विश्रामदिनमा जलोदरको रोगी निको पारियो
14
अनि यस्तो भयो: विश्रामदिनमा उहाँ मुख्य फरिसीहरूमध्ये एकजनाको घरमा रोटी खान पस्‍नुहुँदा तिनीहरू उहाँको चियोमा बसिरहेका थिए। 2 अनि हेर, उहाँको सामु एकजना मानिस थियो, जसलाई पेटमा पानी भरिने रोग लागेको थियो। 3 अनि येशूले जवाफ दिँदै व्यवस्थाका गुरुहरू र फरिसीहरूसँग यसो भन्दै बोल्नुभयो: “के विश्रामदिनमा निको पार्नु उचित छ?” 4 अनि तिनीहरू चुप लागिरहे। अनि उहाँले त्यसलाई समातेर निको पार्नुभयो र त्यसलाई जान दिनुभयो; 5 र यसो भन्दै उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “तिमीहरूमध्ये कसले, जसको गधा वा गोरु खाड़लभित्र खसेको छ भने विश्रामदिनमा तुरुन्तै त्यसलाई तानेर बाहिर ननिकाल्‍ला?” 6 अनि तिनीहरूले उहाँलाई यी कुराहरूको जवाफ फेरि पनि दिन सकेनन्।
मान खोज्‍नेहरूलाई चेताउनी
7 अनि निम्त्याइएकाहरूले कसरी मुख्य-मुख्य स्थानहरू छानेका देखेर उहाँले यसो भन्दै तिनीहरूलाई एउटा दृष्‍टान्‍त बताउनुभयो: 8 “जब कुनै मानिसबाट तिमीले विवाहमा निम्तो पाउँछौ, तब मुख्य स्थानमा नबस; सायद तिमीभन्दा बढ़ी आदरयोग्य मानिस निम्त्याइएको होला, 9 अनि जसले तिमीलाई र उसलाई निम्त्याएको थियो, उसले आएर तिमीलाई भन्ला, ‘यस मानिसलाई ठाउँ दिनुहोस्;’ अनि तिमी लज्जित भएर सबैभन्दा तल्‍लो ठाउँ लिन थाल्नेछौ। 10 तर जब तिमी निम्तो पाउँछौ, तब गएर सबैभन्दा तल्‍लो ठाउँमा बस; जब तिमीलाई निम्तो दिने मानिस आउँछ, तब उसले तिमीलाई भन्ला: ‘मित्र, माथिल्‍लो ठाउँमा जानुहोस्!’ तब तिमीसँग खान बस्‍नेहरूको सामु तिम्रो प्रशंसा हुनेछ। 11 किनकि हरेक जसले आफूलाई उचाल्छ, त्यो होचो पारिनेछ; र जसले आफूलाई होच्याउँछ, त्यो उच्‍च पारिनेछ।” 12 तब उहाँले आफूलाई निम्तो दिनेलाई पनि भन्‍नुभयो: “जब तिमी दिनको वा रातको भोज दिन्छौ, तब आफ्ना साथीहरूलाई निम्तो नदेऊ, न आफ्ना दाजुभाइहरूलाई, न तिम्रा आफन्तहरूलाई, न धनवान्‌ छिमेकीहरूलाई; नत्र तिनीहरूले पनि तिमीलाई फेरि निम्तो दिनेछन्, र तिमीलाई बदला तिरिनेछ। 13 तर जब तिमी भोज दिन्छौ, तब गरिब, कूँजा, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, 14 र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मी जनहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ।”
ठूलो भोजको दृष्‍टान्‍त
मत्ती २२:१-१४
15 अनि उहाँसँग खान बस्‍नेहरूमध्ये एकजनाले यी कुराहरू सुन्यो, तब उसले उहाँलाई भन्यो: “धन्य त्यो हो, जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ।” 16 तब उहाँले उसलाई भन्‍नुभयो: “कुनै एकजना मानिसले एउटा ठूलो भोज लगाए र धेरैलाई निम्तो दिए। 17 अनि भोजको समयमा तिनले आफ्नो दासलाई ती निम्तो गरिएकाहरूकहाँ यसो भन्‍न पठाए, ‘आओ, किनकि अब सबै कुराहरू तयार भएका छन्।’ 18 अनि तिनीहरू सबैले एकै मतको भएर बिङ्गा लाउन थाले। पहिलोले तिनलाई भन्यो: ‘मैले एक टुक्रा जमिन किनेको छु, र मैले गएर त्यसलाई हेर्नैपरेको छ; म तपाईंलाई विन्‍ती गर्दछु, मलाई माफ होस्!’ 19 अनि अर्कोले भन्यो: ‘मैले पाँच हल गोरु किनेको छु, र म ती जाँच्‍न जान्छु; म तपाईंलाई विन्‍ती गर्दछु, मलाई माफ होस्!’ 20 अनि अर्कोले भन्यो: ‘मैले स्‍वास्‍नी विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ।’ 21 यसकारण त्यो दास आयो, र त्‍यसले आफ्ना मालिकलाई ती कुराहरू बतायो। तब घरका मालिकले रिसाएर आफ्नो दासलाई भने: ‘शहरका सड़क र गल्‍लीहरूहुँदो छिटो जाऊ, र गरिब, कूँजा, लङ्गड़ा र अन्धाहरूलाई यहाँ भित्र ल्याऊ!’ 22 अनि दासले भन्यो: ‘हे प्रभु, तपाईंले आज्ञा गर्नुभएअनुसार गरियो, र अझै पनि ठाउँ छ।’ 23 अनि मालिकले त्यस दासलाई भने: ‘मूल सड़कहरू र बारहरूहुँदो जाऊ, अनि तिनीहरूलाई भित्र आउन कर लगाऊ, र मेरो घर भरियोस्। 24 किनकि म तिमीहरूलाई भन्दछु: ती निम्तो गरिएका मानिसहरूमध्ये कसैले पनि मेरो भोज चाख्‍नेछैन।’ ”
साँचो चेलाको सर्तहरू
मत्ती १०:३७-३९
25 अनि उहाँको साथमा ठूला भीड़हरू गइरहेका थिए, अनि पछिल्तिर फर्केर उहाँले तिनीहरूलाई भन्‍नुभयो: 26 “कोही मानिस मकहाँ आउँछ र आफ्ना बुबा, आमा, स्‍वास्‍नी, छोराछोरीहरू, दाजुभाइहरू र दिदीबहिनीहरूलाई, अँ, र आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन। 27 अनि जो आफ्नो क्रूस बोक्दैन र मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। 28 किनकि तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गरेमा, त्यो सिद्ध्याउनलाई आफूसँग पर्याप्‍त छ कि छैन भनी पहिल्यै बसेर खर्च जोड़्दैन र? 29 नत्र ता उसले जग बसालिसकेपछि त्यो सिद्ध्याउन सकेन भने यो कुरा देख्‍नेहरू सबैले यसो भन्दै उसलाई खिसी गर्न थाल्नेछन्: 30 ‘यस मानिसले बनाउन शुरु त गर्‍यो, तर सिद्ध्याउन सकेन।’ 31 अथवा अर्को राजाको विरोधमा लड़ाइँ गर्न जाने कुनचाहिँ राजाले, ‘दस हजार लिएर आफ्नो विरोधमा बीस हजार लिई आउनेसँग लड़्न सक्छु कि सक्दिनँ‘ भनी पहिल्यै बसेर सरसल्‍लाह गर्दैनन् र? 32 तर होइन भने अर्कोचाहिँ अझै धेरै टाढ़ामा हुँदा नै तिनले राजदूतहरू पठाएर मिलापका सर्तहरू माग्छन्। 33 यसकारण, यसरी नै तिमीहरूमध्ये हरेक जसले आफूसँग भएका सबै कुराहरू त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन। 34 नुन असल हुन्छ; तर नुनले आफ्नो स्वाद गुमायो भने त्यो केले स्वादिलो पारिनेछ र? 35 त्यो न ता जमिनका निम्ति लायकको हुन्छ, न ता मलका निम्ति नै; तर मानिसहरूले त्यो बाहिर फ्याँकिदिन्छन्। जसका सुन्‍नलाई कानहरू छन्, त्यसले सुनोस्!”