ठेसठक्‍करहरू आउने र क्षमा दिने सम्‍बन्‍धमा प्रभु येशूको शिक्षा
मत्ती १८:६-९
17
तब उहाँले चेलाहरूलाई भन्‍नुभयो: “ठक्‍करहरू आउँदै नआउनु असम्भव छ; तर हाय त्यसलाई, जसद्वारा ती आउँछन्! 2 यी सानाहरूमध्ये एउटालाई ठेस खुवाउनुभन्दा त एउटा जाँतो त्यसको गर्धनमा झुन्ड्याइएको भए र त्यो समुद्रभित्र फालिएको भए त्यसका निम्ति बढ़िया हुनेथियो। 3 आफ्नो विषयमा होशियार बस; तिम्रो भाइले तिम्रो विरोधमा पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर! 4 अनि त्यसले दिनमा सातपल्‍ट तिम्रो विरोधमा पाप गर्‍यो, र दिनमा सातैपल्ट ‘म पश्‍चात्ताप गर्छु’ भन्दै तिमीकहाँ फर्केर आयो भने तिमीले त्यसलाई क्षमा गर!”
विश्‍वास र सेवाको बीचमा भएको सम्‍बन्‍ध
मत्ती १७:२०-२१; मर्कूस ९:२३
5 अनि प्रेरितहरूले प्रभुलाई भने: “हाम्रो विश्‍वास बढ़ाइदिनुहोस्!” 6 अनि प्रभुले भन्‍नुभयो: “तिमीहरूसँग रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसँग उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र त्यसले तिमीहरूको आज्ञा मान्‍नेछ। 7 तर तिमीहरूमध्ये कसले, जसको हलो जोत्‍ने वा भेड़ा चराउने दास होला, र त्यो खेतबारीबाट आउँदा तुरुन्तै त्यसलाई ‘एई, आएर खानका निम्ति बसिहाल्’ भनी भन्ला र? 8 तर बरु उसले त्यसलाई यसो नभन्ला र: ‘मेरो खाना तयार पार्, र कम्मर कसेर मैले खाउन्जेल र पिउन्जेल मेरो सेवा गर्; र त्यसपछि तैंले खानू र पिउनू!’? 9 त्यसलाई अह्राइएका कामहरू त्यसले गर्‍यो भनेर के उसले त्यस दासलाई धन्यवाद दिन्छ र? मलाई त्यस्तो लाग्दैन। 10 यसरी नै तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब भन: ‘हामी निकम्मा दास हौं, किनभने जे गर्ने हाम्रो कर्तव्य थियो, त्यही मात्र हामीले गरेका छौं।’ ”
दसजना कोरीहरू शुद्ध पारिए
11 अनि यस्तो भयो: उहाँ यरूशलेमतिर जाँदै गर्नुहुँदा सामरिया र गालीलको बीचबाट भएर जानुभयो। 12 अनि उहाँ कुनै गाउँमा पस्दै गर्नुहुँदा उहाँलाई दसजना कोरी मानिसहरूले भेटे, जो टाढ़ामा उभिए; 13 र तिनीहरूले चर्को सोरले भने: “हे येशू, हे स्वामी, हामीमाथि दया गर्नुहोस्!” 14 अनि तिनीहरूलाई देखेर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ, आफूलाई पूजाहारीहरूकहाँ देखाओ!” अनि यस्तो भयो: जाँदा-जाँदै तिनीहरू शुद्ध भइगए। 15 अनि तिनीहरूमध्ये एकजना आफू निको भएको देखेर फर्क्यो, र चर्को सोरले परमेश्‍वरको महिमा गर्‍यो, 16 अनि उहाँलाई धन्यवाद चढ़ाउँदै ऊ उहाँका पाउमा घोप्‍टो पर्‍यो; र ऊचाहिँ सामरी थियो। 17 अनि येशूले जवाफ दिँदै भन्‍नुभयो: “के शुद्ध पारिएकाहरू दसजना थिएनन् र? तर ती नौजना कहाँ छन्? 18 यो परदेशीबाहेक परमेश्‍वरलाई महिमा दिन फर्केर आउने अरू कोही पाइएनन्?” 19 अनि उहाँले उसलाई भन्‍नुभयो: “उठ, आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”
दोस्रो आगमनको बारेमा प्रभु येशूको भविष्यवाणी
मत्ती २४:१५-१८; २४:२६-२८ र २४:३७-४१
20 अनि परमेश्‍वरको राज्य कहिले आउँछ भनी फरिसीहरूद्वारा उहाँलाई प्रश्‍न गरिँदा उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो: “परमेश्‍वरको राज्य देखिने रूपमा आउँदैन; 21 न ता तिनीहरूले ‘यहाँ हेर!’ वा ‘त्यहाँ हेर!’ भन्‍नेछन्; किनकि हेर, परमेश्‍वरको राज्य तिमीहरूभित्रै छ।” 22 अनि उहाँले चेलाहरूलाई भन्‍नुभयो: “दिनहरू आउनेछन्, जसमा तिमीहरूले मानिसका पुत्रका दिनहरूमध्ये एक दिन देख्‍ने चाह गर्नेछौ, र तिमीहरूले देख्‍नेछैनौ। 23 अनि तिनीहरूले तिमीहरूलाई भन्‍नेछन्: ‘यहाँ हेर!’ वा ‘त्यहाँ हेर!’; तिनीहरूको पछि नजाओ, न ता तिनीहरूको पछि लाग! 24 किनकि जसरी बिजुली आकाशमुनिको एक भागदेखि चम्केर आकाशमुनिको अर्को भागसम्म प्रकट हुन्छ, त्यसरी नै मानिसका पुत्र पनि आफ्नो दिनमा प्रकट हुनेछन्। 25 तर पहिले उनले धेरै दु:खहरू भोग्‍नु र यस पुस्ताद्वारा रद्द गरिनुपर्छ।
26 अनि नूहका दिनहरूमा जस्तो भएको थियो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ। 27 नूह जहाजभित्र पसेको दिनसम्म तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले विवाह गरिरहेका थिए, तिनीहरूको विवाह गराइँदैथियो, अनि जलप्रलय आयो र त्‍यसले तिनीहरू सबैलाई नाश पार्‍यो। 28 जस्तो लूतका दिनहरूमा पनि भएको थियो: तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले किनिरहेका थिए, तिनीहरूले बेचिरहेका थिए, तिनीहरूले रोपिरहेका थिए, तिनीहरूले बनाइरहेका थिए; 29 तर जुन दिन लूत सदोमबाट बाहिर निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नाश पार्‍यो। 30 जुन दिनमा मानिसका पुत्र प्रकट हुन्छन्, त्यस दिनमा पनि यस्तै हुनेछ। 31 त्यस दिन जो छानामाथि हुनेछ, र त्यसका मालसामानहरू घरभित्र छन्, ती कुराहरू लैजानलाई त्यो तल नओर्लोस्; अनि जो खेतबारीमा छ, त्यो पनि त्यसरी नै फर्केर नआओस्। 32 लूतकी स्‍वास्‍नीलाई याद गर! 33 जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो प्राण गुमाउँदछ, उसले त्यो जोगाउनेछ। 34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुईजना मानिस एउटा खाटमा हुनेछन्; एकजना लगिनेछ र अर्को छोड़िनेछ। 35 दुईजना स्त्री सँगै जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछे र अर्की छोड़िनेछे। 36 दुईजना मानिस खेतबारीमा हुनेछन्; एकजना लगिनेछ, र अर्को छोड़िनेछ।” 37 अनि जवाफ दिँदै तिनीहरूले उहाँलाई भने: “कहाँ, प्रभु?” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जहाँ शरीर हुन्छ, त्यहाँ गिद्धहरू भेला पारिनेछन्।”