हराएको भेड़ा
15
तब उहाँको वचन सुन्नलाई सबै महसूल उठाउनेहरू र पापीहरू उहाँको नजिक-नजिक आए। 2 अनि फरिसी र शास्त्रीहरूले यसो भन्दै गनगनाए: “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसँग खान्छ।” 3 अनि उहाँले यसो भन्दै तिनीहरूलाई यो दृष्टान्त बताउनुभयो: 4 “तिमीहरूमध्ये कुनचाहिँ मानिस होला, जससँग एक सय भेड़ा छन् र तीमध्ये एउटा हरायो भने उनान्सयलाई उजाड़स्थानमा छोड़ेर त्यस हराएकोलाई नभेट्टाउन्जेल त्यसको पछि लाग्दैन? 5 अनि त्यसलाई भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्ना काँधहरूमाथि राख्छ। 6 अनि घरमा आएर उसले आफ्ना साथी र छिमेकीहरूलाई यसो भन्दै भेला गर्छ: ‘मसँग आनन्द गर; किनकि मैले मेरो हराएको भेड़ा भेट्टाएको छु।’ 7 म तिमीहरूलाई भन्दछु: यसरी नै पश्चात्तापको खाँचो नभएको उनान्सय धर्मी जनहरूका निम्ति भन्दा पश्चात्ताप गर्ने एकजना पापीका निम्ति स्वर्गमा बढ़ी आनन्द हुनेछ।”हराएको सिक्का
8 “अथवा कुनचाहिँ स्त्री होली, जससँग दस सिक्काक छन्, र जसले एउटा सिक्का हराई भने बत्ती बालेर घर बढ़ारी-बढ़ारी त्यसलाई नभेट्टाउन्जेल यत्न गरेर खोज्दिन? 9 अनि जब उसले त्यो भेट्टाउँछे, तब उसले आफ्ना साथी र छिमेकीहरूलाई यसो भन्दै भेला पार्छे: ‘मसँग आनन्द गर; किनकि मैले हराएको त्यो सिक्का भेट्टाएकी छु।’ 10 म तिमीहरूलाई भन्दछु: यही प्रकारले पश्चात्ताप गर्ने एकजना पापीका निम्ति परमेश्वरका दूतहरूको सामु आनन्द हुनेछ।”
हराएको छोरा
11 अनि उहाँले भन्नुभयो: “कुनै एकजना मानिसका दुई छोराहरू थिए। 12 अनि तीमध्ये कान्छोचाहिँले आफ्ना बुबालाई भन्यो: ‘पिताजी, सम्पत्तिको मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्!’ अनि उनले तिनीहरूलाई आफ्नो सम्पत्ति बाँड़िदिए। 13 अनि धेरै दिन नबितीकनै त्यो कान्छा छोरा सबै थोक जम्मा पारेर टाढ़ो देशमा गयो, र त्यहाँ विलासी जीवन बिताएर त्यसले आफ्नो सम्पत्ति उड़ायो। 14 अनि त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव पर्न थाल्यो। 15 अनि त्यो गएर त्यस देशको एकजना नागरिककहाँ टाँसियो; अनि उसले त्यसलाई आफ्ना खेतबारीहरूमा सुँगुरहरू चराउन पठायो। 16 अनि त्यसले सुँगुरहरूले खाएका ती कोसाहरूले आफ्नो पेट भर्ने लालसा गर्थ्यो, तर कसैले त्यसलाई दिँदैनथियो। 17 जब त्यो होशमा आयो, तब त्यसले भन्यो: ‘मेरा बुबाका कति ज्यालादार नोकरहरूले उब्रोपाब्रो हुने गरी रोटी पाउँछन्, तर मचाहिँ भोकले नाश भइरहेछु। 18 म उठेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्नेछु: “पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, 19 र अब उसो तपाईंको छोरा भनिन लायकको म छैनँ; मलाई तपाईंका ज्यालादार नोकरहरूमध्ये एउटासरह बनाउनुहोस्!” ’ 20 अनि उठेर त्यो आफ्ना बुबाकहाँ आयो। तर त्यो अझ धेरै टाढ़ै हुँदा त्यसका बुबाले त्यसलाई देखे, र दयाले भरिए; अनि दगुरेर गई उनले त्यसलाई अँगालो हाले र त्यसलाई चुम्बन गरे। 21 अनि त्यस छोराले उनलाई भन्यो: ‘पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, र अब उसो तपाईंको छोरा भनिन लायकको म छैनँ।’ 22 तर बुबाचाहिँले आफ्ना दासहरूलाई भने, ‘सबैभन्दा बढ़िया पोसाक निकाल र उसलाई पहिराइदेओ; अनि उसको हातमा औंठी र पाउहरूमा जुत्ता लाइदेओ! 23 अनि पोसिएको बाछा ल्याएर मार, अनि खाऔं, र आनन्द मनाऔं; 24 किनभने मेरो यो छोरा मरेको थियो, र फेरि जीवित भएको छ; ऊ हराएको थियो, र पाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
25 अब उनको जेठो छोराचाहिँ खेतबारीमा थियो; अनि आउँदा-आउँदै घरको नजिकै पुगेपछि उसले बाजा बजेको र नाचेको आवाज सुन्यो। 26 अनि उसले नोकरहरूमध्ये एउटालाई बोलाएर, यी कुराहरू के हुन् भनी सोध्यो। 27 अनि त्यसले उसलाई भन्यो: ‘तपाईंको भाइ आउनुभएको छ, र तपाईंका पिताजीले पोसिराखेको बाछा मार्नुभएको छ; किनकि उहाँले उहाँलाई सुरक्षित र सन्चै पाउनुभयो।’ 28 तब ऊ रिसायो, र उसले भित्र पस्न मन गरेन; यसकारण उसका बुबाले बाहिर निस्केर उसलाई मनाउन थाले। 29 अनि उसले जवाफ दिँदै आफ्ना बुबालाई भन्यो: ‘हेर्नुहोस्, यति धेरै वर्षदेखि मैले तपाईंको सेवा गरिरहेकै छु, र तपाईंको आज्ञा कहिल्यै भङ्ग गरिनँ; तर पनि मेरा साथीहरूसित आनन्द मनाउनका निम्ति तपाईंले मलाई एउटा बाख्राको पाठोधरि कहिल्यै दिनुभएन। 30 तर तपाईंको यो छोरा आउनसाथ, जसले तपाईंको सम्पत्ति वेश्याहरूसित उड़ायो, तपाईंले त्यसका निम्ति पोसाइराखेको बाछा मार्नुभयो।’ 31 अनि उनले उसलाई भने: ‘छोरा, तिमी ता सधैं मसँग छौ, र मेरा जति छन्, ती सबै तिम्रा हुन्। 32 तर हामीले आनन्द मनाउनु र खुशी हुनु नै उचित छ, किनभने यो तिम्रो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; ऊ हराएको थियो, र पाइएको छ।’ ”