अधर्मी भण्डारीको दृष्‍टान्‍त
16
अनि उहाँले आफ्ना चेलाहरूलाई पनि भन्‍नुभयो: “एकजना धनवान्‌ मानिस थिए, जसको भण्डारी थियो; अनि त्यसकै विषयमा त्यसले उनको सम्पत्ति बरबाद गरिरहेको छ भन्‍ने दोष उनीकहाँ ल्याइयो। 2 अनि त्यसलाई बोलाएर उनले त्यसलाई भने: ‘यो के हो, जो म तिम्रो विषयमा सुन्छु? तिम्रो भण्डारीकामको हरहिसाब देऊ; किनकि अब उसो तिमी भण्डारी रहन सक्दैनौ।’ 3 तब त्यस भण्डारीले मनमनमा भन्यो: ‘म के गरूँ? किनकि मेरा मालिकले मबाट भण्डारीकाम लगिरहेछन्; खन्‍नु त म सक्दिनँ नै, माग्‍नु मलाई लाज लाग्छ। 4 म के गर्नेछु, सो मलाई थाहा छ, यसउसले कि जब म भण्डारीकामबाट निकालिन्छु, तब तिनीहरूले मलाई आ-आफ्ना घरमा स्वागत गरून्।’ 5 यसकारण त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई आफूकहाँ बोलाएर भन्यो: ‘तिमीलाई मेरा मालिकको कति ऋण लागेको छ?’ 6 अनि यसले भन्यो: ‘एक सय मन तेल।’ अनि त्यसले यसलाई भन्यो: ‘तिम्रो तमसुक लेऊ, र झट्टै बसेर पचास लेख!’ 7 तब त्यसले अर्कोलाई भन्यो: ‘अनि तिमीलाई कति ऋण लागेको छ?’ अनि त्यसले उसलाई भन्यो: ‘पाँच सय मुरी गहुँ।’ अनि त्यसले उसलाई भन्यो: ‘तिम्रो तमसुक लेऊ, र चार सय लेख!’ 8 अनि यी मालिकले त्यस अधर्मी भण्डारीको तारिफ गरे, किनकि त्यसले चतुरतापूर्वक काम गरेको थियो; किनकि यस संसारका सन्तान आफ्नो पुस्तामा ज्योतिका सन्तानभन्दा बढ़्‍ता चतुर हुन्छन्। 9 अनि म तिमीहरूलाई भन्दछु: अधर्मको धनले आफ्ना निम्ति साथीहरू बनाओ, यसउसले कि जब तिमीहरूको अन्त हुन्छ, तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानहरूमा स्वागत गरून्। 10 जो सबैभन्दा थोरै कुरामा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ; अनि जो सबैभन्दा थोरै कुरामा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ। 11 यसकारण अधर्मको धनमा तिमीहरू विश्‍वासयोग्य भएका छैनौ भने साँचो धन कसले तिमीहरूको जिम्मामा सुम्पेला र? 12 अनि अर्काको चीजमा तिमीहरू विश्‍वासयोग्य भएका छैनौ भने कसले तिमीहरूलाई तिमीहरूको आफ्नै देला? 13 कुनै पनि नोकरले दुईजना मालिकको सेवा गर्न सक्दैन; कि ता उसले एकजनालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि ता उसले एकजनासँग टाँसिएर अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
14 अनि फरिसीहरू जो पैसाका लोभी थिए, तिनीहरूले पनि यी सबै कुराहरू सुने, र तिनीहरूले उहाँलाई खिसी गरे। 15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू मानिसहरूको सामु आफूलाई धर्मी ठहराउनेहरू हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ; किनकि मानिसहरूको बीचमा जुन कुरा महान् ठहरिएको छ, त्यो परमेश्‍वरको दृष्‍टिमा घिनलाग्दो छ। 16 व्यवस्था र भविष्यवक्ताहरू यूहन्‍नासम्म रहे; त्यस समयदेखि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार भएको छ, र हरेक मानिस यसभित्र जोर लगाएर पस्दछ। 17 तर व्यवस्थाको एउटा विन्दु टलेर जानुभन्दा आकाश र पृथ्वी बितेर जानु सजिलो छ। 18 हरेक जसले आफ्नी स्‍वास्‍नीलाई त्यागेर अर्कीलाई विवाह गर्दछ, त्यसले व्यभिचार गर्दछ; र हरेक जसले लोग्‍नेद्वारा त्यागिएकीलाई विवाह गर्दछ, त्यसले पनि व्यभिचार गर्दछ।”
धनी मानिस र लाजरस
19 “कुनै एकजना धनी मानिस थियो, जसले बैजनी वस्त्र र मलमल पहिरन्थ्यो, र दिनहुँ रवाफसित मोजमज्जा गर्थ्यो। 20 अनि लाजरस नामको घावैघाउ भएको कुनै एकजना माग्‍ने थियो, जसलाई त्‍यसैको ढोकामा राखिन्थ्यो; 21 अनि यसले त्यस धनी मानिसको टेबलबाट खसेका टुक्राटाक्रीहरूले तृप्‍त हुने इच्छा गर्दथियो; साथै कुकुरहरू पनि आएर यसका घाउहरू चाट्दथिए। 22 अनि यस्तो भयो: यो माग्‍ने मर्‍यो, र स्वर्गदूतहरूद्वारा अब्राहामको काखमा पुर्‍याइयो; त्यो धनी मानिस पनि मर्‍यो, र गाड़ियो। 23 अनि नरकमा भयानक पीड़ामा तड़्पिँदै त्यसले आफ्ना आँखाहरू उठायो, र टाढ़ामा अब्राहामलाई र उनको काखमा लाजरसलाई देख्यो। 24 अनि त्यसले चिच्‍च्याएर भन्यो: ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, अनि लाजरसलाई पठाइदिनुहोस्, र उसले आफ्नो औंलाको टुप्पो पानीमा चोपोस्, र मेरो जिब्रो शीतल पारिदेओस्; किनकि म यस ज्वालाभित्र तड़्पिरहेको छु।’ 25 तर अब्राहामले भने: ‘हे छोरा, सम्झ! तिमीले आफ्नो जीवनकालमा तिम्रा असल-असल कुराहरू पायौ, त्यसरी नै लाजरसले खराब कुराहरू पायो; तर अहिले उसले शान्ति पाएको छ, र तिमी तड़्पिरहेका छौ। 26 अनि यी कुराहरूबाहेक, यहाँबाट पारि तिमीहरूकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट आउन चाहनेहरू पनि हामीकहाँ आउन नसकून् भनी हामीहरू र तिमीहरूको बीचमा एउटा ठूलो खाँद राखिएको छ।’ 27 तब त्यसले भन्यो: ‘यसो हो भने हे पिता, म तपाईंलाई विन्‍ती गर्दछु, तपाईंले उसलाई मेरा बुबाको घरमा पठाइदिनुहोस्; 28 किनभने मेरा पाँच भाइहरू छन्, र उसले तिनीहरूलाई आग्रहपूर्वक गवाही देओस्, र तिनीहरू पनि यस तड़्पिनुपर्ने ठाउँमा नआऊन्।’ 29 अब्राहामले त्यसलाई भने: ‘तिनीहरूसँग मोशा र भविष्यवक्ताहरूका पुस्तकहरू छन्; तिनीहरूले उनीहरूकै सुनून्।’ 30 तर त्यसले भन्यो: ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने त तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।’ 31 अनि उनले त्यसलाई भने: ‘तिनीहरूले मोशा र भविष्यवक्ताहरूका सुन्दैनन् भने मरेकाहरूबाट कोही बौरेर उठ्यो भने पनि तिनीहरू मनाइनेछैनन्।’ ”