सबै मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ
13
अनि त्यसै बेला कतिजना त्यहाँ उपस्थित थिए, जसले उहाँलाई ती गालीलीहरूको विषयमा बताए, जसको रगत पिलातसले तिनीहरूकै बलिहरूसँग मिसाइदिएका थिए। 2 अनि येशूले जवाफ दिँदै तिनीहरूलाई भन्‍नुभयो: “के ती गालीलीहरूले यस्ता कुराहरू भोग्‍नुपरेकाले तिनीहरूचाहिँ सबै गालीलीहरूभन्दा बढ़्‍ता पापी रहेछन् भनी तिमीहरू सम्झन्छौ? 3 म तिमीहरूलाई भन्दछु: होइन; तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ। 4 अथवा ती अठारजना, जसमाथि सिलोआमको धरहरा खस्यो, र तिनीहरूलाई मार्‍यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्‍ने सबै मानिसहरूभन्दा बढ़्‍ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ? 5 म तिमीहरूलाई भन्दछु: होइन; तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ।”
फल नफल्ने नेभाराको दृष्‍टान्‍त
6 उहाँले यो दृष्‍टान्‍त पनि भन्‍नुभयो: “कुनै एकजना मानिसको, आफ्नो दाखबारीमा रोपिएको एउटा नेभाराको रूख थियो; अनि तिनी त्यसमा फल खोज्दै आए, र एउटै पनि पाएनन्। 7 तब तिनले दाखबारीको मालीलाई भने: ‘हेर, तीन वर्षदेखि म यस नेभाराको रूखमा फल खोज्दै आउँछु, तर एउटै पाउँदिनँ; यसलाई काटेर ढालिदेऊ; किन यसले जमिन बेकम्मा पार्ने?’ 8 अनि त्यसले जवाफ दिँदै तिनलाई भन्यो: ‘हे स्वामी, यो वर्ष पनि, मैले यसको वरिपरि खनेर मल हालुन्जेल यसलाई रहन दिनुहोस्! 9 अनि यसले फल फलायो भने असल भयो; र फलाएन भने त्यसपछि तपाईंले यसलाई काटेर ढालिदिनुहोस्!’ ”
विश्रामदिनमा कुप्री स्त्री निको पारिएकी
10 अनि विश्रामदिनमा सभाघरहरूमध्ये एउटामा उहाँले शिक्षा दिइरहनुभएको थियो। 11 अनि हेर, त्यहाँ एउटी स्त्री थिई, जसमा अठार वर्षदेखि दुर्बलताको आत्मा लागेको थियो, अनि ऊ कुप्री भएकी थिई, र उसले आफूलाई कुनै रीतिले सीधा पार्न सक्दिन थिई। 12 अनि जब येशूले उसलाई देख्‍नुभयो, तब उहाँले उसलाई आफूकहाँ बोलाउनुभयो र उसलाई भन्‍नुभयो: “हे नारी, तिमी तिम्रो दुर्बलतादेखि मुक्त भएकी छ्यौ।” 13 अनि उहाँले आफ्ना हातहरू उसमाथि राख्‍नुभयो; अनि तुरुन्तै ऊ सीधा पारिई, र उसले परमेश्‍वरको महिमा गरी। 14 अनि येशूले विश्रामदिनमा निको पार्नुभएको हुनाले सभाघरका शासकले रिसाएर जवाफ दिई भीड़लाई भने: “छ दिन छन्, जसमा मानिसहरूले काम गर्नुपर्दछ; यसकारण ती दिनहरूमा आएर निको होओ, तर विश्रामदिनमा होइन।” 15 तब प्रभुले तिनलाई जवाफ दिएर भन्‍नुभयो: “हे कपटी, के तिमीहरूमध्ये हरेकले विश्रामदिनमा आफ्नो गोरु वा गधा थलाबाट फुकाउँदैन र पानी पियाउनका निम्ति लैजाँदैन र? 16 अनि के यो स्त्री, जो अब्राहामकी छोरी हो, हेर, जसलाई अठार वर्षसम्म शैतानले बाँधेर राखेको थियो, विश्रामदिनमा यस बन्धनबाट फुकाइनुपर्दैन र?” 17 अनि जब उहाँले यी कुराहरू भन्‍नुभयो, तब उहाँका सबै विरोधीहरू लज्जित भए; अनि सबै मानिसहरूले उहाँद्वारा गरिएका सबै महिमापूर्ण कुराहरूका निम्ति आनन्द मनाए।
रायोको बीउको दृष्‍टान्‍त र खमीरको दृष्‍टान्‍त
मत्ती १३:३१-३३; मर्कूस ४:३०-३४
18 तब उहाँले भन्‍नुभयो: “परमेश्‍वरको राज्य केजस्तो छ? अनि म यसलाई केसँग तुलना गरूँ? 19 योचाहिँ रायोको एउटा दानाजस्तो छ, जसलाई एकजना मानिसले लगेर आफ्नो बगैंचामा छर्‍यो; अनि यो बढ्यो र एउटा ठूलो रूख भयो, अनि आकाशका चराहरू त्यसका हाँगाहरूमा वास बसे।” 20 अनि फेरि उहाँले भन्‍नुभयो: “म परमेश्‍वरको राज्य केसित तुलना गरूँ? 21 योचाहिँ खमीरजस्तो हो, जसलाई एउटी स्त्रीले लगेर तीन पाथी पीठोमा, त्यो पूरै खमीरी नहोउन्जेल लुकाइराखी।”
साँघुरो ढोकाबाट भित्र पस्‍ने प्रयत्‍न गर!
22 अनि उहाँ शहर-शहर र गाउँ-गाउँ हुँदै शिक्षा दिँदै र यरूशलेमतर्फ यात्रा गर्दै जानुभयो। 23 तब एकजनाले उहाँलाई भन्यो: “हे प्रभु, के मुक्ति पाउनेहरू थोरै छन्?” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: 24 “साँघुरो ढोकाबाट भित्र पस्‍ने प्रयत्‍न गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरैजनाले भित्र पस्‍न खोज्‍नेछन्, तर सक्नेछैनन्। 25 जब उत्ति नै खेर घरका मालिक उठ्छन् र ढोका बन्द गर्छन्; अनि तिमीहरू बाहिर उभिन र ‘हे प्रभु, हे प्रभु, हाम्रा निम्ति खोलिदिनुहोस्’ भन्दै ढोका ढकढक्याउन थाल्छौ, अनि तिनले जवाफ दिँदै तिमीहरूलाई भन्‍नेछन्, ‘म तिमीहरूलाई चिन्दिनँ, तिमीहरू कहाँबाटका हौ।’ 26 तब तिमीहरूले भन्‍न थाल्नेछौ: ‘तपाईंकै सामु हामीले खाएका र पिएका थियौं, अनि हाम्रै सड़कहरूहुँदो तपाईंले शिक्षा दिनुभएको थियो।’ 27 तर तिनले भन्‍नेछन्: ‘म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ, तिमीहरू कहाँबाटका हौ; हे सबै कुकर्म गर्नेहरूहो, मबाट टाढ़ा होओ!’ 28 जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै भविष्यवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र, तर आफूलाई चाहिँ बाहिर फ्याँकिएको देख्‍नेछौ, तब त्यहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछ। 29 अनि तिनीहरू पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यमा बस्‍नेछन् 30 अनि हेर, पछिल्‍लाहरू छन्, जो अघिल्‍ला हुनेछन्; अनि अघिल्‍लाहरू छन्, जो पछिल्‍ला हुनेछन्।”
31 त्यही दिन फरिसीहरूमध्ये कतिजना उहाँलाई यसो भन्दै उहाँकहाँ आए: “निस्कनुहोस् र यहाँबाट गइहाल्नुहोस्; किनकि हेरोद तपाईंलाई मार्न चाहन्छन्।” 32 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ, र त्यस स्याललाई भन: ‘हेर, म दुष्‍ट आत्माहरू निकाल्छु, अनि आज र भोलि म निको पार्ने काम गर्छु र तेस्रो दिनमा म सिद्ध पारिनेछु।’ 33 तरै पनि मैले आज, भोलि र पर्सि हिँड़्‍नुपर्नेछ, किनकि यरूशलेमदेखि बाहिर भविष्यवक्तालाई मार्न सकिँदैन।”
यरूशलेमप्रति प्रभु येशूको प्रथम बिलौना
मत्ती २३:३७-३९; लूका १९:४१-४४
34 “हे यरूशलेम, हे यरूशलेम, तँ भविष्यवक्ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्; जसरी कुखुरीले आफ्ना चल्‍लाहरूलाई आफ्ना पखेटाहरूमुनि बटुल्छे, त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरें, तर तिमीहरूले इच्छा गरेनौ! 35 हेर, तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िन्छ; अनि म तिमीहरूलाई साँचो भन्दछु: जबसम्म त्यो समय आउँदैन, जुन बेला तिमीहरूले ‘परमप्रभुको* नाममा आउनुहुने धन्य हुनुहुन्छ’ भनी भन्‍नेछौ, तबसम्म तिमीहरूले मलाई कदापि देख्‍नेछैनौ।”