्दै बसिरहेको थियो; 36 अनि भीड़लाई त्यहाँबाट भएर जाँदै गरेको सुनेर त्यसले “यो के हो?” भनी सोध्यो। 37 अनि तिनीहरूले त्यसलाई भने: “नासरतका येशू यहाँबाट जाँदै हुनुहुन्छ।” 38 अनि त्यो यसो भन्दै करायो: “हे येशू, दाऊदको पुत्र, ममाथि दया राख्नुहोस्!” 39 अनि अघि-अघि जानेहरूले त्यसलाई, “चुप लाग्!” भनी हकारे; तर त्यो झन् बेसी चिच्च्यायो: “हे दाऊदका पुत्र, ममाथि दया राख्नुहोस्!” 40 अनि येशू अड़िनुभयो, र त्यो उहाँकहाँ ल्याइयोस् भनी आज्ञा गर्नुभयो; अनि जब त्यो उहाँको नजिकमा आयो, तब उहाँले त्यसलाई यसो भन्दै सोध्नुभयो: 41 “म तिम्रा निम्ति के गरूँ – तिमी के चाहन्छौ?” अनि त्यसले भन्यो: “हे प्रभु, म दृष्टि पाऊँ!” 42 अनि येशूले त्यसलाई भन्नुभयो: “देख्ने होऊ; तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” 43 अनि तुरुन्तै त्यसले दृष्टि पायो, र परमेश्वरको महिमा गर्दै उहाँको पछि लाग्यो; अनि यो कुरा देखेर सबै मानिसहरूले परमेश्वरलाई प्रशंसा चढ़ाए।